परिवारको जरा खोज्दै मध्यपूर्व आएका दिदी भाइको कथा भन्ने सिनेमा
पहिला दिदी मध्यपूर्व जान्छिन् । उनी गएको बेला त्यहाँ गृहयुद्ध चलिरहेको छ । फिल्मले खुलाएको छैन तर कथाको सन्दर्भ लेबनानको युद्धबाट प्रभावित छ ।
उनीहरूको आमा एक आप्रवासीकै रूपमा क्यानडामा मर्छिन् । आमाको मृत्युले उनीहरूलाई परिवारको जरा खोज्ने बनाउँछ ।
आमा हुन्जेल सायद उनीहरूलाई त्यो जराबारे थाहा नै थिएन ।
आमा मरेपछि मात्र उनीहरूलाई आफ्नो दाइ र बाबु पनि भएको थाहा हुन्छ । त्यति ठुलो गोप्य कुरालाई लुकाइराख्न आमाले के(के गरिन् होला ?
एउटा दृश्यमा उनीहरू स्विमिङ पुल नजिकै छन् । आमा नजिकैको आराम गर्ने ठाउँमा टोलाइरहेकी छन् । छोरी आमालाई बोलाउँछिन् । उनी एकोहोरो टोलाइरहन्छिन् ।
सायद उनीसँग भन्नुपर्ने धेरै कुरा थियो । तर अधुरै रह्यो ।
भन्नुपर्ने कुरा धेरै भएको मान्छे टोलाएको कस्तो अचम्म लाग्ने है ?
आमा मरेपछि उनीहरू आमालाई रोजगारी दिने मान्छे तथा उनको पारिवारिक साथी जिन लेबेललाई भेट्छन् । उनी उनीहरूलाई दुई वटा चिठी थमाउँछन् । एउटा चिठी उनीहरूको दाजुलाई दिनुपर्ने हुन्छ । अर्को बाबुलाई । त्यो उनीहरूको आमाको अन्तिम इच्छा हुन्छ ।
जो मान्छे केही समय अघिसम्म छ भन्ने पनि थाहा थिएन । उनीहरूले त्यसैलाई चिठी दिनुपर्ने हुन्छ ।
त्यो चिठी दिँदै ऊ भन्छ, ‘तिमीले यी मान्छे छन् भन्ने थाहा पायौ । अब उनीहरूलाई यो चिठी दिनुपर्छ । अनि मात्र तिमीहरूको मनले शान्ति पाउँछ ।’
त्यो चिठी निकालेको हेर्दै गर्दा छोरी चिठीलाई यस्तरी हेर्छिन् कि मानौँ त्यो चिठी कुनै जीवित चिज हो ।
मरिसकेकी आमाको मनको शान्ति खोज्दै युद्धले अशान्त ठाउँको यात्रामा जान्छन् ।
कस्तो विरोधाभास ।
उनीहरूलाई त्यहाँ गएर भर्खरै फेला परेका मान्छे खोज्नु सजिलो काम हुँदैन । खासमा त्यो काम गाह्रो नहुनुपर्ने हो । खासमा उनीहरू छैनन् भन्ने कुरा नै पनि लुकाइनु नपर्ने हो । खासमा उनीहरू खोज्दै आएपछि पनि सजिलै भेटिनुपर्ने हो ।
उनीहरूले खोजिनिधी गर्दा केही महिला भन्छन्, ‘यदि तिमी उनको छोरी हौ भने तिमीहरूलाई यहाँ स्वागत छैन । तिमीहरू फर्क ।’
उनले के गरिन् जसले उनीहरूलाई उनीप्रति त्यति धेरै घृणा आयो ?
प्रेम ?
सुगमदेखि बिकट । पश्चिमी देश क्यानडादेखि मध्यपूर्वको कुनै देश । खासमा मध्यपूर्व भनेको पनि कताको लागि मध्यपूर्व । यदि एसियाबाट हेर्ने हो भने त त्यो पश्चिम हो ।
मध्यपूर्ण नाम आफैँमा पनि राजनैतिक हो ।
यही ठाउँमा उनीहरू आएको दृश्यले एक मान्छेको कथा भन्दा भन्दै ठुलो आप्रवासी समुदायको कथा भन्न थाल्छ ।
अनि सँगै युद्धको बेला कुनै देश कसरी पिल्सिन थाल्छ पनि सुनाउन थाल्छ ।
त्यसरी पिल्सिनेहरूमा साना साना बालबालिकाहरू छन् जसलाई सिसा फुटेको स्कुलको कोठामा राखेर बालसैनिक बनाइँदै छ । यही दृश्यबाट फिल्म सुरु हुन्छ । झ्यालबाहिरको रुख देखाउँदै गरेको क्यामेराभित्र छिर्दै गर्दा फुटेको सिसाहरू देखिन थाल्छ ।
त्यही दृश्यलाई पहिला रुखमा मात्र हेर्दा कति सामान्य अवस्था लागेको थियो । केही बेर क्यामेराभित्र छिर्नासाथ त्यही ठाउँ कस्तो असामान्य बन्यो ।
एउटा ठाउँ सामान्यबाट असामान्य बन्न कति नै समय लाग्छ र ?
यो फिल्मले सुनाएका कुराले कतै तपाईँलाई रिस उठाउन सक्छन् । अझ सैनिक बन्दै गरेका बालकहरूले क्यामेरातिर सिधै हेर्दा तपाईँलाई नै ‘हाम्रो देश यो अवस्थामा भइरहँदा तिमीहरू के गरिरहेका छौ ?’ भनेर सोधेको जस्तो लाग्छ ।
कतै तरक्कै रुवाउन सक्छन् ।
कतै दिक्क लगाउन सक्छन् ।
कतै संसारमा भएका असमानता र समस्याहरू सम्झिएर लज्जित बनाउन सक्छन् ।
तर एकछिन पनि आँखा नअड्याई भावविह्लल भएर हेरिरहने भने बनाउँछन् ।
अनि उनको आमाले गरेको यात्राले अरब देशहरूमा महिलाहरूले भोगेका अनेकौँ कठोर अवस्थाहरूलाई पनि देखाइरहन्छन् ।
अनि उनको आमाको पीडाको इतिहासलाई साक्षात्कार पनि गराउँछन् ।
सन् २०१० को भेनिस र टोरन्टो फिल्म फेस्टिभलमा प्रिमियर भएको अनि सन् २०११ मा उत्कृष्ट विदेशी भाषाको फिल्मको सूचीमा परेको यो डेनिस मिल्नोभ फिल्म तपाईँको रोजाइमा पर्न सक्छ है ।
नोट: यसमा बालबालिकालाई मारेको देखाउने केही दृश्य छन् । तपाईँलाई त्यसले असर गर्छ भने नहेर्नुहोला ।
Trailer :-