मकालु रिभ्यु

टाइट्यानिकसँगै डुबेको अर्को ‘जहाज’

टाइट्यानिक डुबेको दिन अर्को जहाज पनि डुबेको थियो ।

त्यो जहाज सबैले देख्ने खालको थिएन । त्यसलाई अरू कसैले देखेर संसारको सामुन्ने देखाइदिनुपर्ने थियो ।

त्यसरी देखाउने मान्छे जेम्स क्यामरुनभन्दा अर्को को हुनसक्थ्यो ?

उनी जोखिम लिन चाहने निर्देशक हुन् । त्यो बेलासम्मकै सबैभन्दा ठुलो जहाज दुर्घटनालाई फिल्म बनाउने चाहना उनको हुने नै भयो । त्यतिका मान्छे एकैपल्ट यात्रा गरिरहेका थिए । त्यहाँ कति धेरै विविधताहरू थिए ।

त्यसमा भएका कथाहरूले उनलाई तान्ने नै भयो ।

जहाजको बाँकी अंश कता छ भन्ने पत्तो लाग्यो । उनी जहाज डुबेको ठाउँसम्म गए । जहाजको बाँकी भागलाई हेरे ।

त्यो ठाउँ गहिरोमा थियो । अँध्यारो । उनले टुक्रा टुक्रामा टाइट्यानिकको बाँकी भाग हेरे । यताउता छरिएका मानिसहरूको सामाग्री हेरे ।

ती हरेक टुक्रामा लुकिबसेको एउटा अर्को टाइट्यानिक उनले देखे । त्यो भौतिक टाइट्यानिक थिएन । तर शक्तिशाली बिम्ब थियो । त्यस्तो बिम्ब जसले संसारलाई धेरै कुरा भन्न सक्ने थियो । जसले इतिहासलाई नयाँ तरिकाले विवेचना गर्नसक्थ्यो ।

त्यस्तो बिम्ब जुन डुब्नुले धेरै कुरा डुबेको कुरा बताउन सक्थ्यो । जसलाई डुबाउने कारणले अरू धेरै कुराहरूको कारणलाई सचेत बनाइदिन सक्थ्यो ।

त्यस्तो टाइट्यानिक जुन ठोक्किएको र डुबेको घटनामा अरू धेरै घटना मिल्थे । त्यहाँ भएका मान्छेमा अरू धेरै मान्छे मिल्थे ।

उनले समुन्द्रको फेदमा पुगेको जहाजको बाँकी भागमा अर्को जहाज देखे । त्यो जहाज ठोक्किएको भनेको आइसबर्गमा अर्को आइसबर्ग देखे । त्यहाँ भएका सबै मान्छेहरूमा अर्को अर्को मान्छे देखे । त्यहाँ भएका पात्रहरूमा अरू अरू पात्र देखे ।

उनले त्यहाँ वर्ग देखे । वर्गमध्येको सबैभन्दा ठुलो वर्ग ।

अर्थात् ‘शक्तिशाली ब्रिटिस वर्ग ।’

जसले संसारभर आफ्नो उपनिवेश फैलाएका थिए । जसले आफ्नो साम्राज्यमा कहिल्यै घाम नअस्ताउने गरी विस्तार गरेका थिए । अनि जसले हरेक गोरो छालाधारी व्यक्तिलाई संसारमा शासन गर्ने अधिकारले सम्पन्न बनाएका थिए ।

तीनको दावा थियो- ‘संसारमा हामीभन्दा माथि कोही छैन । हाम्रो साम्राज्य विश्वव्यापी छ । हाम्रो राज्य कहिल्यै सकिँदैन ।’

टाइट्यानिक बनाउनेको दाबा थियो- ‘यो अहिलेसम्मकै सबैभन्दा शक्तिशाली पानीजहाज हो । यो कहिल्यै डुब्दैन ।’

अर्थात् उनीहरूको उपनिवेशको सबैभन्दा ठुलो पहिचान टाइट्यानिक थियो । त्यो उनीहरूको सफलताको बिम्ब थियो । उनीहरूलाई लागेको थियो- त्यो जहाज जस्तै उनीहरूको शासन पनि कहिल्यै ढल्दैन । 

तर त्यो दिन आइसबर्गमा ठोक्किएर टाइट्यानिक डुब्यो । याे घटनामा भौतिक टाइट्यानिक त डुब्याे नै । सँगै ब्रिटिस विस्तारवाद, आत‌ंक र शक्ति महिमाको टाइट्यानिक पनि डुब्यो ।

त्यो आइसबर्गका धेरै कुरालाई पनि पनि बिम्बको रूपमा बुझ्ने ठाउँ छ । आइसबर्गको माथि थोरै मात्र आइस देखिन्थ्यो । तल धेरै हुन्थ्यो । संसारमा ब्रिटिसलाई हराउन सुरु भएका अनेक आइसबर्गजस्ता आन्दोलनहरू थिए । जुन झलक्क हेर्दा साना देखिन्थे तर भित्रभित्रै ठुलो हुँदै थिए । 

तीनले कहिल्यै ढल्दैन भनिएको उनीहरूको साम्राज्यलाई पनि ढालिदिएका थिए । 

तीनले अनेकौँ असमानतालाई पालिबसेका शासन प्रणालीलाई डुबाइदिएका थिए । 

टाइट्यानिकमा अनेक तला थिए । सबैभन्दा तल इन्जिन थियो । 

उपनिवेशमा अनेक तला थिए । सबैभन्दा तल दासहरू थिए । 

इन्जिनले टाइट्यानिक चलाएको थियो । तर माथि बसेर अर्डर गर्नेहरू आफूले चलाएको भ्रममा थिए ।

दासहरूले उनीहरूले शासन गरिरहेका देशको अर्थतन्त्र धानेका थिए । कृषि गरेर उनीहरूलाई खुवाएका थिए । उनीहरूको व्यापारको लागि आफ्नो शरीर नै सुम्पिएका थिए । तर उनीहरूलाई माथि बसेर अर्डर दिनेहरूले आफूले चलाएको सोचिरहेका थिए । आफू नभए उनीहरू केही हुन्नन् ठानिरहेका थिए । 

तर जब समस्या आयो वा जब आन्दोलनमा साम्राज्य ठोक्कियो, उनीहरूसँग जीवन बचाउने पर्याप्त तयारी थिएन । जसरी टाइट्यानिक आइसबर्गसँग ठोक्किएको बेला मानिसहरूलाई जोगाउने पर्याप्त डुङ्गा थिएन । 

जसलाई आफ्नो क्षमतामा असीमित विश्वास हुन्छ, उसले क्षमता नभएको दिन के हुन्छ भनेर तयारी गरेको हुँदैन । संसारका धेरै तानाशाहहरूले पनि यही यथार्थको सामुन्ने घुँडा टेकेका छन् । 

जहाज आइसबर्गमा ठोक्किइसकेपछि फिल्ममा यति धेरै दृश्य छन् जहाँ धनी मानिसहरूले आफूलाई बचाउन धेरै थोक गर्छन् । साना मान्छेहरूको जीवनको मूल्य गन्दैनन् । 

ठिक त्यसरी नै उपनिवेशभर ब्रिटिसहरूले अरू देशका नागरिकलाई मान्छे गन्दैन थे । 

जब सङ्कट आउँछ, समाजमा हुने र नहुनेहरूको दुरी अझै धेरै देखिन्छ । 

यति मात्र हैन टाइट्यानिकलाई दुई वर्गका पात्र ज्याक र रोजको कथामार्फत भनेर क्यामरुनले अर्को काम पनि गरेका छन् । उ बेलाको ब्रिटिस प्रणालीमा भएका अनेकौँ समस्याहरू उजागर उनले गरेका छन् । त्यो बेला महिलाको अवस्था कस्तो थियो । उनीहरू कसरी पुरुषहरूले भनेको मान्न बाध्य थिए । कसरी उनीहरूको लागि बाँधिएका थिए । 

पहिलोपल्ट जब ज्याक रोजलाई देख्छ, उनी माथिल्लो तलामा हुन्छिन् । ऊ तलबाट उनलाई हेर्छ । उसले हेरेको उनी पनि देख्छिन् । उनको अनुहार मा खुशी छैन । 

उनीहरू भेट्छन् । 

प्रेमले तानिएर दुई वर्ग भेट्छन् । 

ज्याक उनलाई सोध्छ ‘के तिमी उसलाई प्रेम गर्छौँ ?’

‘के भन्न खोजेको ?’ रोजलाई कसैले त्यो प्रश्न सोधेकोमा विश्वास नै लाग्दैन । सायद उनलाई त्यो प्रश्न सोधिएन । 

‘के तिमी उसलाई माया गर्छौ ?’ ज्याक दोहोर्‍याउँछ । 

उनी सिधा जवाफ दिन्नन् । बरु कुरा मोड्दै भन्छिन् ‘तिमी एकदमै रुड भइरहेका छौ । तिमीले मलाई यो प्रश्न सोध्नुहुन्थेन ।’

किनकि उनको वर्गमा त्यस्तो प्रश्न सोधिन हुन्नथ्यो । सोधिँदैनथ्यो । 

‘यो त सामान्य प्रश्न हो । तिमी उसलाई माया गर्छौ कि गर्दैनौ ?’

‘यो उपयुक्त कुराकानी हैन ।’

किनकि उनको वर्गमा त्यसलाई उपयुक्त मानिँदैनथ्यो । 

यो संवादलाई यदि कुनै देशको स्वतन्त्रता सेनानीले सोधेको प्रश्न बनाउने हो भने क्यामरुनले भन्न चाहेको धेरै कुरा आउँछ । 

मानौँ ब्रिटिसले कुनै नयाँ देशलाई बिहे गर्दैछ । अर्थात् कुनै नयाँ देशलाई आफूमा गाभ्दै छ । स्वतन्त्रता सेनानी त्यो गाभिँदै गरेको देशलाई सोध्छन् ‘के तिमी ब्रिटिसलाई माया गर्छौ ?’

त्यो देश सिधा जवाफ दिँदैन । ‘के भन्न खोजेको ?’

‘के तिमी उसलाई माया गर्छौँ ?’

देश फेरि पनि जवाफ दिँदैन । बरु कुरा मोड्दै भन्छ, ‘तिमी एकदमै रुड भइरहेका छौ । तिमीले मलाई यो प्रश्न सोध्नुहुन्थेन ।’

किनकि देशलाई त्यस्तो प्रश्न सोध्न हुन्थेन भन्ने थाहा छ । 

‘यो उपयुक्त कुराकानी हैन ।’ देश भन्छ । 

‘यति सामान्य प्रश्न पनि किन जवाफ दिन सक्दैनौँ ?’ स्वतन्त्रता सेनानी अड्डी कस्छन् । 

अन्तिममा के हुन्छ ? रोज उसको प्रेममा पर्छिन् । र आफ्नो हुनेवाला श्रीमानसँग विद्रोह गर्छिन् । 

देशले स्वतन्त्रता सेनानीलाई प्रेम गर्छ र ब्रिटिससँग विद्रोह गर्छ । 

ब्रिटिस साम्राज्य ढल्छ । 

रोज स्वतन्त्र बन्छिन् । स्वतन्त्रता सेनानी उनलाई स्वतन्त्र बनाएर जीवन त्याग्छन् । 

+++++

यसरी टाइट्यानिक डुबेको दिन अर्को जहाज पनि डुबेको थियो । 

त्यसलाई जेम्स क्यामरुनले देखे । 

अनि संसारलाई देखाए । 

@SurajWritesNP

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *