बेडरूममै मृत भेटिए चर्चित गायक रोविन तामाङ
काठमाडौँ । नेपाली रक ब्याण्ड ‘रबिन एण्ड दी रिभ्युलेसन’का चर्चित गायक रोविन तामाङको निधन भएको छ । अभिनेतासमेत रहेका ६० वर्षीय तामाङको मंगलबार साँझ काठमाडौँको बुढानीलकण्ठ नगरपालिका-५ चिस्यानीस्थित निवासमा निधन भएको हो ।
तामाङ घरमै मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दान कार्कीले पुष्टि गरेका छन् । कार्कीका अनुसार तामाङको शव उनको दुई तले घरको बेडरूममै भेटिएको हो । निधनको कारण नखुलेपनि शंकास्पद केही नदेखिएको प्रहरीको भनाई छ ।
रोविनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ । लाहुरे परिवारका रविनको जन्म सिंगापुरमा भएको थियो । सन् १९९६ मा नेपाल आएका उनले गाएका ‘दम मारो दम’, ‘कल्पना’, ‘केटा केटी’, ‘मेरो माया’, ‘ठिकै छ’ जस्ता कयौँ गीत युवापुस्तामाझ चर्चित छन् ।
एक दर्जन बढी नेपाली फिल्ममा अभिनय गरेका उनको पछिल्लो फिल्म ‘छड्के २’ हो, जहाँ उनी ग्याङस्टर रोलमा थिए ।