टिप्पणी

बजारमा पाँच सय र हजारमा नोटको अभाव छ ?

काठमाडौँ उपत्यकामा दुई वर्षअघि एउटा सटर र कोठा पाउनका लागि ६ महिना धुँइधुइत्ती खोज्नुपर्थ्यो । बाहिरी जिल्लाको अवस्था पनि त्यस्तै थियो । खाली सटर र कोठा पाउनका लागि पहिले नै बुकिङ गर्नुपर्थ्यो । कोठा पाउनेबित्तिकै बैना तिर्नुपर्ने हुन्थ्यो । खाली सटर २०/५० लाखमा बिक्री हुन्थ्यो । एउटा कोठाको ठाउँ हेरेर पाँच हजारदेखि २० हजार रुपैयाँ तिर्नुपर्थ्यो । फ्ल्याटको ठाउँ हेरेर २५ हजारदेखि लाखसम्म मासिक भाडा बुझाउनुपर्थ्यो । लाखौँ रुपैयाँसम्म भाडा तिरेर सटर लिनेहरू पनि थिए । महाबौद्ध, इन्द्रचोकलगायत व्यापारिक एरियामा एउटा सटरको मासिक लाखौँ रुपैयाँ भाडा तिर्नुपर्थ्यो ।

घरधनीहरूले प्रत्येक तीन महिनामा भाडा बढाउँथे । बढाएको भाडा तिर्न मानेनन् भने कोठाबाट निक्लिन लगाइहाल्थेँ । पुरानालाई निकालेर नयाँलाई दोब्बर भाडामा लगाउने गरिन्थ्यो । राज्यलाई घरबहाल कर नतिर्ने अनि बहालमा बस्नेसँग महँगो भाडा लिने । सेवासुविधा केही नदिने, भाडाचाहिँ दोब्बर असुल्ने । दुई वर्षअघि व्यापार पनि मज्जाले चलेको थियो । आम्दानीको स्रोत पनि राम्रै थियो । काम पनि छ्याप्छ्याप्ती पाइन्थ्यो । कामदारहरूले तलब पाइरहेका थिए । पैसा भएपछि खर्च गर्न कुन ठूलो कुरा भयो र । सबै कुरा राम्रै चलिरहेको थियो ।

सटर लिएर व्यापार व्यवसाय गर्नलाई यहाँ हानाथाप हुन्थ्यो । तर, अहिले परिस्थिति ठ्याक्कै फेरिएको छ । बजारमा पूरै मन्दी छाएको छ । व्यापार व्यवसाय धमाधम बन्द हुँदै गइरहेको छ । रोजगारीको अभाव हुन थालिसकेको छ । हिजो भारी बोकेर पनि राम्रै आम्दानी गर्दै आएकाहरू काम नपाएर मर्कामा परेका छन् । अधिकांश बेरोजगार बनिसकेका छन् । आफ्नो व्यापार व्यवसाय ठप्प बनेको भन्दै साहुहरूले कामदारहरूलाई धमाधम जागिरबाट हटाउन थालेका छन् । सस्तोमा काम गर्छु भन्दा पनि काम पाउन सक्ने अवस्था छैन । यहाँ बस्ने नसक्ने देखिएपछि अधिकांश आफ्नो जन्मथलो फर्किए ।

दिनमा लाखौँको व्यापार गर्ने साहुजीहरूलाई अहिले बउनी गर्न पनि महाभारत छ । कुनै दिन त बउनी नै हुँदैन । कुनै दिन एक/दुई हजारको व्यापार हुन्छ । उनीहरूलाई व्यापारको अवस्था देखेरै दिक्क लागिसकेको छ । कतिपय व्यापारी त आफ्नो व्यापार व्यवसाय छोडेर विदेश पलायन भइसकेका छन् । हरेक चोक, गल्लीमा कोठा, सटर खाली भनेर लेखेको देखिन्छ । सामानसहित पसल बिक्रीमा भनेर पोस्टर टाँसेको पनि छ्याप्छ्याप्ती देखिन्छ । टु– लेट लेखेको पोस्टर टाँसेको घर त कति हो कति । पसलेहरू भन्छन्, ‘सामान किन्न पसलमा कोही छिर्दैनन् । मान्छेसँग पैसा छैन ।’ कसरी सटर भाडा तिर्ने ? गुजारा कसरी गर्ने ? भनेर चिन्तित छन्, व्यापारी । नेपाल राष्ट्र बैंकले बजारमा पैसा पठाइरहेको बताउँदै आएको छ । तर, त्यो पैसा बजारमा घुमिरहेको छ त ? यसबारे राष्ट्र बैंकले कुनै अध्ययन गरेको छैन ।

आम नागरिकले पैसा लुकाइसके तैपनि राष्ट्र बैंकलाई कुनै जानकारी नै छैन । बजारमा तरलताको अभाव छ । बैंकको पैसामा सीमित व्यक्तिले राज गरेका छन् । जसका कारण बैंकहरु नै टाट पल्टिन बेर छैन । सहकारीको अवस्था त सबैलाई थाहा नै छ । रातारात सहकारी भागिरहेका छन् । बचतकर्ताहरूको बिचल्ली भएको छ । एक हजार र पाँच सयको नोटलाई प्रतिबन्ध लगाउन अबेला भइसकेको छ । जनताले पटक-पटक एक हजार र पाँच सयको नोटमा प्रतिबन्ध लगाउनुपर्छ भनेर माग गरिरहेका छन् तर, सरकारलाई चासो नै छैन । न व्यक्तिले घरमा लुकाएको पैसा नै बजारमा ल्याउन सक्छ । बजारमा किन मन्दी आयो ? व्यापार व्यवसाय किन सुक्यो ? बैंक तथा वित्तीय संस्था किन टाट पल्टियो ? यसबारे सरकारले अध्ययन नै गरेको छैन । जग्गाको कित्ताकाट नहुँदा बजारमा मन्दी आयो भन्ने एउटा मानसिकता घरजग्गा दलालीहरूले विकास गरिदिएका छन् । कित्ताकाट नहुँदा राजस्व उठेन त्यसैले मन्दी आयो भनेर विश्लेषण गरिँदै आएको छ ।

तर, वास्तविकता यो होइन । घरजग्गा दलालीले कित्ताकाट खुलाउन अनेकथरी गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, भूमिसुधार मन्त्री रञ्जिता श्रेष्ठ चौधरी, अर्थमन्त्री डा प्रकाशशरण महतको दिमागमा उनीहरूको कुरा भरिदिए । सरकारले उनीहरूको कुरा सुनेर जग्गाको कित्ताकाट खोल्यो । बजारको मन्दी हट्यो त ? घरजग्गा खरिद गर्नलाई व्यक्तिसँग पैसा हुनुपरेन । पहिले नै घरजग्गामा त्यत्रो पैसा गएर फ्रिज भएर बसेको छ । यहाँ सर्वसाधारणलाई बिहान-बेलुका छाक टार्न पनि महामुश्किल परेको छ । जनतासँग खाने पैसा छैन, कुरा निकाल्छन् घरजग्गा खरिदबिक्रीको । लुगा पसलमा कोही छिर्दै छिर्दैनन् । ब्युटी पार्लर व्यवसाय पनि सुकेको छ । मान्छे बाँच्ने प्रमुख आधार भनेको खाना हो । लुगा त पुरानै लगाए पनि भइहाल्यो । औषधी पसल र खाद्यान्न पसल अलिअलि चलेको छ । डेरी र माछामासु पसलले पनि केही हदसम्म आम्दानी गरिरहेका छन् । अन्य व्यापार व्यवसायको त कुरै नगरौँ । सामान किन्ने मान्छे नभएर उनीहरू तनावमा छन् । सर्वसाधारणले जसरी हुन्छ, खर्च कटौती गर्दै लगिरहेका छन् । बाहिर खान जाने, घुम्न जाने, फजुल खर्च गर्ने क्रम रोकिएको छ । खाद्यान्नको मूल्य हप्तैपिच्छे बढिरहेको छ ।

एकातिर महँगी ह्वात्तै बढेको छ अर्कोतिर बेरोजगारी । बिहानबेलुका गुजारा गर्न नै धौ-धौ परिसकेको अवस्था छ । देश निरन्तर व्यापार घाटामा गइरहेको छ । निर्यात ठप्प छ, आयात बढेको बढ्यै । चाहिँदै नचाहिने सामानसमेत आयात गरिएको छ । मँहगामँहगा चकलेट किन चाहियो ? विदेशी रक्सी किन आयात गर्नुपर्‍यो ? तास किन ल्याउनुपर्‍यो ? खान नपाउने बेलामा महँगा गाडी किन चाहियो ? यस्ता कुरामा त सरकारले प्रतिबन्ध लगाइदिनुपर्‍यो नि । विलासी वस्तु आयात गरेको छ, व्यापार घाटा बढाएको छ । भनिन्छ नि,‘घाँटी हेरेर हाड निल्नुपर्छ ।’

सरकारले सामान्य कुरा पनि नबुझ्दा मुलुक विदेशी ऋणको दलदलमा फस्दै गइरहेको छ । नेपालको खाद्यान्न, तरकारी भारतमा निर्भर छ । भारत अब चामल निर्यात नगर्ने निष्कर्षमा पुगिसकेको छ । अब नेपाली जनताले के खान्छन् ? नेपालीहरू किनेर खान तयार छन् तर गरेर खाँदैनन् । अब सरकारसँग दुइटै उपाय छ । पहिलो: जग्गाको कित्ताकाट रोकिदिने । खेतीयोग्य जमिनमा घर र बाटो बनाउन दिँदा आज मुलुक अरूमाथि भर पर्नुपर्ने अवस्था बन्यो । सरकारले बेलैमा ध्यान दिएको भए आज नेपाल अरूको गुलाम बन्नुपदैन्थ्यो । दोस्रो: अब कुनै पनि जमिन बाँझो राख्न नदिन सरकारले नीति बनाउनुपर्छ ।

सबै जमिनमा अहिले नै खेती गर्न सुरु गर्यो भने खाद्यान्न संकटबाट बच्ने आधार बन्ला । होइन भने भोलि यहाँ भोकमरी लाग्छ । जग्गा बेच्नेले पनि खानुपर्‍यो, जग्गा किनेर घर बनाउनेले पनि खानैपर्‍यो । सिमेण्ट, ढुंगा, गिट्टी चपाउने कुरा भएन । सरकार सबैतिरबाट असफल बनिसकेको छ । देशलाई बलियो बनाउनभन्दा पनि सत्ता जोगाउनैतिरै सरकार केन्द्रित बन्यो । सरकार गैरजिम्मेवार हुँदा आज मुलुक तहसनहस बन्यो । अरूको इशारामा नाच्नुपर्ने अवस्था सिर्जना भयो । जनतासँग आम्दानी छैन । काम भए त आम्दानी हुने हो । यस्तै अवस्था रह्यो भने जनताले कर तिर्दैनन् ।

अनि सरकारले सरकारी खर्च कसरी धान्छ ? विदेशीसँग लिएको खर्बौँ ऋणको किस्ता कसरी तिर्छ ? जनता मात्रै होइन, अब देश नै डुब्छ । अर्थतन्त्र कसरी चलायमान बनाउने ? सरकारसँग कुनै योजना नै छैन । विदेशी ऋण लिएर खर्च धान्छौँ भन्ने दौडमा यिनीहरू छन् । राष्ट्र बैंकमा एमालेको कार्यकर्ता बसेको छ, अर्थ मन्त्रालयमा कांग्रेसको । पार्टी-पार्टीबीचको हानथापले देश सखाप हुने भो । अब सरकारले अर्थतन्त्रलाई ‘ट्र्याक’ मा ल्याउन सक्छ भन्नेमा धेरैले आशंका गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *