जो खेल्दै खेल्दै गए
‘धेरै दुखद् खबर छ । रविन आज बिते । हामी तपाईँहरूलाई थप खबर गर्दै गर्नेछौँ ।’
रविन तामाङ बितेको खबर सामाजिक सञ्जालमा फैलिँदै गर्दा दुई वटा फोटो सँगै थिए । एउटा मान्छेको सम्झना अनुसार उनको फोटो । अनि अर्को उनकै फेसबुकमा पोस्ट भएको उनको मृत्युको खबर ।
धेरैले सोचे त्यो खबर झुटो हो । कसैले आफैँले आफ्नो मृत्युको खबर कसरी लेख्छ ?
यो खबर झुटो होस् भनेर सुन्न चाहनेहरूले कमेन्ट गरे ‘दाइको फेसबुक ह्याक भएको होला ।’
मैले पनि त्यस्तै सोचेँ । उनका गीतहरूको लहर एकपल्ट नजिकै आए । उनको खस्रो स्वर अरू बेलाभन्दा अझै मिठो लागे ।
‘दाइ रविन दाइबारे सुन्नुभो ?’
मलाई खबर निश्चित गर्नु थियो । त्यसैले १९७४ एडीका लिड गिटारिस्ट मनोज केसीलाई म्यासेज गरेँ ।
‘कि उहाँको फेसबुक ह्याक भएको हो ?’
मलाई उहाँको उत्तर नआउन्जेल पनि केही आशा थियो । आशा भन्ने कुरा कति सानो सानो ठाउँमा पनि घुस्रिने ?
‘र यो दुःखको खबर हो ।’ दाइले लेख्नुभो ।
मेरो आशा मर्यो । सायद रविन बितेपछि उनको फ्यानलाई थाहा होस् भनेर परिवारका कसैले फेसबुकमा लेखिदियो ।
‘बर्बाद ।’ उहाँले थप्नुभयो ।
उहाँले भनेको त्यो शब्दले पनि रविनको बारेमा धेरै कुरा भनिरहेको थियो । उनको मृत्यु नेपाली सङ्गीत क्षेत्रको लागि एउटा बर्बादी बराबर थियो ।
त्यसपछि पनि म टाइमलाइनमा नै डुलिरहेँ । धेरैले आफ्नो-आफ्नो सम्झना अनुसार उनलाई श्रद्धाञ्जली दिँदै थिए । म कहिलेकाहीँ सोच्छु ‘मान्छे मरेकोमा श्रद्धाञ्जली दिएर के हुन्छ ?’
अनि फेरी सोच्छु ‘उनको मृत्युमा कसैले पनि फेसबुकमा लेखेन भने के हुन्छ ?’
जस-जसले उनको बारेमा लेखिरहेका छन् ती मान्छे मलाई प्रिय लागिरहेका छन् । तीनले पनि रविन तामाङलाई मनपराउँदा रहेछन् भन्ने भइरहेको छ ।
एउटै कुरा मनपराउने मान्छे यसै पनि नजिकको हुन्छ ।
धेरैले उनलाई फरक-फरक तरिकाले सम्झिँदै छन् । कोही उनीसँगको फोटो हाल्दैछन् । कोही उनका गीतका लाइनहरू लेख्दैछन् । कोही उनका भिडियो सेयर गर्दैछन् ।
एउटै मान्छे कति धेरैजनासँग कति धेरै प्रकारले बाँचेको हुने ।
लेखक पत्रकार बसन्त बस्नेतले उनको गीतको एउटा अंश हाले ।
‘भन न मलाई
काँ खेल्छ हाम्रो
केटाकेटी’
उनको त्यो गीत धेरैपल्ट सुन्दा पनि यो लाइनलाई यसरी बुझेको रहेनछु । उनले अव्यवस्थित शहरीकरणको कारणले काठमाडौँमा हराउँदै गएका खुल्ला ठाउँहरूको बारेमा त्यसरी भनेका रहेछन् ।
अहिले धेरै ठाउँमा नयाँ नयाँ शहर बन्दैछन् । त्यहाँ चौडा बाटो बाहेक अरू के-के कुरा चौडा चाहिन्छ भनेर धेरैले सोचेका छैनन् । त्यहाँ पनि भोली कुनै रविन तामाङ जन्मिएला र यस्तै भन्ला ।
रविन तामाङ भन्यो भने मान्छेको नजरमा के आउँछ ?
एउटा अग्लो मान्छे । खस्रो बोली भएको । परबाट हेर्दा डरलाग्दो तर मिठो बोल्ने । खस्रो बोली । पछिल्लो समय घ्यु कलरको गितार बजाइरहेको । अनि माइकमा सबैले रिलेट गर्न मिल्ने गरी अनौपचारिक तरिकाले के के बोलिबस्ने । दर्शकसँग सिधै बोलेको जस्तो । उनको बोली सुन्नासाथ दर्शकमा आफैँ उनको ऊर्जा पुग्नेजस्तो ।
पछिल्लो वर्षको एउटा कन्सर्टमा बोल्दै गर्दा उनले भनेथे ‘हाम्रो जेनेरेसनको फ्यान्सहरू त तपाईँहरू त हो नि हैन । बुढो भइसक्यो ।’
तर सामाजिक सञ्जालमा उनको बारेमा लेखिरहेकाहरूलाई हेर्दा थाहा हुन्छ उनको फ्यानहरू कति धेरै अहिलेका नयाँ पुस्ता पनि थिए ।
उनले नेपाली सङ्गीतको कम्तीमा पनि तीन पुस्तालाई आफ्नो गीत सुनाए ।
त्यही कन्सर्टमा उनले फेरी पनि भनेका थिए ।
‘अब बुढो पनि हुँदै गयो । अलिक गाह्रो पर्छ एकघण्टा डेढ घण्टा खेल्नु ।’
खेल्नु अर्थात् ब्याण्डमा बजाउनु । ब्याण्ड खेल्नु भन्ने टर्म मलाई असाध्यै मनपर्छ । उनको सन्दर्भमा सम्झिँदा अहिले यसको अर्थ झनै गहन लागिरहेको छ ।
रविन तामाङले केटाकेटी खेलेजसरी नै ब्याण्ड खेलिरहे ।
उनले लामो हातले तलसम्म झरेको गितारका स्ट्रिंग चलाउँदा खेलेको जस्तै लागिरह्यो ।
आँखा चिम्लिएर उनले फिल गरेर बजाउँदा खेलेको जस्तै लागिरह्यो ।
उनले ‘जति माया लाएपनि’ जस्ता धेरै पुराना गीतहरूलाई आफ्नै पारामा गाइदिए । त्यो पनि खेलेको जस्तै लागिरह्यो ।
उनले दर्शकसँग यसरी कुरा गरे कि मानौँ कोही रकस्टार नै हैनन् । टेबलको पल्लोतिर बसेको कोही मिल्ने दाइ वा सँगै चुरोट खाइरहेको साथी हो ।
उनले स्टेजमा पनि खेलिरहे ।
मन लागेजति हरेक कुरा गरे । मन लागेजसरी फिल्महरू खेले ।
लाहुरी परिवारमा सिंगापूरमा जन्मिएका उनले बाबुको काम अनुसार आफ्नो बस्ने ठाउँ फेरिरहे । १९९६ मा नेपाल फर्किएपछि भने यतैका भए । रविन एण्ड लुजाबाट रविन एण्ड द न्यु रिभोलुसन हुँदै अनेक गीत गाइरहे । अनेक प्रस्तुति दिइरहे ।
१९९८ मा ‘नेपाल’, २००१ मा ‘१३०००’, २००६ मा ‘केटाकेटी’ । अनि २०१० मा ‘हाम्रो देश’ यी चार एल्बममार्फत उनी कतिजनाको मनमा पुगेर खेले थाहा छैन । कतिजनाले उनका गीत कण्ठस्थ पारे थाहा छैन । कतिले ती गीत गाएर गितार सिके । कतिले ती गीत गाएर ब्याण्ड खेले ।
उनले आफू मात्र खेलेनन् । अरूलाई पनि खेलाए । आफू मात्र गाएनन् । अरूलाई पनि गाउन लगाए । आफू मात्र रमाएनन् अरूलाई पनि रमाउने बनाए ।
उनी आफू मात्र थिएनन् अरूका पनि थिए । सबैका थिए । कम्तीमा उनलाई मनपराउने अनि उनको शैलीमा रमाउनेहरू सबैका ।
पत्रकार तथा समालोचक गुरुङ सुशान्तले लेखेका छन् ‘रविन तामाङ हाम्रो लागि फेसन थियो । रविन र मुक्तिका गीत नसुन्दा साथिसंगातीका अगाडि हीनताबोधले सताउँथ्यो ।’
थाहा छैन उनी कहाँ कहाँसम्म थिए ।
एउटा कुरा भने पक्का छ । उनी जहाँ जहाँसम्म थिए खेल्दै नै थिए ।
अहिले महाप्रस्थानपछि पनि सायद खेल्दै नै होलान् ।
Photo: From Ranjan Ojha’s Facebook Post