मकालु फिचर

निमा यसरी बने नङ्गा पर्वत चढ्ने संसारकै कान्छो आरोही

बिदाका बेलामा एउटा १६ वर्षे विद्यार्थीले के-के गर्छ होला ? 

काष्ठमण्डप कलेजमा ए लेभल पढ्दै गरेका निमा रिन्जि शेर्पाले भने दशैँ बिदाका बेला हिमाल आरोहण गरे । त्यो पनि ८,१६३ मिटर उचाइ भएको विश्वकै आठौँ अग्लो मनास्लु हिमाल । अनि मनास्लु आरोहण गर्ने विश्वकै कान्छो व्यक्ति बन्न पुगे । 

सन् २०२२ मा मनासलु आरोहण गरेको लगभग एक महिना नबित्दै निमाले ६,८१२ मिटर उचाइ भएको अमा दब्लम हिमालको पनि शिखर चुमे । १७ वर्ष पुगेपछि पनि उनको हिमालको रहर मेटिएन । सन् २०२३ मा विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरो पनि छोए । सगरमाथा चढेकै दिन ल्होत्से हिमालको शिखरमा पनि पाइला टेके । 

सङ्खुवासभाको शेर्पा परिवारमा जन्मिएका निमाको परिवारमा लगभग सबै सदस्यहरू पर्वतारोही हुन् । उनका बुबाले नै नौ पटक सगरमाथाको आरोहण गरिसकेका छन् । उनका काकाहरू भने ८००० मिटर भन्दा अग्ला १४ चुचुराहरू चढ्ने पहिलो दक्षिण एसियाली थिए । 

आफ्नै परिवारका सदस्यहरूको  हिमालप्रतिको समर्पण, मेहनत, जोस, तपस्या अनि पागलपन नजिकबाट देखेर हुर्केका निमाको मस्तिष्कमा शेर्पाहरू हिमालकै लागि जन्मेका हुन भन्ने छाप बच्चैदेखि परिसकेको थियो । उनी सानो हुँदा आफ्नो घरको झ्यालबाट हिमाललाई टोलाएर हेर्थे । त्यसरी हेर्दा अनेक किसिमका कौतुहलता उनको मनमा उब्जिन्थे । यो यत्रो विशाल पहाड के चाहिँ रहेछ ? मान्छेहरू यहाँ किन जान चाहन्छन् होला ? त्यस्तो उकालो कसरी चढ्छन् होला ? आदि इत्यादि । 

तर हिमालै चढ्छु भन्ने चाहना थिएन ।

हुर्किँदै गर्दा फोटोग्राफीले भने तान्दै गएको थियो । करिब तीन वर्ष अगाडि लकडाउन को समयमा बुबाको क्यामेराबाट उनले घर वरिपरिको फोटो खिच्न थाले । बिस्तारै उनको रुचि बढ्दै गयो । हिमालको पनि मनमोहक तस्बिरहरू खिच्ने रहर लाग्न थाल्यो । हिमाल चढ्छु नलाग्दा पनि हिमालकै फोटो खिच्ने काम आइहाल्यो ।

मनास्लु, अमादब्लम, सगरमाथा, र ल्होत्से गरी चार वटा नेपालको हिमाल आरोहण गरिसकेका निमालाई छिमेकी देश पाकिस्तानका सर्वोच्च शिखरहरूको पनि बोलाउन थाले । 

त्यहीक्रममा हालै २६ जुन २०२३ मा निमाले पाकिस्तानको ८१२६ मिटर उचाइ भएको नङ्गा पर्वत चढे । नङ्गा पर्वत विश्वकै नवौँ अग्लो हिमाल हो । १७ वर्षकै उमेरमा नङ्गा पर्वतको शिखरको टुप्पोमा पुग्न सफल निमा नङ्गा पर्वत चढ्ने पनि विश्वकै कान्छा व्यक्ति बनेका छन् । 

उनका अनुसार सुरुसुरुमा फोटोग्राफीप्रतिको लगावले हिमालको नजिक पुग्न प्रेरित गरेको भए पनि शिखर मै पुगिसकेपछि भने उनको प्रेरणाको श्रोत फेरिएको छ । सारा विश्वले भरियाको रूपमा मात्र हेरेका शेर्पा जातिप्रतिको सामाजिक स्टिरियोटाइप तोडेर शेर्पा जातिलाई पर्वतारोही भनेर चिनाउने सङ्कल्प भरिएको छ । उनी भन्छन् ‘यही मेरो सङ्कल्प र अठोट नै यी विशाल हिमाल चढ्ने प्रेरणा का श्रोत हुन् ।’ 

उच्च मृत्युदरका कारण नङ्गा पर्वतलाई सामान्यतया ‘किलर माउन्टेन’ भनेर चिनिन्छ । जतिबेलै जीवन जोखिममा हुनसक्ने त्यस्तो हिमाल चढ्नु पूर्व पनि उनलाई फिटिक्कै डर लागेन । आफ्नो तर्फबाट १०० प्रतिशतभन्दा बढी तयारी हुँदा आत्मविश्वास बढ्दै जाने उनको बुझाई छ । त्यो आत्मविश्वास र तयारी ले उनको मन भित्र को डर भेटाउँछ रे । 

सँगै अहिले त उनीसँग हौसला दिने अर्को घटना पनि छ । २४ मे २०२३ मा १० घण्टा भित्र उनले सगरमाथा र ल्होत्सेको चुचुरो छोएका थिए । नङ्गा पर्वत चढ्न जाँदा उनलाई यही कुराले आफ्नो क्षमता याद दिलाइरहेको थियो । यो त सकेँ त्यो त किन सक्दिनँ भन्ने उनलाई भयो । 

उनी कुनै पनि हिमाल चढ्नु पूर्व शारीरिकका साथै मानसिक प्रशिक्षण र तयारी पनि गर्छन् । शरीरलाई मजबुत बनाउनका लागि कसरत गर्नका साथै रक क्लाइम्बिङ् क्लास सँगै बक्सिङ अनि साइक्लिङको अभ्यास पनि गर्छन् । खानपिनमा ध्यान दिन्छन् । अनि मनमनै ‘म बलियो छु, म गर्न सक्छु’ दोहोराउँदै आफ्नो मन र मस्तिष्कमा सकारात्मक ऊर्जा भर्छन् । त्यसले उनलाई नङ्गा पर्वतमा विशेष काम दियो । 

नङ्गा पर्वत चढ्ने आरोहीहरू प्रायजसो सिधै शिखरमा पुग्ने लक्ष्य राख्दैनन् । बिस्तारै एउटा निश्चित उचाइमा पुगेर एक दिन विश्राम लिने गर्छन् । त्यसपछि मात्र शिखर तर्फको यात्रा सुरु गर्छन् । 

तर निमा र उनको समूहको भने विना विश्राम एकै चोटि शिखर पुग्ने लक्ष्य थियो । उनको समूहमा नर्वेजियन पर्वतारोही क्रिस्टिन हरिला पनि थिइन् । संसारका १४ अग्ला हिमालहरू छ महिनाभित्र आरोहण गर्ने नेपालका निर्मल पुर्जाको रेकर्ड तीन महिनामा नै गरेर तोड्ने हरिलाको लक्ष छ । आफ्नो समूहको साथीको त्यस्तो योजना भएको हुनाले निमालाई पनि विना विश्राम एकै चोटि शिखर पुग्न प्रेरणा आयो । 

तर त्यो यात्रा कम चुनौतीपूर्ण भने थिएन । बाटोमा उनले विभिन्न समस्या झेल्नुपर्‍यो । अनेक चुनौतीहरूको सामना गर्नु पर्‍यो ।

क्याम्प तीनमा पुगिसकेपछि उनलाई अचानक गाह्रो पर्‍यो । शारीरिक रूपमा एकदमै कमजोर भए । टाउको पनि अत्यधिक दुख्न थाल्यो । अक्सिजनको स्तर कमी भएकोले र विश्राम नलिई अगाडि बढिरहेकाले उनी नाजुक हुँदै गए ।

अझै तेह्र सय मिटरको उकालो तय गर्न बाँकी नै थियो । त्यतिमात्र हैन, माथि पुगेर तल झर्ने काम पनि थियो । उनको मनमा चिसो पस्यो । डर लाग्न थाल्यो । यत्रो लामो बाटो कसरी पुग्ने ? शरीरले हार मान्यो । 

उनलाई अरूबेला सामान्य रूपमा गर्ने काम गर्न गाह्रो हुन थाल्यो । लुगा लगाउन, जुत्ताको तुना कस्न पनि  पहाड नै चढे झैँ भइरहेको थियो । 

त्यसबेला पनि उनले आफ्नो सङ्कल्प सम्झे । आरोहण गरेर शेर्पा समुदायको नाम राख्ने सोचे । त्यसले उनको ज्यानमा पनि प्राण भर्‍यो । हिमालमा यस्तो सानो सानो कुराको पनि महत्त्व हुन्छ । 

सँगै त्यो यात्रा गाह्रो हुनुको अर्को कारण पनि थियो । उनले पहिला चढेका चार वटै हिमालमा रोप फिक्सिङ टिमले पहिला नै डोरी राखिसकेको थियो ।  तर नङ्गा पर्वतमा भने उनीहरू आफैँले डोरी लगाउँदै अगाडि बढ्नुपरेको थियो । त्यसक्रममा पनि उकालो चढ्दै गर्दा उनी नराम्ररी पछारिएका थिए । लड्दै गर्दा स्नो एक्सलाई गाड्न नपाएको भए जे पनि हुन सक्थ्यो । 

हिमालमा यस्तो कुरा पनि भइरहन्छ । यस्तो जोखिम सधैँ रहिरहन्छ । 

यसरी जीवनलाई नै खतरामा पार्ने चुनौतीहरूसँग डटेर निमा नङ्गा पर्वतको शिखरमा पुगिछाडे । बेस क्याम्पमा फर्किँदा उनी निमा रिन्जि शेर्पा मात्र नभएर ८१२६ मिटर अग्लो नङ्गा पर्वतको चुचुरो आरोहण गर्ने विश्वकै कान्छो आरोही भएर आइपुगे । 

उनकाअनुसार हिमाल चढ्ने आँट गर्नु पूर्व शारीरिक मात्र नभई मानसिक रूपमा बलियो हुन अत्यावश्यक छ । हिमालमा मृत्यु सामान्य कुरा भएकाले त्यसको लागि पनि तयार भएर हिँड्न सक्नुपर्छ ।

अनि सँगै आध्यात्मिक रूपमा प्रकृति र हिमाल सँगको लगाव महसुस हुनु पनि आवश्यक रहेको उनी ठान्छन् । भन्छन् ‘हिमाल सँग लगाव नहुने मान्छेलाई कुनै बेला ‘म किन यहाँ छु ?’ ‘मैले किन यति दुःख गरिरहेको छु ?’ जस्तो महसुस हुने रहेछ । त्यसो हुँदा हिमालदेखि डराउने र आत्तिने भएर ससानो त्रुटि भई मृत्युको मुखमा पुग्ने सम्भावना हुन्छ ।’ सँगै भावनात्मक संलग्नताले पनि हिमालमा मान्छेलाई कमजोर बनाउँछ ।

उनलाई हिमालमा हुँदा घरको न्यानोपन, खाना, आरामलाई पटक्कै याद आउँदैन रे । साथीभाइको सम्झना पनि हुँदैन रे । यसरी भावनात्मक संलग्नता नराख्नाले निमालाई आफ्नो लक्ष तर्फ केन्द्रित हुन मद्दत गर्छ रे ।

उनी कलिलो उमेरको भएतापनि परिवारले उनले सक्दैनन् भनेर कहिल्यै भनेनछन् । बरु शेर्पाको छोरा हो जे पनि गर्न सक्छ भन्दै आफन्तहरूले पनि प्रेरित गरिरहेछन् ।

त्यो सबै कुरा अहिले काम लागिरहेको छ ।

उनी अहिले पाकिस्तानका चार वटा सर्वोच्च शिखरहरू आरोहण गर्ने लक्ष राखेर अगाडि बढिरहेका छन् ।

उनी संसारका आठ हजार मिटरमाथिका सबै शिखर पुग्ने पहिलो किशोर बन्न चाहन्छन् ।

कभर फोटो: मनिष महर्जन

बाँकी फोटो: निमाद्वारा उपलब्ध

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *