जसले लोप हुन लागेको नेवारी गीत ‘सालुगु गाचा सालेमते’ ब्युँताए
नेवा संस्कृतिले सङ्गीतलाई आफ्नो पहिचानको अभिन्न अङ्ग ठान्दछ । यहाँ सङ्गीतले हरेकको जीवनलाई जीवन्त पार्दछ । काठमाडौँको चहलपहलदेखि पुराना मन्दिरहरूको शान्त चोकमा बज्ने खिंको ताल, बाँसुरीको सुमधुर ध्वनि र मादल जस्ता परम्परागत वाद्य यन्त्रले समुदायलाई एकसाथ बाँधेको छ ।
यस्तै मनमोहक साङ्गीतिक वातावरणको बिचमा रोज मान महर्जनको जन्म भयो ।
उनी ६ वर्षका थिए जब उनले पहिलो पटक धिमे बजाए । उनलाई ती बाजाहरू कसरी बज्छन् भन्ने खुलदुली भई रहन्थ्यो । छुन जान्थे । आफूभन्दा ठुला बाजाहरूमा आफ्ना हात ठटाउँथे । पछि स्कुलमा लक्ष्मी डङ्गोलसँग उनले मादल सिके । लक्ष्मी गणितका शिक्षक पनि थिए । उनी रोज मानलाई धेरै हौसला दिन्थे । ‘तिमीले अरू बाजा पनि सिक्नुपर्छ’ भनेर उनैले उनलाई तबला बजाउन पनि सिकाए । दैनिक रूपमा सबै थोक भुलेर रोज मान मादल र तबला सँग घण्टौँ झुम्थे ।
बजाउन जान्ने भएपछि त झन् दैनिक जसो हुने जात्रा लगायत विभिन्न कार्यक्रममा बज्ने बाजाले उनलाई बोलाए झैँ लाग्थ्यो । स्कुल जाँदै गर्दा बाटो मा कतै बाजा बजेको सुन्दा लुकी लुकी हेर्न जान्थे र ढिलो स्कुल पुग्दा मास्टरको नराम्रो गाली खान्थे । बाजा साथमा नभएको बेला उनी स्कुल को बेन्चहरूमा बजाउने गर्थे । शिक्षकको गाली खाएता पनि उनलाई त्यसो गर्न रमाइलो लाग्थ्यो ।
त्यही क्रममा उनलाई आफू सङ्गीतकै लागी बनेको हुँ र सङ्गीतमै केही गर्छु भन्ने लाग्यो ।
नौ कक्षामा पढ्दा उनले आफ्नो पहिलो प्रस्तुति दिए । जसमा जिम्बे, मादल, तबला र धिमे जस्ता चार वाद्यवाधन एकै समयमा बजाएर सबैलाई प्रभावित गरे । त्यस प्रस्तुति पछि उनलाई शिक्षकहरूले हेर्ने दृष्टिकोण नै फेरियो । हिजो सम्म बेन्च ठटाउँदा गाली खाने रोज मानलाई अब विभिन्न कार्यक्रममा बजाउने निमन्त्रणा आउन थालिसकेको थियो ।
त्यसरी सबैबाट हौसला पाएपछि सङ्गीतमा नै अझै केही गर्न अझै सङ्गीत सिक्नुपर्छ भन्ने उनलाई लाग्यो । एसएलसी दिएपछि उनी ‘प्रयाग सङ्गीत समिति’ नामक भारतीय सङ्गीत संस्थानमा भर्ना भए । तबला मेजर लिएर डिप्लोमा पुरा गरे । उनले आफ्नो सिक्ने हुटहुटी त्यहाँ गएर मेटिन्छ भन्ने आशा बोकेर गएका थिए र त्यही नै भयो । पहिलो दिनमै आफूले नसिकेका कुराहरू त टन्नै पो रहेछन् भन्ने बोध उनलाई भयो । हरेक दिन उनी आज नजानेका थुप्रै कुरा सिकियो भन्दै मक्ख परेर घर फर्किन्थे ।
भारतीय इन्स्टिच्युटमा डिप्लोमा कोर्समा भर्ना भएतापनि उनले प्लस टु पनि सँगसँगै गर्दै थिए । एक दिन उनी कलेज जाँदै थिए । बाटोमा एउटा राजनीतिक दलको कार्यक्रम भइरहेको थियो । कसैले उनलाई रोकेर ‘यस्तो कार्यक्रम हुँदै छ तिमी धिमे बजाउन आऊ न’ भनी बोलाए ।
‘कलेज ड्रेस्मै छु’ भनी उनी अकमकाए ।
‘ए, केही हुन्न आऊ’
सङ्गीत नै त हो भनेर उनले धिमे बजाइदिए । पछि त्यो कार्यक्रम रेकर्ड गरी टेलिभिजनमा देखाइएछ । त्यो भिडियो कलेजका प्रिन्सिपल सम्म पुगेछ । उनलाई कलेजबाट केही दिनका लागि निलम्बन गरियो । यद्यपि त्यसमा उनले चित्त दुखाएनन् र सङ्गीतमै लीन भइरहे ।
उनको बजाउने यात्रा अझै फराकिलो हुँदै गएको थियो । उनी त्यतिबेलासम्म एभरेस्ट क्यासिनो मा गजल बजाउन थालिसकेका थिए । त्यहाँ बजाउँदै गर्दा उनी सङ्गीत सिकिरहेका थिए त्यसैले सानो तिनो गल्ती उनी बाट भइरहन्थ्यो ।
‘भएन है भाइ भएन तिमीले गीत धेरै ध्यान दिएर सुन्नपर्छ है’ त्यहाँ काम गर्ने दिँदी उनलाई हाँस्दै जिस्काउँथिन् । उनी ‘हस’ भन्दै बजाइरहन्थे । त्यसरी महिनौँसम्म बजाइरहेपछिको एकदिन अचम्म भयो ।
त्यो दिन उनले असाध्यै राम्रो बजाए । उनको आलोचना गर्ने त्यही दिँदी आएर उनलाई चुम्बन दिएर गइन् । उनलाई बल्ल आफूमा केही सुधार आएको जस्तो महसुस भयो ।
त्यसपछि पनि गजलमा तबला बजाउने र अनि अन्य गीतहरु गर्ने क्रम भइरह्यो ।
एक दिन उनी सुबानी मोक्तानको कन्सर्ट हेर्न गएका थिए । उनको क्याजोनिस्ट कतै गएर आउँछु भनेर फर्केका रहेनछन् । उनीहरू उसको पर्खाइमा थिए तर एकदमै ढिला भइसकेको कारणले कार्यक्रमको आयोजकले रोज म्यानलाई क्याजन बजाई सुबानीलाई सहयोग गर्न प्रस्ताव गरे । उनी र उनको बाँसुरी बजाउने साथीले त्यो प्रस्ताव स्वीकार गरे । बिना तयारी नै बजाइदिए । त्यसरी मोक्तान परिवार सँगै काम गर्न पाउँदा उनी खुसीले गदगद थिए ।
सुबानी मोक्तानलाई उनीहरूको प्रस्तुति मनपर्याे । उनले कन्सर्ट पछि आफ्ना अन्य कार्यक्रमहरूमा पनि सँगै काम गर्ने प्रस्ताव राखिन् । उनको नम्बर लिएर बिदा भइन् । त्यसको दुई हप्ता पछि सुबानीले उनलाई सँगै प्रदर्शन गर्न बोलाइन् । त्यसरी उनको ठुला कलाकारहरू सँगको सम्पर्क बढ्दै गयो ।
उनले डिप्लोमा सकाइसकेका थिए । एकदिन उनको साथीले उनलाई ज्ञानोदय स्कुलमा सङ्गीत शिक्षक मागेको कुरा सुनाए । आवेदन दिन पनि भने । भर्खरै १२ सकेर बसेका अनि सानो कदको भएको कारण उनलाई सोधियो ‘तपाईँ सक्नुहुन्छ?’
उनले आफू सानै भएतापनी आफ्नो प्रमाणपत्र देखाउँदै सङ्गीतप्रतिको लगाव र समर्पण ठुलो भएको बताए । अन्तर्वार्ता सकेको भोलिपल्ट नै फोन आयो । उनी शिक्षक छानिए ।
त्यहाँबाट पढाउने यात्रा सुरु गरेका उनी अहिले पनि ज्ञानोदय स्कुलमा नै पढाइरहेका छन् । पहिलो दिन पढाउन जाँदा उनलाई पढाउन सक्ने हो कि नसक्ने हो भन्ने डर भएको थियो । कक्षामा प्रवेश गर्न साथ ‘गुड मर्निङ सर’ भन्ने आवाजले झस्काएको पनि थियो । उनले सबैलाई नियालेर हेरे । ती साना बच्चाहरूको मुहारमा झल्किएको सिक्ने इच्छा शक्तिले उनलाई आफ्नो बालपनको याद दिलायो । पछि सिकाउँदै जाँदा उनलाई सिक्न भन्दा सिकाउन सरल भएको जस्तो लाग्यो । आफूले पढाएका विद्यार्थीले कहिले काहीँ सम्झिदा अनि म्युजिकमै केही गरिरहेको कुरा सुनाउँदा उनलाई धेरै खुसी मिल्छ ।
स्कुलमा पढाउन थालेपछि ज्ञानोदय स्कुल १९७४ एडी ब्यान्डका संस्थापक निराकार याक्थुम्बाको आमाको रहेछ भन्ने थाहा पाए । उनकै आमा त्यहाँ प्रधानाध्यापक पनि हुनुहुन्थ्यो । आमामार्फत नै निराकारले रोज मानको बारेमा सुनेका रहेछन् । उनलाई मोक्षमा पठाइदिन भनेका रहेछन् । उनी मोक्ष पुग्दा १९७४ एडी ब्याण्डका केही सदस्यहरू सँगै थिए । उनीहरूले उनलाई बजाउन आग्रह गरे । उनले उनीहरूको लागि तबला बजाइदिए । पछि उनले उनीहरूसँग फल्कर्स प्रोजेक्टमा काम गर्ने मौका पाए ।
त्यस प्रोजेक्टको अन्तिम दिन उनले १९७४ ब्यान्डसँग काम गर्न आफू साँच्चिकै इच्छुक रहेको बताउँदै यस्तो कुनै प्रोजेक्ट भए उनलाई फोन गर्न अनुरोध गरेका थिए । त्यसको एक महिनापछि निरकारले फोन गर्दै रोज मानलाई आफ्नो ब्यान्डको ‘न्यु लाइन अप’मा सामेल हुन बोलाए । त्यसरी उनी सन् १९७४ एडी द न्यु लाइनअपको सदस्य पनि बने ।
उनलाई आफ्नो गिग हुँदा ‘प्यार हुन्छ’ भन्ने गीत गाइरहन्थे । त्यो उनी आफैँले रचना गरेका थिए । उनका साथीहरूले उनलाई यो गीत उनीहरूकै लागि भए नि रेकर्ड गर्नु पर्छ भन्ने गर्थे । उनीहरूलाई नै सुनेर उनले त्यसलाई आफ्नो पहिलो गीतको रूपमा रिलिज गरे । उनको ठाउँमा सबैले मन पराए । तीन वर्षपछि, उनले आफ्नो दोस्रो गीतको रूपमा ‘सालुगु गाचा’ बोलको नेवारी गीत लिएर आए । जुन नेवारी समुदायले मात्र नभई सबै नेपालीले रुचाए ।
आफ्नो सङ्गीत अनि ज्ञानोदयमा पढाउनेबाहेक उनी खोकनाबासी कुटुपुखु भजन खल: मा पनि सङ्गीत सिकाउँथे । उनीसँग सिक्नेहरू चालिस वर्षमाथिका आमाहरू हुन्थे । त्यहाँ उनी तबला सिकाउँथे भने गायक बिबिन्द्र डंगोलले हार्मोनियम सिकाउँथे । भजन घरका संस्थापक एक कजी थिए जो सधैँ जसो ‘सालुगु गाचा’ भन्दै दुई लाइन गीत गुन्गुनाउदै घुम्ने गर्थे ।
‘सालुगु गाचा सालेमते’ बोलको नेवारी मनमोहक धुन सयौँ वर्ष पुरानो धुन हो । यो गीतको दुई लाइनहरू भन्दा थप कसैलाई थाहा थिएन । झन्डै लोप भइसकेको अवस्थामा रहेको यस धुनलाई गीतमार्फत पुनर्जीवन दिएर यसलाई नयाँ पुस्तामाझ पुर्याउने उनले सोचे । बिबिन्द्र डंगोललाई आफ्नो आइडिया सुनाए ।
त्यसपछी बिबिन्द्र डंगोलले अरु शब्द राखी गीत लेखे र रोज मानले गीतमा संगीत संयोजन गरे ।
एक दिन उनी आफ्ना साथीहरूसँग बसिरहेका थिए । हातमा गिटार थियो । स्ट्रिंग खेलाउँदै गर्दा एउटा नयाँ धुन बज्यो । उनी त्यसैसँग खेलिरहे । उनको वरपर भएका सबैलाई त्यो धुन मन पर्यो । उनले ‘सालुगु गाचा’मा यही सङ्गीत भर्ने निर्णय लिए ।
उनीहरूले भजनका सबै आमाहरूलाई छ देखि सात महिना गीत सिकाएर आफू र बिबिन्द्र मिलेर गीत रेकर्ड गरे । यही धुनमा आधारित रहेर बनाइएको यस्तो प्रकारको गीतलाई नेपाल भाषामा ‘ध्याच्छु’ (दोहोरी जस्तै) भनिने भएकोले उनले सालुगु गाचा एक ‘ध्याच्छु’ गीत बनाए ।
अहिलेको समयमा गीत रेकर्ड गरेर मात्र हुँदैन भन्ने उनीहरूलाई थाहा थियो । त्यो भएर उनीहरूले म्युजिक भिडियोको पनि योजना बनाउन थाले । गीत रेकर्ड गर्नका लागी र भिडियो बनाउनको लागि भजन सिक्न आउने आमाहरूबाट एक-एक हजार उठाउने निर्णय गरे र थप पैसाका लागी प्रायोजकहरू खोज्न तिर लागे । प्रायोजक खोज्ने काममा धेरैले ‘नेवार गीत निकालेर कामनै छैन, कसले सुन्छ र ?’ पनि भनेका थिए । तर उनी रोकिएनन् ।
त्यही क्रममा निर्देशक बने गगन राज डंगोल । म्युजिक भिडियोको लागि लोकेसनको रूपमा भक्तपुर छानियो । र पटकथा निर्देशक गगन राज र मोनाले लेख्ने भए । मोडलका लागि टिकटक कलाकार नेरिशा महर्जन र थिएटर कलाकार मनोज महर्जनलाई ल्याउने निर्णय गरे ।
भिडियो तयार भयो ।
उनले त्यसलाई आफ्नै च्यानलमा राखे ।
गीतले तहल्का मच्चायो । अपलोड गरेको तीन दिनमै करिब एक लाखले हेरे । हेर्नेहरूले मनपराए । त्यति भ्युज पुग्नु नेवारी गीतको लागि ठुलो कुरा थियो ।
दसैँको समयमा गीत ल्याएको भएर पनि हुनसक्छ गीतको भ्युज बढेको बढ्यै गर्यो । सेयर गरेर उनलाई ट्याग गर्नेहरू बढे ।
नेवारी गीत सुन्ने वा हेर्न दर्शकको सङ्ख्या कम थियो । नेवारी सङ्गीत उद्योग त्यति ठुलो पनि हैन । तर पनि गीतले नेवारी सङ्गीतमा सबैभन्दा चाँडो मिलियन भ्युज पुगेको रेकर्ड नै बनायो ।
हरेक कार्यक्रममा बज्ने गीतहरू एउटै खाले भएकाले उनलाई नयाँ गीत लिएर आउनुपर्छ भन्ने भएको थियो । नेवारी सङ्गीतलाई अगाडी बढाउनु पर्छ भनेर उनले हराइसकेको ‘सालुगु गाचा’ गीतलाई पुनर्जीवन दिए । मानिसहरूले त्यसलाई अपनाइदिए ।
यो गीत पछि आधुनिक तर पुरानो गीतको टच पनि भएको गीत बनाए अहिलेको युवापुस्ता देखि बुडा पाखा सबैको मन छुने रहेछ भन्ने उनलाई लागेको छ । ‘सालुगु गाचा’ दोहोरी शैलीको भएकोले पनि सबै यसमा रमाएका हुन् भन्ने उनको अनुमान छ ।
एक दिन उनी आफ्ना साथीहरूसँग स्यान्ड बिच गएका थिए, त्यहाँ उनीहरू सबै जनासँग रमाइलो गर्दै नाचिरहेका थिए । अचानक उनको गीत सालुगु गाचा बज्यो । वरपरका सबै मानिसहरू त्यो गीतमा नाच्दै झनै कराउन थाले ।
आफ्नो सिर्जनालाई हजारौँले माया गरेको देखेर उनी भावुक भए । त्यो पल उनको लागि अविस्मरणीय थियो । त्यो दिन उनी आँखामा खुसीको आशु र मनमा सन्तुष्टि लिएर फर्किए । बाटोमा पटक पटक गुन्गुनाइरहे,
सालुगु गाचा साले मते
खाईसी झमसी ह्याके मते
माया यायेगु तोते मते
माया यायेगु तोते मते
माया यायेगु तोते मते……………..
सबै फोटोः आदेश थापा
गीतको भिडियो हेर्नुहोस् :