मकालु अन्तर्वार्ता

‘भोजपुरी भाषा त बुझ्नुहुन्छ नि ?’

‘भोजपुरी भाषा त बुझ्नुहुन्छ नि?’ नाटकघरभित्र पस्दै गर्दा निर्देशक रोशन सुवेदीले प्रश्न गरे । 

‘आउँदैन, तर प्रयास गरौला नि सर ’ मैले भने  । ‘ट्यूवेल’ नाटक हेर्न म ‘पुरानो घर’ नामक नाटक घर गएकी थिए । त्यो नाटक मधेसको कथामा सम्बन्धित छ भन्ने त थाहा थियो, तर भाषाको नै ज्ञान लिएर जानुपर्छ भन्ने लागेको थिएन ।

हामी भित्र पुग्दा नाटक सुरु हुने बेला भइसकेको थियो ।

मञ्चको एक छेउमा प्रत्यक्ष सङ्गीत बजाउने कलाकार थिए । उनीहरूको अगाडि सानो दीप बालिएको थियो । त्यसको मधुरो उज्यालोमा कलाकारहरूको अनुहार धपक्क बलेको देखिन्थ्यो । 

नाटक सुरु भयो । सुरुमै भोजपुरी भाषा सुन्दा एकै छिन टिभीमा कुनै भोजपुरी भाषा आउने च्यानल हेरेको सम्झना आयो । कलाकारको पहिरन, हातमा हम्किन लिएको पङ्खा र घर पनि त्यस्तै शैलीको देखिन्थ्यो । मैले त्यहाँ बोलिएको भाषा केही पनि बुझिन । कलाकारहरूको हाउभाउले नै के भइराखेको छ भनेर अनुमान लगाउने प्रयास गरेँ । 

निर्देशकले भनेको साँचै रहेछ । एकछिनमा नयाँ पात्रको प्रवेश भयो । उनको पहिरन अरू पात्रभन्दा अलि फरक किसिमको थियो । उनले नेपाली बोले । 

नाटकको कथा कहिल्यै नसुनेको जस्तो थिएन । आर्थिक अवस्था कमजोर भएको परिवारलाई कसरी मुखिया र जमिनदार मिलेर ठग्ने गर्छन् भनेर दर्साइएको थियो । आफ्नो जमिनमा ट्यूवेल हाल्न मिल्ने खबर सुनेपछि हरिया नामक किसान खुसी हुन्छन् । तर त्यसको लागि निकै ठुलो रकम चाहिन्छ । अर्को धनी पात्रले पैसा दिन्छु भन्दै छलेर उनको औला छाप लिन्छन् । कागजमा लेखिएको कुरा नबुझीकन छाप लगाएपछि उनको खराब दिन सुरु हुन्छ । 

ट्यूवेल हालेपछि उनले आफू ठगिएको थाहा पाउँछन्  । उनकी पत्नी खुसी हुँदै ट्यूवेलको पूजा गरेर आउँछिन् । तर आफ्नो जमिन र सबै सम्पत्ति दिन पर्ने समाचार सुनेपछि दुवैको अनुहार अँध्यारो भएर आउँछ । अन्तिममा मञ्चमा हरिया र उनकी पत्नी मात्र हुन्छन् । एकै छिन अगाडीसम्म भरिएको त्यो मञ्च खालि हुन्छ । केहीबेर अगाडिको उनको खुसीको संसार एक पलमा नै बिग्रिदिन्छ । त्यसपछि ती दुई पात्र कता जान्छन्, के गर्छन् त्यसको अनुमान लगाउन गाह्रो पर्छ । उनीहरूको जीवनको पनि टुङ्गो रहँदैन । दुई जना डाको छाडेर रुँदै गर्दा बत्ती बन्द हुन्छ । त्यो भूमिजस्तै उनको जीवनमा पनि शून्यपन छाएको हुन्छ । उनीहरू अलपत्र हुन्छन्  । 

नाटक सुरु हुनुभन्दा पहिला देखेको उज्यालो उनीहरूको आँसुसँगै हराउँछ । 

यो देखेर मलाई टाढाबाट देखेका यस्तै कैयौँ पात्रहरूको सम्झना आयो । मेरो कलेज माइतीघरमा छ । बिहान ६ बजे पुगिसक्न पर्छ । त्यहाँ दिनदिनै मान्छेहरू केही न केही गुनासो लिएर आएको देखा पर्छन् । कोही बिहानैदेखि धर्ना कसेर बसेका हुन्छन् भने कोही त सडकमै सुतेको पनि देखेकी छु । कैयौँ महिना अगाडी मिटर ब्याजको समस्या लिएर किसानहरू आएका थिए । अहिले पनि अनेक समस्या सरकारलाई सुनाउन उनीहरू बसेका बस्यै छन् । उनीहरू र यस नाटकको पात्रबिचमा कति फरक होला र ? दुवै ऋण लिएर धनी जमिनदार बिच पिसिएका थिए । 

नाटकले ट्युबेललाई बिम्ब बनाएर गरिब किसानहरूमाथि समाजको उच्च ओहोदामा भएका मान्छेहरूले गर्ने अन्यायको कथा भन्यो । एउटा सानो नयाँ खुसी थप्ने आश गर्दा पनि कसरी ती मानिसहरूले बज्रपात सहिरहेका छन् देखायो । यसको पोष्टरमा धाँजा फुटेको जमिन प्रस्तुत गरिएको थियो । त्यो उनीहरूको बाध्यता हो । सरकारले सिँचाई पुर्‍याइदिएको छैन । तर त्यसलाई मेट्न ट्युबेल राख्न खोज्दा उनीहरूको छाती नै त्यो धाँजा फुटेको जमिन जस्तो भएको छ । 

यस्तो अझै भइरहेको छ । 

नाटक सकिएसँगै म निर्देशक रोशनसँग नाटकबारे कुरा गर्न बसेँ । 

उनले यो नाटक ७ वर्ष अगाडी लेखेका रहेछन् । तराईको प्रतिनिधित्व खासै नभएपछि, ‘मेरो कथा म आफै भन्छु’ भनेर निर्देशन गर्ने निर्णय लिएछन् । यो उनले निर्देशन गरेको पहिलो नाटक हो ।  

उनको बुबा सरकारी कार्यालयमा काम गर्नुहुन्थ्यो । त्यो कार्यालयले ट्यूवेल गाड्ने काम गर्थ्यो । यो २०५६ सालको कुरा हो । उनले १० कक्षा सकिसकेका थिए । बुबाले ‘त सँग समय पनि छ, बरु सर्वे गर्न जा, अलिकति खर्च पनि हुन्छ’ भनिदिए । उनको कुरा सुनेर उनी पर्सा जिल्लाको गाउँ गाउँमा सर्वे गर्नलाई हिँडे । त्यहाँका मान्छेसँग धेरै नबोले पनि यसको बारेमा कथा लेख्न पर्छ भनेर दिमागमा लागिराखेका थिए । नाटक गर्न थालेपछि यो विषयमा पनि नाटक बन्नपर्छ भन्ने लागेर यो नाटक लेखेर निर्देशन गरे । 

नाटकमा भएका सबै कलाकारले स्पष्ट भोजपुरी भाषा बोलिराखेका थिए । उनलाई सोध्दै जाँदा भोजपुरी भाषा बोल्ने कलाकार अलि कम रहेछन् । 

‘अनि कसरी छनोट गर्नुभयो त?’ मैले सोधेँ । 

‘धेरै साथीहरूलाई फोन गरे, धेरैले सिधै पैसाको कुरा गर्नुभयो । भाषाप्रति मोह भन्दा पनि पैसापट्टिको मोह छ साथीहरूको ।’ उनले थोरै असन्तुष्टि जनाउँदै जवाफ दिए ।  

सोचेको जस्तो कलाकारहरूले खेल्न नमानेपछि कलाकारलाई अडिसनको लागि बोलाएछन् । त्यसपछि पनि धेरै कलाकारको आउने जाने प्रक्रिया चलिराखेछ । कति कलाकारहरूले त नाटक नै पहिलो पटक खेल्दै रहेछन् । 

कलाकारलाई उत्ति नै साथ सङ्गीतले पनि दिइराखेको थियो । पहिला त पर्सा जिल्लाबाट नै सङ्गीतकार बोलाउन खोजेका रहेछन् । पहिला खुसीसाथ आउँछु  भनेको कलाकारहरू नआइदिँदा नरमाइलो लगेर आएछ । 

‘काठमाडौँ जस्तो ठाउँमा धेरैले भोजपुरी बोल्दैनन्, यहाँ नै यो नाटक गर्न किन छान्नुभयो ?’

‘काठमाडौँमा भोजपुरीमा नाटक गर्नु भनेको आफैमा एउटा क्रान्ति हो । मैले निर्देशन गरेको पहिलो नाटक नै भोजपुरीमा गरेको छु । यो एउटा भाषाको आन्दोलन हो । सडकमा उत्रेर मात्र आन्दोलन हुँदैन । कलाकारको रूपमा सरकारलाई घचघच्याइ राख्ने, आवाज विहीनको आवाज बन्ने गरिरहनुपर्छ । कहिलेकहीँ सानो झिल्को बाल्दिए भने पनि त्यो आगो सल्किन्छ ।’

उनले थपे, ‘तर जसको लागी यो आगो बाल्दिएको हो, वहाहरुले पनि मतलब दिनुपर्छ । यो क्रान्ति गर्दै गर्दा योद्धाहरू हात मिलाउन आएको जस्तो मलाई लागेको छैन । दर्शकहरू पनि तराईबाट भन्दा अरू भाषा बोल्नेहरू धेरै आइराख्न भएको छ । कैयौँले त आफ्नै भाषालाई पनि अपनाउन खोज्नुहुन्न ।’ 

‘पहिला आफ्नो भाषिक पहिचान बचाउनतर्फ लागौँ  । त्यही भोजपुरी भाषामा छाडा गीतहरू छन् भने चाही पुरै परिवार मिलेर सुन्ने, रमाउने प्रचलन छ, तर त्यही भाषालाई लिएर कला र साहित्यमा केही गरौँ भन्दा पछि पर्नुहुन्छ । उहाँहरु नै मैथिली र भोजपुरी भाषा कति धनी छ भनेर डाहा गर्नुहुन्छ । यो उहाँहरुको पाखण्डीपन  हो । भन्ने बेला हामीले पहिचान पाएनौ जस्तो कुरा गर्नुहुन्छ, तर पाएको बेला कोही अघि सर्नु हुँदैन ।’ उनले तितो पोखे । 

उहाँ सँग कुरा गर्दै जाँदा मैले देखेको संसार र म भन्दा भिन्नै भूगोल अथवा छुटै आर्थिक अवस्था, फरक भाषा बोल्ने मानिसहरूको बिचमा कति फरक हुन्छ भन्ने कुराको अनुभूति भयो । म काठमाडौँमा हुर्किएकी, मलाई आफ्नै दुखहरू ठुला लाग्छन् । कहिलेकहीँ साथीहरूले ‘यसलाई के थाहा छ र, यो त कता नै गएकी छे’ भन्दा चित्त पनि दुखेर आउँछ । 

यो नाटक हेरेपछि मेरो त्यो धारणा फेरियो । बल्ल मेरो देशको अवस्था अलिकति भए पनि बुझ्ने भएछु जस्तो लाग्यो । 

अर्को पल्ट सबैले भोजपुरी, मैथिली भाषा बुझ्ने अथवा बुझ्ने प्रयास गर्ने गरुन् । कला र आफ्नो मातृभाषाको सम्मान गरुन् ।  

ट्यूवेलको कारणले होस् वा मिटर ब्याजको कारणले। कुनै कुरामा पनि किसानहरू सडकमा ओर्लिनुपर्ने बाध्यता नपरोस् । 

नाटकले मलाई मधेशको परिवेशसँग नजिक पुर्‍याइदिएको छ । अब म आफ्नो कलेज छेउमा भएका आन्दोलनहरूमा पनि अझै नजिकबाट पुग्छु ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *