सर्लाहीमा विद्यार्थी, शिक्षक र प्राध्यापकबीच झडप, तोडफोड र मोटरसाइकलमा आगजनी
सर्लाही । सर्लाहीको पश्चिमी भेगस्थित गोडैता नगरपालिका–८, मा रहेको श्री बेणी भोला नमुना माध्यामिक विद्यालयमा अतिरिक्ति शुल्कको विषयमा विवाद हुँदा शिक्षक, विद्यालय प्रशासन र विद्यार्थीबीच त्रिपक्षीय झडप भएको छ ।
विद्यालय प्रशासनले उक्त विद्यालयका विद्यार्थीसँग अतिरिक्त सुल्क लिने निर्णय कार्यान्वयन गर्न खोजेपछि त्यहाँका गणित विषयका शिक्षक शुभनारायण चौधरीले त्यसको विरोध गरेका थिए । उनले प्रधानाध्याप रामचन्द्र चौधरीसँग अतिरिक्त शुल्क लिनु नहुने र गैरकानुनी हुने अडान राखेका थिए । तर, प्रधानाध्यापकले विद्यार्थी संख्याको आधारमा आवश्यक परे व्यवस्थापन समितिले निर्णय गरी अतिरिक्ति शुल्क लिन पाउने व्यवस्था सर्लाही जिल्लामा गरिएको भन्दै अतिरिक्ति शुल्क कार्यान्वयन गर्ने अडान लिए । दुवै पक्षको अडानका बीच विवाद हुँदा झडपको स्थिति बनेको हो ।
विद्यालयका विद्यार्थीले गणीत शिक्षक चौधरीको पक्षमा झडपमा भाग लिएपछि झडप उग्र बनेको थियो । विद्यार्थीले विद्यालयका कुर्सी, टेबुल लगायत फर्निचर समेत तोडफोड गरेका छन् ।
झडपमा परी केही शिक्षक र विद्यार्थी घाइते समेत भएका छन् । विद्यार्थीले प्रधानाध्यापक रामचन्द्र चौधरीको मोटरसाइकलमा आगजनी समेत गरेका छन् । झडपमा प्रधानाध्यापक चौधरी, केही शिक्षक र विद्यार्थी समेत घाइते भएका छन् ।
त्रिपक्षीले झडपबारे छलफल गरी समस्या समाधान गर्न अहिले व्यवस्थापन समितिका पदाधिकारी र झडपमा सामेल पक्षलाई बोलाइएको सर्लाहीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारुले बताए ।