प्रधानमन्त्रीकाे राजीनामा माग्दै एमालेद्वारा संसद अवरोध, आधा घण्टाका लागि बैठक स्थगित
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा मागेको छ ।
बुधबारको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको स्वाभिमान माथि आघात पुर्याएको भन्दै राजीनामा मागेको हो । प्रधामन्त्री दाहालले सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा सरदार प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन भारत गएको भन्ने अभिव्यक्ति दिएपछि सो अभिव्यक्तिको बिरोधमा एमाले लगायतका प्रतिपक्ष दलहरुले संसद अवरोध गरेको छ । संसदमा बोल्दै एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीको अभिव्यक्तिले सिंगो नेपालको मन रोएको र स्वाभिमान गिरेको बताए । उनले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद बैठक अगाडी बढाउन नदिने बताए ।
उनले भने, ‘यि विषयहरुको बारेमा प्रधानमन्त्रीले आज देशलाई के जवाफ दिनुहुन्छ ? देशले उहाँको त्यो अभिव्यक्ति बारे प्रश्न सोधिरहेको छ । मेचीदेखि महाकालीसम्म आज यो प्रश्न सोधिरहेको छ । आज मैले दुःखका साथ भन्नुपर्छ नेपाली जनतालाई स्वाभिमानी प्रधानमन्त्री चाहिएको हो । देशको हक, हीत र स्वाभिमानको रक्षा, टेबुलमा वार्ता गर्दाखेरी त्यसको पक्षमा अडान लिनसक्ने प्रधानमन्त्री चाहिएको हो । लेन्डुप दोर्जेको नेपाली संस्करण चाहिएको होइन । त्यसैले यो विषय क्लियर नभएसम्म प्रधानमन्त्रीको राजीनामा नआएसम्म यो संसद अब अघि बढ्न सक्दैन । देशले उहाँको राजीनामा खोजेको छ । म उहाँको राजीनामा माग्छु । हाम्रो दलको तर्फबाट उहाँको राजीनामाको माग गर्छ ।’
एमालेको अवरोधका कारण संसद बैठक आधि घण्टाको लागि स्थगित भएको छ ।