दोहोरो नागरिकता लिएको अभियोगमा ‘कलावती चन्द’ पक्राउ, दोस्रो श्रीमान् गम्भीर पनि समातिए

काठमाडौँ । कञ्चनपुरमा दोहोरो नागरिकता लिएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको पञ्चेश्वर गाउँपालिका-५ का ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्द छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार दुवै जनाविरुद्ध दोहोरो नागरिकतासम्बन्धी जाहेरी दर्ता भएपछि उनीहरूलाई पक्राउ गरिएको हो । कञ्चनपुर जिल्ला अदालतबाट म्याद थप गरी उनीहरूबारे अनुसन्धान अघि बढाइएको छ ।

कलावती र गम्भीरको सम्बन्ध
पक्राउ परेकाहरू दम्पती हुन् । सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डिआइजी भरतबहादुर बोहराका अनुसार कलावती चन्दले बैतडी र कञ्चनपुरबाट फरक-फरक नागरिकताको प्रमाणपत्र लिएकी हुन् ।

चन्दको पहिलो नागरिकतामा रोडिदेवल गाविस-६ बैतडी ठेगाना उल्लेख गरिएको छ भने दोस्रो नागरिकतामा भीमदत्त नगरपालिका-५ कञ्चनपुर उल्लेख गरिएको बताइएको छ । उनले पहिला बैतडीमा विवाह गरेको र अहिले महेन्द्रनगरमा विवाह गरेर दोस्रो नागरिकता लिएको खुलेको हो ।

उनको नागरिकता पहिलाको भन्दा फरक नाम, नयाँ पतिको नामसहित जन्ममिति पनि फरक छ । उनको पहिलो नागरिकतामा नाम किस्मतीदेवी चन्द, नाप्रन७३३०१३/४३४, जारी मिति २०६३/१०/८ बैतडी, जन्ममिति २०४६/५/२५ र पतिको नाम वीरेन्द्र चन्द उल्लेख गरिएको छ भने पछिल्लो दोस्रो नागरिकतामा नाम कलावती चन्द, जन्ममिति २०३९/११/१०, नाप्रन ७५१००१/१३१२६, जारी मिति २०६७/४/२० कञ्चनपुर र पतिको नाम गम्भीर चन्द तथा ठेगाना भीमदत्त नगरपालिका-५ उल्लेख गरिएको छ ।

दोस्रो पति भनिएका गम्भीरले कलावतीको दोस्रो नागरिकता बनाएका हुन् । गम्भीरले आफ्नी पहिलो श्रीमतीलाई छोडेर उनीसँग बिहे गरेको खुलेको छ । उनीहरूको दोहोरो नागरिकता विषयमा वैशाख २८ गते कञ्चनपुर प्रहरीमा उजुरी परेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *