मकालु फिचर

३३ वर्षदेखि नेगेटिभ रगत खोजिदिएर जीवन बचाइरहेका जीवन

केही वर्ष पहिला जीवन बस्नेतको मोबाइलमा एउटा फोन आयो । 

उनलाई हरेक दिन, हरेक क्षण फोन आइ नै रहन्थ्यो । तर त्यो फोन भने विशेष बन्न पुग्यो । 

‘तपाईँलाई भेट्नु पर्ने छ,’ फोनको उत्तापट्टि उनले नचिनेका व्यक्ति बोले । 

‘किन ?’

‘भेटेरै भन्नुपर्ने छ ।’ 

‘फोनमै भन्नुस् न । त्यस्तो जरुरी के छ र ?’ जीवनले उनलाई भन्न कर लगाए । त्यसपछि उताको व्यक्तिले जे भने त्यसले उनको आँखा रसिलो बनाइदियो ।

उताको आवाजले भन्यो- ‘कुनै बेला हजुरले मलाई रगत दिएर ठुलो सहयोग गर्नुभएको थियो । त्यही भएर हामीले तपाईँलाई सम्मान गर्न लाग्या छौँ ।’ 

जीवन सम्मानित भए । कालीमाटी तरकारी तथा फलफूल बजारमा दिइएको त्यो सम्मान उनको जिन्दगीको पहिलो सम्मान थियो । त्यो सम्मान घरको भित्तामा टाँगे । पछि पनि उनले निरन्तर सम्मान पाइरहे । रगत खोजेरै पाएको सम्मानले उनका घरका भित्ता भरिँदै गए । 

वि.स. २०४७ सालदेखि नेगेटिभ रगत प्रबन्ध गर्ने काममा अहोरात्र लागिरहेका गौशाला निवासी जीवन बस्नेत ‘फ्रेन्डस अफ आर एच नेगेटिभ’ संस्थाका अध्यक्ष हुन् । नेगेटिभ रगत चाहिएका बिरामीलाई नेगेटिभ रगत दिने रक्तदाता जसरी जहाँबाट भए पनि उपलब्ध गराइदिन्छन् जीवनले । रगतको अत्यधिक खाँचो भएका मान्छे प्रायजसो उनीसँगै सम्पर्क गर्छन् ।

हरेक दिन रगत चाहियो भनेर जीवनलाई फोन आउने गर्छ । फोन नआएको दिन र रगत प्रबन्ध नगरेको दिन त उनलाई भात नखाएको झैँ लाग्छ । 

रगत दानले कयौँ जीवन जोगाए झैँ जीवन बस्नेतले पनि कयौँ जीवन जोगाएका छन् । 

बिरामीका लागि रगत खोज्न धेरै जनालाई फोन गर्नु पर्ने हुन्छ । यसरी फोन गर्दा एक दिन त चार सय रुपियाँ सकिएको पनि उनीसँग अनुभव छ । उनलाई धेरैपल्ट रगत चाहियो मध्यरातमा पनि फोन आउने गर्छ । उनी मध्यरातमै पनि रगत व्यवस्थापन गर्न पछि हट्दैनथे । अहिले पनि हट्दैनन् ।  

यसरी दिनरात नभनी फोन आइरहने भएकाले राति परिवारका सदस्यको निन्द्रा नबिग्रियोस् भनेर जीवन आफ्नो फोन भाइब्रेट मोडमा राख्ने गर्छन् । तर सँधैभरी होस पुग्दैन ।

‘अस्ति झुक्किएर भाइब्रेट मोडमा नराख्दा रातिको १ः३० मा फोन आयो । दिनभरि जे गरे पनि कमसेकम राति त चुप लागेर बस्नु अनि अरूलाई सुत्न दिनु भनेर घरका सदस्यले गाली गरेका थिए,’ जीवनले सुनाए ।

कहिलेकाहीँ उपत्यका बाहिर यात्रा गरेको बेला चाहिँ जीवन फोन अफ गरेर राख्छन् । अफ गरेको समयमा भित्रैबाट छटपट र अप्ठ्यारो महसुस हुन्छ उनलाई । कति फोन आए होलान् ? कतिले मलाई खोजे होलान् ? कतिलाई समस्या पर्‍यो होला ? जस्तो उनलाई लागिरहन्छ । त्यसैले गन्तव्यमा पुग्ने बित्तिकै सर्वप्रथम जीवन आफ्नो फोन स्विच अन गर्ने गर्छन् । 

ब्लड बैङ्कमा कहिलेकाहीँ रगतको चरम कमी भएको हुन्छ । भन्नसाथ रगत उपलब्ध भएन भने बिरामी एकदम नाजुक अवस्थामा पुग्ने र ज्यानै जाने पनि हुन्छ ।  त्यस्तो बेलामा आफूले पनि रगत उपलब्ध गराउन नसकेकोमा जीवनलाई आफू नै दोषी भएको झैँ लाग्छ । एकदम नमिठो लाग्छ । 

एउटा घटना उनको मनमा आज पनि ताजा छ । शान्ति सेनामा नाम निस्केका एक मेजरको हेल्थ चेकअप गराउँदा मुटुमा समस्या देखियो । सर्जरी गर्नु पर्‍यो । ओ नेगेटिभ रगत चाहियो । उनीहरूले पुरै उपलब्ध गराए । अनि अपरेसन सफल पनि भयो । तर अपरेसनपछि अब्जरभेसनमा राख्दा भने आन्तरिक रक्तस्राव देखियो । फेरि रगत चाहियो भन्दै फोन आएपछि रातारात मान्छे बोलाएर १६ पिन्ट थप रगत उनीहरूले उपलब्ध गराए । दिनरात नभनी, भोक तिर्खा सबै बिर्सेर हामी अस्पतालमै बास बसे । बाँच्छन् भन्ने आशा राख्दा राख्दै बिरामी बिते ।

आफूले सक्दो प्रयास गर्दा गर्दै पनि कसैको मृत्यु हुँदा उनलाई सारै दिक्क लाग्छ । भन्छन् ‘यत्रो कोसिस गर्दा गर्दै पनि ज्यान बचाउन नसक्दा आफूले यस्तो के काम गरेको झैँ महसुस हुन्छ । त्यही बेला सब छोडिदिऊँ जस्तो पनि लाग्छ । तर फेरि अर्को फोन आउँछ । अनि मन मान्दैन ।’ 

ट्राफिक पुलिसले मापसेको कानुन ल्याउनुअघि अत्यधिक दुर्घटना हुन्थ्यो । त्यो बेला रगतको माग निकै हुन्थ्यो । राति राति अब कुन बेला फोन आउने हो भनेर उनी कुरेर बस्थे । मापसेको कानुन ल्याएपछि भने दुर्घटना कम हुन गएको हुनाले लोड निकै कम भएको महसुस भएको छ । 

रगत उपलब्ध गराउने क्रममा उनी धेरै कथाहरूको साक्षी बनेका छन् । 

कलेजोको उपचार गर्नु परेका एक बिरामीलाई रगतको खाँचो हुँदा धेरै रक्तदाता चाहिएको थियो । खोज्न धौधौ परेको थियो । ६० जनालाई फोन गर्दा पनि कोही रक्तदाता फेला परेनन् । कसैको प्रेसर बढेको थियो, कोही बाहिर थिए अनि कसैको रगत दान गरेको भर्खर २/३ दिन मात्र भएको थियो । धन्न ६१ औँ मान्छेले रगत दिन तयार भए । ती बिरामीको ज्यान जोगियो । 

त्यस्तै विराटनगरको नोबेल अस्पतालमा बि नेगेटिभ रगत भएकी एक गर्भवती महिलाको सर्जरी गर्ने क्रममा नसा काटिँदा रक्तस्राव रोकिएन । बी नेगेटिभ रगत उपलब्ध हुन्जेल विराटनगर मै उपचार भइरहो । अझै रगतको आवश्यकता भइरहेपछि र त्यहाँ रगत थप उपलब्ध नहुँदा ती गर्भवती महिलालाई प्लेनमा राखी केएमसी अस्पतालमा राखियो । त्यहाँबाट रगत उपलब्ध गराउनु पर्‍यो भनेर फोन आएपछि उनले तुरुन्तै २६ पिन्ट रगत उपलब्ध गराए । रक्तस्राव बल्ल बल्ल रोकियो । 

उनले रगत खोजिदिएका कति मान्छेहरू रगत खोजिदिएबापत के चाहिन्छ पनि भनिरहेका हुन्छन् । ती गर्भवती महिलाका श्रीमानले पनि जीवनलाई बोलाए र प्रश्न गरे, ‘तपाइले लगाएको गुन म कसरी तिरौँ ? तपाईँलाई म कसरी सहयोग गरौँ ?’ 

‘तपाईँकी श्रीमती ठिक हुनुभयो नि हैन ? त्यति हो मैले चाहेको चाहेको । मलाई त्यति भए पुग्छ ।’ जीवनले खुसीसाथ जवाफ दिए । उनले खाजा खुवाउन खोज्दा पनि मानेनन् । भने, ‘यदि मैले तपाईँले दिएको खाएँ भने मैले तपाईँलाई सहयोग गरेको हुँदैन । केही लिएर दिएको झैँ हुन्छ हुन्छ । म त्यो चाहन्न ।’ 

केही समयपहिला मुटुको सर्जरीका लागि जीवनले चाहिने जति रगत उपलब्ध गराएका थिए । ती बिरामी सकुशल पनि भए । सकुशल भएको तिन महिनापछि ती बिरामी जीवनको घर खोज्दै भेट्न आएका थिए। त्यसरी आफूले सहयोग गरेको बिरामी जीवनकै घरमा उनलाई भेट्न आउँदा भने उनलाई बढो खुसी लागेको थियो ।

धेरै जसो क्यान्सरका बिरामी रगत उपलब्ध गराइदिनु भनेर जीवन कहाँ आउने गर्छन् । क्यान्सरका बिरामीलाई जति रगत उपलब्ध गराए पनि पुग्न मुस्किल छ र अन्तिम अवस्थाका बिरामी बाँच्ने सम्भावना पनि कम हुन्छ । बाँच्दैन भनेर थाहा हुँदा हुँदै पनि रगत नदिऊँ भनेर त हुँदै भएन र दियो भने पनि धेरै जसो मर्ने नै हुन् । सास हुन्जेल आस भने झैँ नमरुन्जेलसम्म प्रयास गरिरहने जीवन बताउँछन् । 

भनेको समयमा र भनेजति रगत उपलब्ध गराइदिएकोमा सकुशल भएका बिरामीहरू जीवनलाई पटक पटक फोन गरिरहन्छन् । धन्यवाद भनिरहन्छन् । कुनै कार्यक्रम वा अवसर हुँदा बोलाइरहन्छन् । कसरी हुन्छ गुन तिर्न भनेर उनलाई सहयोग गर्न खोजिरहन्छन् । तर जीवन भने ती सबै सहयोगहरू इन्कार गरिरहन्छन् ।

किनकि उनले सहयोग गरेको पनि कोही रक्तदाता तयार भइदिएर हो । उनका अनुसार पहिलाभन्दा मानिसहरू शहरमा व्यस्त भइरहेका छन् । त्यसैले रगत खोज्न गाह्रो पनि छ । तर पनि उनी थाकेका छैनन् । यसरी हजारौँ बिरामीको जीवनमा जीवन बस्नेतले अतुलनीय योगदान पुर्‍याइरहेका छन् । उनलाई आफूले सकुन्जेलसम्म यही काम गरिरहन मन छ ।

‘कहिलेसम्म गर्नुहुन्छ यो काम ?’

यसको जवाफमा उनी भन्छन्, ‘मेरो जागिर नै जस्तो भएको छ यो काम, जसलाई म बाचुन्जेल गरिरहने छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *