गण्डकीका सबै घरमा बिजुली पुर्‍याउन मुख्यमन्त्री र कुलमानबीच छलफल

पोखरा । गण्डकी प्रदेशका सबै नागरिकको घरमा विद्युत पुर्याउन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबिच छलफल भएको छ । शुक्रवार भएको छलफलमा मुख्यमन्त्री पाण्डेले ‘उज्यालो गण्डकी प्रदेश’ घोषणाको कार्यक्रमलाई प्रभावकारी बनाउन प्राधिकरणसँग सहयोग मागे ।

गण्डकी प्रदेशका ९९.५ प्रतिशत घरमा विद्युत पुगिसकेको छ । बाँकी घरमा विद्युतीकरण गर्न प्राधिकरणले सहयोग गर्न पाण्डेले आग्रह गरे । छलफलमा कार्यकारी निर्देशक घिसिङले तत्काल उज्यालो पुर्‍याउन दुर्गम ठाउँहरुमा लघु जलविद्युत, शौर्य उर्जा पनि प्रभावकारी हुने बताए । उनले प्राधिकरणले ग्रिड लाईनबाट विद्युत पुर्याउन आवश्यक सहयोग गर्ने बताए ।

उज्यालो गण्डकी प्रदेश कार्यक्रमलाई सहयोग पुग्ने गरी सब स्टेशनहरु निर्माण, ग्रिड लाईन बिस्तारको काम अघि बढिरहेको घिसिङले मुख्यमन्त्रीलाई जानकारी गराए । पछिल्लो केही समय यता विद्युत छिनछिनमा अनियमित हुँदा उपभोक्ताले गुनासो गर्ने गरेको, उद्योग, ब्यापार ब्यवसायमा समस्या भएकाले समाधान गर्न मुख्यमन्त्री पाण्डले ध्यानाकर्षण गराए ।

राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका बारेमा पनि छलफल भएको थियो । घिसिङले बूढीगण्डकी आयोजना छिटो निर्माण गर्न प्रक्रिया अघि बढीरहेको जानकारी दिए ।

पृथ्वी राजमार्ग, मध्यपहाडी सडक खण्ड लगायत सडक बिस्तार भएका ठाउँमा पोल स्थानान्तरण नहुँदा दुर्घटना हुन सक्ने खतरा रहेको बताउँदै मुख्यमन्त्री पाण्डले त्यसतर्फपनि विद्यूत प्राधिकरणले ध्यान दिनुपर्ने बताए । प्राधिकरणको प्रादेशिक कार्यालय मार्फत ति ठाउँका जोखिम पोलहरु तत्काल स्थानान्तरण गरिने कार्यकारी निर्देशक घिसिङले बताए ।

सडकले स्थानान्तरण गर्ने उपयुक्त ठाउँ नदिँदा समस्या हुने गरेको, जंगल क्षेत्रमा रुख काट्ने अनुमती ढिला हुँदा लाईन बिस्तारमा देशभर जटिल समस्या देखिएको निर्देशक घिसिङले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *