राजनीतिक क्रान्तिको काम सकियो, अब जनताको जीवनमा आमूल परिवर्तन गर्न बाँकी : माधव नेपाल
काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको जीवनमा आमूल परिवर्तन गर्नु नै अहिलेको मुख्य जिम्मेवारी भएको बताएका छन् ।
आइतबार भक्तपुरमा आयोजित नारायणविलास जोशीको ३४ औँ स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक क्रान्तिको काम सम्पन्न भइसकेकाले अब जनताको जीवनलाई सुखी, समृद्ध र जनतालाई समानता, अवसर, रोजगारीको हिसाबले शिर ठाडो बनाउने कामको जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।
उनले यी सबै कामको जिम्मेवारी कम्युनिष्ट पार्टीबाट नै पूरा हुने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादको यात्रामा देशलाई कसरी अघि बढाउने भन्ने कुरामा गहन अध्ययन र खोजी गरी अघि बढ्न आवश्यक रहेको बताए । ‘हामीले एउटा राजनीतिक क्रान्तिको काम त सम्पन्न गरेका छौँ । तर अर्को महत्त्वपूर्ण काम बाँकी छ । त्यो महत्त्वपूर्ण काम भनेको जनताको जीवनमा आमूल परिवर्तन गर्ने हो । जनताको जीवनलाई सुखी बनाउने, जनताको जीवनलाई समृद्ध बनाउने, जनतालाई वास्तवमा सबै हिसाबले समानताको हिसाबले, अवसरको हिसाबले र शिर ठाडो पारेर हिँड्नसक्ने हिसाबले समर्थ तुल्याउने यी सबै कामको जिम्मेवारी अहिले पनि कम्युनिष्ट पार्टीले नै गर्नुपर्ने छ,’ नेपालले भने ।
नेपालले सबैले इमानदारिताका साथ अघि बढेको खण्डमा अग्रज योद्धाहरूले परिकल्पना गरेको नेपालको सपना साकार बनाउन सकिने बताए । ‘कम्युनिष्ट पार्टीका नेताको रूपमा अहिले हामीले प्रधानमन्त्री पाएका छौँ, पुष्पकमल दाहाल प्रचण्डले यो देशको अगुवाइ गर्दै हुनुहुन्छ । उहाँले समाजवादको यात्रामा देशलाई कसरी अघि बढाउने हो ? यसबारेमा अझै गम्भीर चिन्तन मनन गरेर के गर्दा यो पछाडि परेको अवस्थाबाट माथि उठ्नसक्छ, के गरेर गरिबी, अभाव, बेरोजगारी पीडित जनताहरू, जनताका वेदना र दुःखलाई सम्बोधन गर्न सकिन्छ ? भन्ने सन्दर्भमा उहाँले आफ्नोतर्फबाट प्रयास गर्दै हुनुहुन्छ । हामी लागेका छौँ । सबैका ज्ञान, अनुभव, सबैका बुद्धिलाई लिएर हामी अघि बढ्ने हो भने, इमानदारिताका साथ अघि बढ्ने हो भने र हाम्रा अग्रज योद्धाहरूले नयाँ नेपाल निर्माणको परिकल्पना गर्नुभएको थियो, उहाँहरूको सपनालाई साकार पार्न सकिन्छ,’ नेपालले भने ।