विवादमा तानिँदै कोशी प्रदेश प्रमुख, सभामुखलाई विवादमा नपार्न एमालेको आग्रह

विराटनगर । कोशी प्रदेशका प्रमुख परशुराम खापुङ विवादमा तानिँदै गएका छन् । नेपालको संविधानको धारा १६८को उपधारा २ बमोजिम २०७९ पौष २४ गते हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई नियुक्त गरेका खापुङले फेरी संविधानको १६८ (२) मा टेकेर आजै सरकारको मुख्यमन्त्री नियुक्त गर्ने तयारीमा छन् ।

२०८० असार १५ गते प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न मुख्यमन्त्री कार्कीले पेस गरेको प्रस्ताव अस्वीकृत भएपछिको अवस्थामा प्रदेश प्रमुखले असार १७ गते संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि असार २१ गते साँझ ५ बजेसम्मलाई आव्हान गरेका छन् ।

प्रदेश प्रमुख खापुङले हिक्मत कुमार कार्कीलाई पनि नेपालको संविधानको धारा १६८(२) अनुसार नै मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । फेरि त्यही धारा दोहोर्‍याउने काम भएको आरोप संविधानविदहरुले लगाएका छन् ।

नेकपा एमाले संसदीय दलले प्रदेश प्रमुखलाई ध्यानाकर्षण गराउँदै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको धारा १६८ को उपधारा २ अनुसार बनेको सरकारको हैसियतले विश्वासको मत लिएको उल्लेख गरेको छ।

‘मैले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्ने सन्दर्भमा मत विभाजन हुँदा प्रस्तावको पक्षमा ४६ मत प्राप्त गरेको तथ्य स्पष्ट नै छ,’ दलका नेता कार्कीले बुझाएको ध्यानाकर्षण भनिएको छ, ‘यो सङ्ख्या बाहेक माननीय सभामुखलाई गणना नगर्दा नयाँ सरकार गठनका लागि मौजुदा प्रदेश सभा सदस्यको सङ्ख्याको बहुमत सङ्ख्या अर्थात् ४७ नपुग्ने अवस्था देखिको तर माननीय सभामुखलाई समेत गणना गरी बहुमत साबित गर्ने प्रयत्नको सम्भावना प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’

नेकपा एमालेले सभामुखलाई विवादमा पार्ने प्रयास भएको समेत प्रदेश प्रमुखलाई ध्यानाकर्षण गराएको छ।

‘सभामुख बाबुराम गौतमले पुस २८ गते प्रदेश सभाको बैठकमा सभामुखको आसनबाट ‘मैले निष्पक्षता पदमा आसीन हुँदै गर्दा मेरो हालसम्म रहेको दलसँगको आबद्धता यो सभामुख पदको भूमिका निर्वाह गर्ने कार्यकालसम्म आजैको मितिदेखि अलग भएको समेत यस गरिमामय सभा समक्ष घोषणा गर्दछु,’ भन्ने घोषणा गरे बमोजिम उहाँले नेपाल कम्युनिस्ट पार्टी माओवादी संसदीय दलको सदस्यता परित्याग गरेको कुरा विवादरहित रहेको,’ एमालेले प्रमुख प्रमुखलाई बुझाएको ध्यानाकर्षणमा भनिएको छ ।

एमालेले सभामुख पदमा आसीन व्यक्ति निष्पक्ष र तटस्थ भूमिकामा रहने हुँदा कुनै पनि निश्चित दलको सङ्ख्यामा गणना गरी सोही आधारमा प्रदेश सरकार गठन प्रक्रियामा बहुमत पु¥याएको भनी संविधानको धारा १६८ (२) बमोजिमको सरकार गठनका लागि दाबी पेस भई आएमा मुख्यमन्त्री नियुक्त नगर्न प्रदेश प्रमुखलाई एमालेले आग्रह गरेको हो । आजै विपक्षी गठबन्धनले नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीको प्रस्तावसहित प्रदेश प्रमुखकोमा दाबी पेस गर्ने तयारी गरेका छन् । सरकार गठनको लागि दाबी पेस गर्ने तयारी गर्दै गर्दा नेकपा एमालेले कोशी प्रदेशका सभामुखलाई विवादमा नल्याउन आग्रह गरेको छ ।

विपक्षी गठबन्धनले सभामुखलाई समेत जोडेर सरकार बनाउन बहुमत पु¥याउने तयारी गरेका छन् । यस्तो अवस्थामा कोशी प्रदेशका प्रमुख खापुङ समेत विवादमा तानिने भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *