डेंगी नियन्त्रणका लागि भूमिका खेल्न स्वास्थ्य सेवा विभागको आग्रह
मकालु खबर
२०८० असार २५ गते
काठमाडौँ । स्वास्थ्य सेवा विभागले डेंगी रोग नियन्त्रणका लागि सबैलाई आ–आफ्नो ठाउँबाट भूमिका खेल्न आग्रह गरेको छ ।
सोमवार डेंगी रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धमा सञ्चारकर्मीहरूसँगको अन्तरक्रियामा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले डेंगी नियन्त्रणमा सबैको भूमिका महत्वपूर्ण हुने बताए । उनले विभागले डेंगी नियन्त्रणका लागि आवश्यक तयारी गरिराखेको भन्दै विभागको तयारी पर्याप्त नहुने बताए । उनले डेंगी नियन्त्रणका लागि घर भित्रैबाट काम गर्नुपर्ने बताए ।
उनले घरमा सरसफाईमा ध्यान दिने, पानी जम्ने खाल्डाखुल्डी नराख्ने तथा लामखुट्टेहरूको नष्ट गर्ने अभियान घर देखि नै सुरु गर्नुपर्ने बताए । उनले लामखुट्टेले रातमा मात्रै नभई दिनमा पनि टोक्ने भएकाले यसप्रति सजग हुनुपर्ने बताइ । डेंगी रोगको सम्बन्धमा विद्यालयदेखि नै सिकाउनुपर्ने उनको भनाई छ । उनले पालिकाहरूमा डेंगी नियन्त्रणका लागि केही बजेट र आवश्यक कुराहरू समेत गएको उल्लेख गरे ।
उनले भने ‘झुल लगाएर बस्दाखेरी हामी राति मात्रै सुरक्षित हुन्छौँ । यो त डे बाइटर हो । यो पनि एकदम स्पष्टसँग हामीले जनमानसमा पुर्याउनु पर्नेछ । यो डे बाइटर हो । झुल लगाएर मात्र हुँदैन यसले । अर्कोकुरा बिरामीलाई झुलमा राखियो भने त्यहाँ लामखुट्टे छ भने टोकेर अरूलाई सार्ने कुरा रहँदैन । सामान्य कुरा बुझ्यौँ भने रोकथाम गर्न अगाडी बढ्न सक्छौँ । सबैले काम गर्नुपर्याे । स्कुलमा बच्चालाई सिकाउन सक्यौँ भने, यो एउटा संस्कृति बनाउन सक्यौँ भने आगामी पाँच/दश वर्षमा डेंगीलाई सानो स्केलमा राख्न सकिन्छ । कार्यक्रमगत रूपमा सबै पालिकाहरूमा यसको केही बजेटहरू गएका छन् । यसलाई नियन्त्रण गर्नका लागि आवश्यक कुराहरू गएको छ । पर्याप्त नहोला तर सबै ठाउँमा गएको छ । अर्को कुरा तयारीको अवस्थामा रहन पनि हामीले क्रमिक रूपमा छलफल गरेका छौँ । सिरियस रूपले गएका छौँ । यतिले मात्रै पर्याप्त हुँदैन । सबै ठाउँबाट हामीले उज्यालो छर्नुपर्याे ।’
अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. विमल शर्मा चालिसेले करिब ८० प्रतिशत बिरामीहरूमा डेंगी लागेपनि कुनै लक्षण नदेखिने बताए । उनले करिब १०÷१५ प्रतिशत बिरामीहरूमा सामान्य लक्षण मात्रै देखिने उल्लेख गरे । डेंगीको औषधि नभएको भन्दै उनले लक्षण अनुसारको उपचार गर्ने भएकाले यस रोगप्रति सचेत हुनुपर्ने बताए । जमेको पानीलाई नष्ट गर्नुपर्नेमा उनले ध्यानाकर्षण गराए ।
स्वास्थ्य सेवा विभागले यस वर्ष पनि डेंगीको रोकथाम तथा नियन्त्रणका लागि आफूहरू तयारी अवस्थामा रहेको जनाएको छ ।
मकालु खबर
२०८० असार २५ गते
प्रतिक्रिया
सम्बन्धित