जब ड्राइभर दाइले सोधे– ‘तपाईँलाई हतार त छैन नि बहिनी ?’
‘तपाईँलाई हतार भएको त छैन नि बहिनी ?’ ड्राइभर दाइले सोधे ।
‘छ नि दाइ, नघुमाएको भए हुन्थ्यो ।’ मैले जवाफ फर्काएँ ।
मेरो जवाफले केही फरक परेन । उनले टुँडिखेलबाट फनन गाडी घुमाए । म र मेरो साथी गिर्वान हेरेको हेरै पर्यौँ ।
रत्नपार्कको स्टपमा माइक्रो रोक्यो की ट्राफिक पुलिस आइहाल्छन् । यात्रीहरू चढ्नुअघि नै ‘ल जाऊ जाऊ’ भनिहाल्छन् । अनि त कोही त्यहीँ ठाउँमा ओर्लिने छन् कि भन्ने एकपटक पनि नसोची चालकहरू गाडी हुइँक्याइहाल्छन् ।
यसो सोच्दा चालकको पनि माया नै लगेर आउँछ । गाडीमा मान्छेभन्दा बढी त सिट नै खाली हुन्छ । अनि न घुमाएर पनि के गर्नु !
तर हामीलाई भने ढिलो भइसकेको थियो । जोरपाटीबाट आँखै नखुली हिँडेको । एउटा गाडीको रुट बल्ल सकिँदै थियो । तत्कालै अर्को गाडी समाउन नपाए ढिलो हुनेवाला थियो । छ बजिसकेको थियो ।
फेरि कलेजमा गाली खाइने भइयो सोच्दै हामी निन्याउरो अनुहार लगाएर झर्यौँ । अर्को गाडीले माइतीघर झारिदियो । ढिलो भइसकेको थाहा हुँदा पनि त्यही नि भ्याइन्छ की भनेर माइतीघरको उकालो कुद्याैँ।
टिनीन्न घण्टी बज्यो । कलेजको ढोका बन्द भयो ।
यसरी नै सवारी साधनको समस्याले गर्दा कति धेरै ढोकाहरू बन्द भएका होलान् । कति त सँधैको लागि पनि बन्द भए होलान् ।
बिहान होस् वा बेलुका । काठमाडौँमा समयमा नपुगिने समस्या नौलो हैन । कति बेला के हुन्छ थाहा नै हुँदैन ।
अनि त्यसले मात्र नपुगेर बस चढ्ने बेलामा सडक युद्ध मैदान जस्तो हुन्छ । सबै यात्रीहरू सतर्क भएर बसेका हुन्छन् । गाडीमा कता जाने भनेर लेखिएको छ भनेर आँखा ठुलो ठुलो पार्दै । आआफ्नो झोला कसेर चढ्न तम्तयार हुन्छन् । अनि गाडी आयो की हमला सुरु हुन्छ । आँखा नहेरी घचेड्दै गाडीतर्फ लाग्छन् । एक त गाडी आउनै निकै समय लाग्छ, अनि बल्ल तल्लभित्र पसेपछि पनि जो पहिला पुग्यो, उसकै राज । आरामले उभिने अवसर पनि भाग्यमानीले मात्र पाउँछन् । त्यसमा पनि शारीरिक रूपमा अशक्तलाई पर्ने समस्या त झन् सोधिसाध्यै छैन ।
अस्ति अफिसबाट घर जाने बेला अनामनगरबाट हिँड्दै म बानेश्वर पुगेँ । चालिस मिनेटजति पर्खेपछि बल्ल तल्ल एउटा जोरपाटीको ट्याम्पो आयो । सबै जना त्यही जाने भनेर पर्खिराखेका रहेछन् क्यारे, एकै पटकमा भाग दौड सुरु भयो । गाडी रोकेपछि हेर्दा त भित्र पस्ने ठाउँ पनि थिएन । त्यही पनि मान्छेहरू ढोकामा झुन्डिँदै सकी नसकी चढे । एकै छिनमा अर्को गाडी आयो । मेरो छेउमा एउटा अङ्कल उभिइराख्नुभएको थियो ।
‘यिनीहरूलाई त कारबाही गर्न पर्ने, यस्तो पनि हुन्छ ?,’ भन्दै कराउन थाल्नुभयो । पछि आफू पनि ट्याम्पो पछाडि झुन्डिँदै बाटो लाग्नुभयो ।
म बस नै चढ्न रुचाउँछु । बसमा अलि ढिलो पुगिए पनि त्यहाँका सिट अलि आरामदायक हुन्छन् । उभिन्छु नै भने पनि कुप्रिन पर्दैन । तर व्यवहारिक रूपमा हेरिने हो भने ट्याम्पोले वातावरणलाई हानि गर्दैन, र चाँडो पनि पुर्याइदिन्छ । ढिलो भएको बेला ट्याम्पो मै जान्छु । बानेश्वरको त्यो बाटोमा भने सार्वजनिक बस चल्दैन । बल्ल तल्ल माइक्रो चढेपछि पनि सिट नपाएपछि ढाड कुप्रिने गरी निहुरेर घर जानुपर्छ । घरको ढोका खोलेर भित्र पस्दा त साँचै नै युद्ध जितेर आएँ कि जस्तो महसुस हुन्छ ।
थाहा छैन यस्तो युद्ध कहिलेसम्म जित्नुपर्ने हो ?
सार्वजनिक यातायातसँग मलाई निकै लगाव छ । बस चढेपछि बाटैमा झुप्प झुप्प निन्द्रा लागे पनि वरिपरिका मान्छे हेर्न रमाइलो लाग्छ । सासना फुच्चा फुच्चीदेखि लिएर बुढाबुढी सम्म; कोही निदाएका हुन्छन् भने कोही गीत सुन्दै, सबैको आफ्नै बेग्लै कथा हुन्छ । अनि यसो सोच्ने गर्छु, यी मान्छे कताबाट आए होला, उनको गन्तव्य कता होला, आदि इत्यादि । ती मानिसहरूलाई हेर्दै, बाबाले भनेजस्तै ‘कानमा ठेडी कोचेर’ मस्त निदाउँछु । राति पूरा नभएको निन्द्रामा पनि त्यसले अलिकति सहज बनाइदिन्छ ।
अस्ति त दुई जना बुढापाका बोल्दै थिए । भर्खरै गाडीमा भेटिए पनि उनीहरू एक अर्काको थर र गाउँ सोधासोध गर्दै थिए । एकै छिनपछि उनको कुरा सुन्ने हो भने त पहिलैदेखि एक अर्कालाई चिनेका पो हुन् कि जस्तो लाग्ने गरी बोल्न थालिहाले ।
ठुलै हुरीबतास अथवा झरी नै पर्यो भने पनि यातायातले बचाइहाल्छ । बाइकमा भएको भए त निथ्रुक्कै भिजिन्थ्यो होला। अझै गफ गर्न छेउमा साना भुराभुरी भए त झन् रमाइलो हुन्छ । न उनीहरूले आफूलाई के सोच्लान् भन्ने डर हुन्छ, न त बोल्दैनन् कि भन्ने चिन्ता । फेरि यसो भन्दै गर्दा दिनदिनै रमाइलो पनि हुँदैन । कैयौँ चुनौतीहरू पनि आउने गर्छन् ।
अस्ति मेरी साथी सोनु गाडीमा चढ्दै गर्दा एक जना पुरुष महिला सिटमा गएर बसेछन् । उठ्न मान्दै नमानेपछि किन भनेर सोध्दा, ‘अस्ति म बच्चा बोकेर उभिँदा कसैले ठाउँ छाडेन, अहिले म चाहीँ किन छाड्नु ?’ जबाफ दिएछन् । अब यसलाई नबुझेको भन्नु कि बुझ पचेको, म जान्दिनँ ।
त्यसैगरी मेरी अर्की साथी लक्कीले एक वृद्धको लागि सिट छाड्दा ताली नै बजाइदिएछन् । थरीथरिका मानिससँग भेटघाट हुने मौका पाइन्छ, जे होस् ।
तर यी सबैथोक हुँदाहुँदै पनि समयमा नपुगिने अनि भनेको ठाउँमा ओर्लिन नपाइने कुराले भने बेलाबेला सताइरहन्छ । अनि फाइदासँगै त्यसका धेरै जोखिम पनि छन् ।
एक बिहान हामी कलेज जाने बेला धेरै कुदाएर ट्याम्पोको अगािडिको टायर नै निक्लियो । रफ्तारमा कुदिराखेको गाडी झ्याप्प रोकिएर अलिकति ढल्कियो। एकै छिन त सबै स्तब्ध भयौँ । बिस्तारै बिस्तारै सबै जना निस्क्यौँ । बिहानको पौने छ बजे मध्य बानेश्वर पुगेर हामी अलमल्ल परेका थियौँ । एक छिन् त सास नै रोकिएला जस्तो भयो । मृत्युलाई झन्डै भेटेको भनेर गफ गर्दै हामी माइतीघरसम्म कलेज पुग्यौँ । अबबाट जिन्दगी ट्याम्पो चढ्दिन भनेर निधो पनि भयो । अनि त्यसको एक हप्ता भित्र ढिलो भएर त्यही ट्याम्पो चढ्यौँ ।
प्रश्न सुरक्षाको मात्र नभएर चोरी र दुर्व्यवहारको पनि आउँछ । मेरी साथी संस्कृतिसँग अस्ति गफ गर्दै जाँदा थाहा पाएँ, उसको त झन् मोबाइल नै चोरी भएको रहेछ । बस चढेर जाँदा कोचाकोच त थियो नै, हुलमुलमा झन् फोन नै नभेटेपछि दिक्क लगेर आएछ ।
‘अनि के गर्यौ त?’ मैले सोधेँ ।
‘पुलिस रिपोर्ट गरेँ नि ।’
‘मोबाइल भेटियो अनि ?’
‘काँ भेटिनु, होस् भनेर छाडेँ ।’
यस्तै घटना त कति भए होलान् । एक पटक मात्र नराम्रो घटना घटे पनि त्यसले मुखमा तितो स्वाद छाडेर जान्छ ।
म पनि जब पहिलो पल्ट सार्वजनिक यातायात चढेकी थिएँ, चित्त नै दुखेर आएको थियो । स्कुलमा कार्यक्रम हुँदा मामु बाबा आउन पाउनुभएन । घर जाने अरू विकल्प नभएपछि मिसले माइक्रो चढाई दिनुभयो । उसै त कतै अर्कै बाटो पुर्याउलान् भनेर डराएकी म, सहचालक दाइले ‘कस्तो बच्चा होला, झर्नभन्दा अलि अगाडि त भाडा दिनुपर्दैन ?’ भन्दा एकै छिन भक्कानिएँ । अझै बेला बेला त्यो दिन सम्झन्छु । त्यसपछि पनि डराउँदै भए पनि गाडी चढियो, कहिले साथीसँग, कहिले बहिनीसँग भने कहिले एक्लै । धेरै मान्छेसँग त्यहीँ पहिलो र अन्तिम पटक भेटियो र हाँसियो पनि ।
मामुले कहिलेकाहीँ स्कुटर किन न भन्नुहुन्छ । तर मलाई भने यति धेरैथोक भइरहँदा पनि सार्वजनिक यातायात नै सजिलो लागिरहेको छ ।
बस् एउटा मात्र कामना छ । समयमा पुग्न पाइयोस् । यतिमा पुगिन्छ भनेर अनुमान गर्न सकियोस् । त्यही अनुसार योजना बनाउनु पाइयोस् ।
‘तपाईँलाई हतार भएको त छैन नि बहिनी ?’ ड्राइभर दाइले यसरी सोध्नु नपरोस् ।
‘छ नि दाइ, नघुमाएको भए हुन्थ्यो ।’ मैले यसरी जवाफ दिनु नपरोस् ।