जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता हो : मन्त्री किराँती
काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता भएको बताएका छन् ।
बिहीवार राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री किरातीले जहाज खरिद गर्नु आफ्नो निजी स्वार्थको विषय नभएको बताए । उनले जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता भएको उल्लेख गरे । दुर्गम क्षेत्रमा विमानस्थलहरु बनेपनि त्यस क्षेत्रमा उड्ने हवाइजहाजको कमीले नियमित उडान गर्न नसक्दा विमानस्थलको औचित्यमाथि नै प्रश्न उठेको उनको भनाइ छ ।
दुर्गम क्षेत्रमा उडान गर्दा नाफा नहुने भएकोले निजी क्षेत्र त्यसतर्फ उडान सञ्चालन गर्न आकर्षित नदेखिएको उनले बताए । नेपाल वायु सेवा निगमले तिनवटा साना जहाज खरिद गर्ने प्रक्रिया अगाडी बढाएको पनि उनले जानकारी दिए ।
कुन प्रक्रियाबाट खरिद गर्ने भन्नेकुरा निगमकै विज्ञ र पदाधिकारीले निर्धारण गर्ने कुरा भएको उल्लेख गर्दै उनले आफूले नेपालको प्रचलित कानून अनुसार पारदर्शी ढंगले जहाज खरिदको प्रक्रिया अघि बढाउन निर्देशन दिएको बताए ।
देशका विभिन्न स्थानमा विमानस्थल निर्माणको माग भएको उल्लेख गर्दै विमानस्थलको संख्या थप्ने भन्दा पनि सेवा र गुणस्तर बढाउनेमा जोड दिनुपर्ने बताए ।