यस्ता पो जनप्रतिनिधि : वडाभरिका नागरिकलाई नि:शुल्क एम्बुलेन्स
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १३ ले नि:शुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ । वडाध्यक्ष किरण बरालले विहीबारदेखि नि:शुल्क एम्बुलेन्स सेवा सुरु गरेका हुन् । वडाका सबै विरामी नागरिकले पोखराका जुनसुकै अस्पतालमा पुग्दा पनि एम्बुलेन्सको भाडा तिर्न नपर्ने बरालले बताए ।
‘आज पनि सामान्य विरामी हुँदा उपचार गर्ने खर्च नागरिकसँग छैन,’ उनले भने, ‘अस्पताल पुग्न एम्बुलेन्सलाई तिर्ने भाडा छैन । महानगरभित्र बसेर पनि महानगरबासीको महसुस गर्न पाउनुभएको छैन । आज सानो खुसीको खबर तपाईंहरुलाई, पोखरा १३ ले आजैका दिनदेखि नि:शुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्न लागेको खबर सुनाउन पाउँदा खुसी लागेको छ ।’
यसअघि पनि उनले छात्रवृत्तिदेखि जेष्ठ नगारिक र अपांगता भएकाहरुका लागि विभिन्न कार्यक्रम ल्याएका थिए । एम्बुलेन्स सञ्चालनका लागि वडाले वार्षिक ४ देखि ५ लाख खर्च गर्ने बरालले सुनाए ।
‘एम्बुलेन्स नि:शुल्क चलाउँदा वर्षमा ४ देखि ५ लाख हुने अनुमान छ । त्यो रकम वडाले व्यहोर्छ,’ उनले भने, ‘हामी अन्य सहयोगी पनि खोजिरहेका छौँ ।’ एम्बुलेन्स सेवाका लागि विरामी वा आफन्तले खबर गर्नुपर्छ ।
वडामै भएका स्वास्थ्य संस्थालाई प्रभावकारी र उपकरणयुक्त बनाउने अभियानमा आफू लागेको बरालले सुनाए ।
‘वडाकै स्वास्थ्य संस्थालाई पनि कामयावी बनाउने योजना छ । हाम्रा सरकारी स्वास्थ्य संस्थाहरुमा उपकरण, औषधी र डाक्टरको अभाव छ,’ उनी भन्छन्, ‘तैपनि सकेजति सुधार गर्दैछौँ । सामान्य उपचार वडामै हुने र रिफर गर्नुपर्दा नि:शुल्क एम्बुलेन्समा पठाउछौँ ।’
महानगरभित्र तुलनात्मक रुपमा विकट वडा भएकोले त्यहाँका नागरिकहरु बिरामी हुँदा एम्बुलेन्स वा निजी गाडी रिजर्भ गरेर अस्पताल जानुपर्ने बाध्यतामा छन् ।
बरालले आफ्नो काममा टिप्पणी गरिदिन पनि आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत आफूले प्रतिबद्धता जनाएअनुसार काम भए नभएको टिप्पणी गरिदिन आग्रह गरेका हुन् ।
‘मैले सँधै आफूलाई तपाईंको सेवक ठानेको छु । बरु मैले गरेका काम र व्यवहारले तपाईंहरुलाई कस्तो लागिरहेको छ ?,’ उनले भने, ‘सल्लाह र सुझाव पनि दिँदै गर्नुहोला । गलत भएको ठाउँमा खबरदारी गरिदिनुहोला ।’
बरालले केही समयअघि आफू निर्वाचित भएको १ वर्षभित्र गरेका कामहरुबारे सार्वजनिक गरेका थिए ।