प्रहरी जवानलाई पाता कसेर यातना दिएकोबारे अध्ययन गर्न समिति गठन
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सिरहामा प्रहरी जवानलाई पाता कसेर यातना दिएको विषय अध्ययन गर्न समिति गठन भएको छ । उक्त घटनाको मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन सुरु गरेको हो । छानविनका लािग डीएसपी ज्ञानकुमार महतोको संयोजकत्वमा ५ सदस्यीय छानबिन टोली गठन गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई पाता कसेर यातना दिएको भिडियो बुधबार मात्रै सार्वजनिक भएको थियो । भिडिओ सार्वजनिक भए लगत्तै छानविन सुरु गरिएको हो ।
पीडित जवानले भने आफूलाई बढी ड्युटी खटाइएको विषयमा गुनासो गर्न जाँदा इन्सपेक्टर हेमन्त राईले पाता कसेर यातना दिएको पीडित पक्षको भनाई छ ।
तर, सिरहाका प्रहरी प्रमुख एसपी टेकुनन्द इवा लिम्बुले भने उनले प्रहरी जवान यादवले मादक पदार्थ सेवन गरी जथाभावी सर्वसाधारण र प्रहरी कर्मचारीलाई कुटपिट तथा दुर्व्यवहार गरेपछि नियन्त्रणमा लिइ सम्झाइएको बताएका छन् ।