पुष्पलालको योगदानलाई युवा पंक्तीमा पुर्याउन आवश्यक : अध्यक्ष नेपाल
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पुष्पलाल श्रेष्ठको योगदानलाई युवा पंक्तीमा पु¥याउन आवश्यक रहेको बताएका छन् ।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार—२०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पुष्पलाललाई नेपालको राजनीतिमा शिखर व्यक्तित्वको रुपमा स्मरण गरे । उनले कम्युनिष्ट आन्दोलनको जन्मदाता, शुरुवात कर्ता, संस्थापक मात्रै नभइ पुष्पलाल नेपालको लोकतान्त्रिक आन्दोलनको पनि उच्च व्यक्तित्व रहेको बताए ।
उनले भने, ‘पुष्पलाल नेपालको राजनीतिको एउटा शिखर व्यक्तित्व हुनुहुन्थ्यो । कम्युनिष्ट आन्दोलनको जन्मदाता, शुरुवात कर्ता, संस्थापक मात्रै होइन, नेपालको लोकतान्त्रिक आन्दोलनको पनि उच्च व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले नै कांग्रेस र कम्युनिष्ट नमिलेसम्म निरंकुश सत्तालाई फाल्न सकिँदैन भन्ने निस्कर्ष अघि सार्नुभएको थियो । उहाँको कुरा पालना नगरेसम्म पञ्चायती व्यवस्था ढाल्न सकेनौँ । उहाँ दूरदर्शी नेता हुनुहुन्थ्यो । उहाँका योगदानलाई अझै हामीले युवा पंक्तीको बीचमा पुर्याउनसकौँ, उहाँको प्रेरण लिन उत्प्रेरित गर्न सकौँ ।’
अध्यक्ष नेपालले कांग्रेस र कम्युनिष्ट नमिलेसम्म निरंकुश सत्तालाई फाल्न सकिँदैन भन्नेकुरा पुष्पलालले धेरै पहिला भनेअनुसार नै पछि आएर पञ्चायती व्यवस्था ढालेको बताए ।