नेत्रज्योति संघ र डाक फाउन्डेसनबीच सम्झौता, ८ हजार जनाको निःशुल्क शल्यक्रिया हुने 

काठमाडौँ । नेपाल नेत्रज्योति संघ र अस्ट्रेलियाको डाक फाउन्डेसनका बिचमा आपसी सहकार्य गर्ने सम्बन्धी सम्झौतापत्र (एमओयू) मा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा संघका तर्फबाट अध्यक्ष प्रा.डा चेतराज पन्त र फाउन्डेसनका तर्फबाट संस्थापक डेभ रिकर्डले हस्ताक्षर गरेका हुन् ।
फाउन्डेसनले सन् २०२३ का लागि करिब ८ हजार जना आँखाका बिरामीहरूको निःशुल्क शल्यक्रियाका लागि संघलाई अनुदान रकम उपलब्ध गराउने छ भने सङ्घले विभिन्न अस्पताल तथा बाह्य कार्यक्रमहरू मार्फत आर्थिक अभावका कारण आँखा उपचार सेवाबाट वञ्चित नागरिकहरूको निःशुल्क आँखा उपचार गर्नेछ ।
संघ र फाउन्डेसनका बिचमा सन् २०१९ देखि निरन्तर सहकार्य भइरहेको र यसैको निरन्तरताको स्वरूप यो वर्षका लागि करिब ८ हजार बिरामीहरूको निःशुल्क आँखाको शल्यक्रियाका लागि सम्झौता भएको हो ।
आर्थिक अभाव र पहुँचका कारण कोही पनि नागरिकले दृष्टिविहीन जीवन यापन गर्न नपरोस् भनेर जनताको घर दैलोमै सहज, सुलभ र सस्तो रूपमा गुणस्तरीय सेवा प्रदान गरिरहेको छ र कोही पनि नागरिकहरूले आर्थिक अभावकै कारण दृष्टिबिहिन भएर बस्नु नपरोस् भनेर सङ्घले विभिन्न दातृ निकायहरूसँगको सहकार्यमा दशैभरि निःशुल्क शिविरहरू सञ्चालन गरिरहेको बताउँछन् संघका महासचिव भरतबहादुर चन्द ।
डाक फाउन्डेसनका सहयोगमा अहिलेसम्म करिब ५ लाख बिरामीहरूको आँखा जाँच गरी ५२ हजार बिरामीहरूको निःशुल्क शल्यक्रिया समेत गरिएको बताउँछन् संघका कार्यक्रम व्यवस्थापक रञ्जन शाह ।
अस्ट्रेलियन दम्पती डेभ रिकर्ड र केरी डिकार्डले आफ्नो व्यक्तिगत आयबाट सञ्चालन गरेको फाउन्डेसनले हाले विश्वका करिब १० देशका गरिबिको रेखामुनि रहेका नागरिकहरूलाई विभिन्न स्वास्थ्य सेवाहरू निःशुल्क रूपमा प्रवाह गर्न अनुदान दिई रहेको छ । विश्वका ५ लाख मानिसलाई ज्योतिको दोस्रो अवसर दिने लक्ष्य रहेको  बताउँछन् फाउन्डेसनका संस्थापक डेभ रिकर्ड ।
सन् २०३० सम्ममा नेपालबाट उपचार पछि निको हुने अन्धोपनालाई निवारण गर्ने नेत्रज्योति सङ्घको योजनामा डाक फाउन्डेसनले महत्वपुर्ण सहयोग पुर्याइरहेको बताउँछन् संघका कार्यकारी निर्देशक डा.शैलेसकुमार मिश्र । ‘अहिले पनि हाम्रो देशमा कतिपय नागरिकहरू आर्थिक अभावकै कारण आँखा उपचारबाट वञ्चित छन् त्यस्ता नागरिकहरूलाई सेवा प्रवाह गर्न डाक फाउन्डेसन जस्ता दातृ निकायहरूको सहयोग महत्वपुर्ण छ’ मिश्रले भने ।
नेपाल नेत्र ज्योति सङ्घले हाल देश भरमा २७ वटा आँखा अस्पताल, १५४ आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखाहरू मार्फत नागरिकहरूलाई गुणस्तरीय आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *