बाबुरामको आक्रोश- सत्तादोहन गर्न समाजवादी मोर्चा बनाइयो
काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले समाजवादी मोर्चामा नरहनुको कारणबारे प्रस्टीकरण दिएका छन् । माधवकुमार नेपाल नेतृत्वमा समाजवादी मोर्चाको काम कारबाहीअघि बढेलगत्तै भट्टराईले सो स्पष्टीकरण दिएका हुन् ।
नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भट्टराई पनि मोर्चामा सामेल हुने चर्चा थियो । तर अन्तिम समयमा उनलाई बाहिर राख्दै समाजवादी मोर्चा घोषणा गरिएको हो ।
उनले मोर्चासँग नयाँ युगको नयाँ ढंगको समाजवादबारे कुनै स्पष्ट सोच नभएको तर्क गरेका छन् । ‘सिर्फ अंकगणितका आधारमा कांग्रेस र एमालेसँग पालैपालो मोलमोलाइ गरेर सत्तादोहन गर्ने मात्र त्यसको आशय देखिएकाले त्यसमा हामी संलग्न हुने प्रश्नै उठेन, किनकि त्यो समाजवादको उदात्त ध्येयप्रति नै ठुलो घात हो,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
यस्तो छ उनको प्रतिक्रिया :-
धेरै शुभेच्छुकहरू विशेषतः माओवादी आन्दोलनमा लागेका साथीहरूले हामीलाई आफैँले अघि सारेको समाजवादी केन्द्र वा समाजवादी मोर्चाबाट किन अलग भएको भनेर र अन्य कतिपयले तपाईँ पुराना शक्तितिर कि नयाँ शक्तितिर भनेर निरन्तर प्रश्न गरिरहनुभएकाले आफ्नो दृष्टिकोण सार्वजनिक गर्नु आवश्यक भएको छ ।
१. नेपालमा संविधानसभाबाट समाजवाद-उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछि ती उपलब्धिहरूको रक्षा गर्दै सुशासन र समृद्धिको जगमा समुन्नत समाजवाद निर्माण गर्न नयाँ ढंगको समाजवादी केन्द्र वा समाजवादी मोर्चा आवश्यक छ भन्ने प्रस्तावना हामीले अघि सारेकै हो । सकेसम्म पुराना शक्तिहरूको रूपान्तरणबाटै त्यस्तो शक्ति बन्नसके सहज हुन्छ भन्ने इमानदार प्रयत्न हामीले गरेकै हो । त्यस निम्ति गम्भीर प्रकृतिको वैचारिक-राजनीतिक छलफलको आग्रह पनि गरेकै हो ।
परन्तु पुराना शक्तिहरूमा एकाधिकार जमाएर बसेका नेताहरूको वैचारिक-राजनीतिक विषयप्रतिको अरूचीरअनिच्छा र खालि तत्कालीन संसदीय अंकगणितप्रतिको अतिशय लिप्साको प्रतिफल स्वरूप हामीसँग कुनै परामर्श र छलफल विनै रहस्यमय ढंगले कथित ‘समाजवादी मोर्चा’ को एकतर्फी घोषणा हुनपुग्यो । नयाँ युगको नयाँ ढंगको समाजवादबारे कुनै स्पष्ट सोच नभएको र सिर्फ अंकगणितका आधारमा कांग्रेस र एमालेसँग पालैपालो मोलमोलाइ गरेर सत्तादोहन गर्ने मात्र त्यसको आशय देखिएकाले त्यसमा हामी संलग्न हुने प्रश्नै उठेन, किनकि त्यो समाजवादको उदात्त ध्येयप्रति नै ठुलो घात हो ।
२. जहाँसम्म हामी नयाँ शक्तितिर कि पुरानो शक्तितिर भन्ने प्रश्न छ हामी नै वास्तवमा वैचारिक रूपले गत एक दशकदेखि देशमा नयाँ वैकल्पिक राजनीतिरशक्तिका प्रमुख प्रवर्तक भएकाले हामी नयाँ वैकल्पिक शक्ति निर्माणकै पक्षमा रहेको र रहने कुरा स्वतः स्पष्ट छ ।
बिचमा केही क्षेत्रीयतावादी शक्तिहरूसँग सहकार्य गर्दा हाम्रो छवि जनसमक्ष धमिलिन पुगेको कुरालाई स्विकार्दै हामीले आत्मालोचना सहित त्यसलाई सच्याउने कार्य गरिसकेका छौँ । अतः नयाँ युगको र देशको आवश्यकता अनुरूप हामी देशमा उदाउँदै गरेका सबै अग्रगामी नयाँ शक्तिहरूसँग सहकार्य गर्दै वृहत नयाँ वैकल्पिक शक्ति निर्माणमा प्रतिबद्ध रहेको र रहने कुरा द्विविधारहित ढंगले स्पष्ट पार्न चाहन्छौँ ।
धेरै शुभेच्छुकहरू विशेषतः माओवादी आन्दोलनमा लागेका साथीहरूले हामीलाई आफैंले अघि सारेको समाजवादी केन्द्र वा समाजवादी मोर्चाबाट किन अलग भएको भनेर र अन्य कतिपयले तपाईं पुराना शक्तितिर कि नयाॅ शक्तितिर भनेर निरन्तर प्रश्न गरिरहनुभएकाले आफ्नो दृष्टिकोण सार्वजनिक गर्नु आवश्यक भएको छ।…
— Baburam Bhattarai (@brb1954) July 8, 2023