मकालु फिचर

दिव्या ढकाल भन्छिन्- ‘एक्लै हिँड्दा अरू कसैको भरमा हिँड्न पर्दैन’

बिदा पाउन अनेक पापड बेल्नुपर्‍यो । सार्वजनिक बिदा र शनिवारका दिन पनि अफिस धाउनु पर्‍यो । तर त्यो सबै गरेर दिव्याले अफिसबाट आठ दिनको बिदा लिइसकेकी थिइन् । 

उनको योजना थियो बढीमालिका जाने । एक्लै । सन् २०१९ को कुरा हो यो । 

उनी पहिलाबाट घुमिरहेकी हुन्थिन् । स्कुलमा हुँदा साथीहरूलाई लिएर अनेक ठाउँ गइरहेकी हुन्थिन् । आफ्नै तरिकाले घुम्न उही बेलादेखि मनपर्थ्यो । कलेजबाट दार्जिलिङ सिक्किम टुर लगेको बेला उनी र तीनजना साथीहरू भने मनाङको थोराङ्ला पास ट्रेकिङ गएका थिए । 

तर उनले काम गर्न थालेसँगै धेरै कुरा फेरियो । उनलाई बढीमालिका जान मन थियो । तर सबै साथीहरूको एकैपल्ट नमिल्ने भयो । अनि टाढाको गन्तव्य खर्च धेरै लाग्ने भएकाले सबैलाई उही बेला रकम जुटाउन पनि अफ्ट्यारो भयो । चार पाँच वर्ष अगाडिको कुरा भएकाले सबैको परिवारले आफ्ना छोराछोरीलाई त्यति परसम्म जान दिइहाल्न पनि अफ्ट्यारो । 

उनले एक्लै जाने निर्णय लिइन् । 

त्यसैले बाजुरामा खाने बस्ने सबै बन्दोबस्त घरैबाट मिलाइन् । पोखराबाट नेपालगन्जसम्म बसमा गइन् । अब त्यहाँबाट जहाजमा बाजुरा पुग्ने पर्खाइ थियो । तर मौसमले साथ दिएन ।

एक दिन, दुई दिन, तीन दिन । उनी लगातार मौसम खुल्ने आसमा एयरपोर्ट धाइरहिन् ।  तर हरेकपल्ट निराशा मिल्यो । 

आठदिनको बिदा पाँच दिनमा झरिसकेको थियो । पर्खिने धैर्य घट्दै गएको थियो । 

‘ताल्चा उड्छ भने ताल्चा उडाइदिनु, सिमिकोट उड्छ भने सिमिकोट उडाइदिनु, कोल्टी उड्छ भने कोल्टी उडाइदिनु, जुम्ला उड्छ भने जुम्ला उडाइदिनु ।’ अति भएपछि उनले एयरपोर्टका मान्छेहरूसँग रुँदै रुँदै भनिन् । 

तर टिकट पाउन मुस्किले हुने क्षेत्रमा भन्नासाथ उनको कुरा कसले सुन्ने ?

भोलिपल्ट उनलाई एक्कासि एउटा फोन आयो । ‘पन्ध्र मिनेटमा एयरपोर्ट आऊ, ताल्चा उड्ने भयो रे’ फोनमा उनका अङ्कलको आवाज थियो । उनी झोला कसेर दौडिहालिन् । एयरपोर्ट पुगेको दस पन्ध्र मिनेट मै उडान भयो । 

उनी सोच्दै नसोचेको रारा जाने भइन् । 

रारा यात्रा

पहिलो एक्लो यात्राले जाने ठाउँ समेत फेरिदियो । खाने बस्ने कुनै तयारी नगरेको ठाउँ । 

ताल्चा एयरपोर्टमा झरेपछि उनी अलमलमा परिन । अब कता जाने होला, के गर्ने होला भन्ने भयो । प्लेन बाट झरेर अरू सबै मान्छेहरू उकालो तर्फ लागेको देखेपछि त्यही बाटो नै जाने होला जस्तो लाग्यो । उनी तिनीहरूको पछि पछि हिँड्न थालिन् । 

बिस्तारै मान्छेहरू उनीसँग गफ गर्न थाले । 

‘तिमी साँच्चै एक्लै आएको हो ?’ 

‘हो ।’

‘छोरी मान्छे भएर एक्लै हिँड्न डर लाग्दैन ?’

‘लाग्दैन ।’ 

उनलाई मनमा अलिअलि डर लागेको त थियो । तर लुकाइन् । 

त्यो एक्लो यात्राले उनलाई धेरैथोक दियो । मुख्य त एक्लै घुम्न सक्ने रहेछु भन्ने सिकायो । अनि घुमेका ठाउँका मान्छेहरूसँग पनि राम्रोसँग घुलमिल हुन सकेको महशूस भयो । 

उनी बसेको होटलका मालिकले उनी एक्लै रारा आएको थाहा पाएर असाध्यै माया र स्याहार गरे । राम्रो सँग खाना खाएको छ कि छैन, टाउको दुखेको छ कि छैन भन्दै सोधिरहे । 

अझ राति एक्लै डर लाग्छ कि भनेर होटलको दिदीले साथै आउनुपर्छ कि भनेर पनि सोधिन् । उनले पर्दैन भनेपछि फर्किइन् । 

उनले बढीमालिका जाने योजना बनाएपछि परिवारबाट आएको प्रतिक्रिया सम्झिइन् । ‘पश्चिमको मान्छे भरोसाको हुँदैनन् । एकतिर सोध्यो भने अर्कोतिर देखाइदिन्छन् । पढेको हुँदैनन् । पश्चिमतिर नजाऊ पूर्व भए जाऊ ।’

तर रारामा सेवा पाएपछि भने परबाट हेर्दा देखिने ठाउँ र पुग्दा देखिने ठाउँमा कति अन्तर रहेछ देखिन् । अनि सोचिन् ‘धन्न मैले परिवारको कुरा सुनिँनछु ।’  

उनलाई हिँड्ने बेलामा त्यस्तो सबै हुन्छ भन्ने लागेको थिएन । तर घुमिसकेर थाहा भयो एक्लै घुम्ने भनेको त खासमा भनाइ मात्र रहेछ । खासमा एक्लै घुम्दा त झन् धेरैसँग घुमिने रहेछ । 

रारा जस्तो विकट ठाउँ एक्लै घुमिआएपछि उनलाई आफूदेखि धेरै गर्व लाग्यो । आफू अझै निडर र साहसी भएको जस्तो महसुस भयो । 

‘त्यहाँ त जान सकेँ भने अन्त पनि त सक्छु नि’ जस्तो भयो । 

त्यसपछि उनको यात्रा रोकिएन । नयाँ नयाँ ठाउँको एक्लै यात्रा गर्दै । आफ्नो भिडियो आफैँ बनाएर इन्स्टाग्राममा हाल्दै । बिहानको सूर्यलाई भेट्दै । दौडिँदै । हाँस्दै । रमाउँदै । उनी घुमिरहिन् । 

मेरा पिकबाट फर्किँदै गर्दा बाटोमा

त्यही क्रममा उनको यात्रामा जोडिनेहरू भए । उनलाई पछ्याउनेहरू भए । इन्स्टाग्राममा सुरुसुरुमा त आफूले चिनेका मात्र थिए । बिस्तारै नचिनेकाहरू पनि पछ्याउने भए । उनको यात्रामा आफूलाई पाउनेहरू भए । भलै इन्स्टाग्राममा फोटो वा भिडियो हाल्नु उनको मुख्य रुचि हैन । उनको मुख्य रुचि त यात्रा नै गर्नु हो ।  

उनले ‘मेरा पिक’ र ‘चुलु हिमाल’ चढिन् । मकालु बरुण राष्ट्रिय निकुञ्ज, इलाम कन्याम हुँदै सन्दकपूर, पुनहिल, अन्नपूर्ण बेस क्याम्प, मर्दि हिमाल, अपर मुस्ताङ, मुल्डे, माछापुच्छ्रे मोडेल ट्रेक, खोप्रा डाँडा, घोरेपानी, रारा, जुम्ला, अछाम, अन्नपूर्ण सर्किट, अन्य लगायतका ठाउँहरू पुगिसकेकी छन् । पहाड चढ्ने मात्र हैन खोला, पोखरी र तालमा हाम्फालेर पौडिने पनि गरिसकेकी छन् । उनको इन्स्टाग्राम प्रोफाइल हेर्‍यो भने पनि धेरै कुरा थाहा हुन्छ । 

किन गर्छिन् त उनी यात्रा ?

उनी भन्छिन् ‘यात्रा गर्दा केही वाधा, अड्चनले नबाँधेको र आफू पुरै स्वतन्त्र भएको झैँ लाग्छ । खुला आकाश, हिमाल, पहाड, झरना, पोखरी र तालमा हुँदा आफू घर र आफू वरिपरिको दुनियाँ भित्र कैद भएको छैन जस्तो हुन्छ ।’

काठमान्डौमा हुँदा उनलाई आफ्नो पारिवारिक र आर्थिक जिम्मेवारीले समाइहाल्छ । तर एकै छिन सहर बाहिर प्रकृतिमा समय बिताउँदा मन र मस्तिष्कमा खेलिरहने हरेक कुरा बादल आकाशमा उड्न गएको झैँ लाग्छ । 

उनी कुनै पनि ठाउँ भ्रमण गर्दा त्यस ठाउँको प्रकृति मात्र नभएर स्थानीय बासिन्दाहरू सँग पनि समय बिताउने गर्छिन् । उनीहरूको सामीप्यमा त्यस ठाउँको स्नेह मिसिएको पाउँछिन् । भन्छिन् ‘स्थानीय बासिन्दा सँग समय बिताउँदा त्यस ठाउँको भरपुर अनुभव लिन मद्दत गर्छ ।’ उनीहरूको दिनचर्या नजिक बाट बुझ्दा आफू पनि त्यस ठाउँको जनजीवन जिएको जस्तो उनलाई लाग्छ । त्यस ठाउँ सँग अझ बढी लगाव बन्छ । 

अन्नपूर्ण सर्किट ट्रेल, मनाङ

यात्रा गर्दै जाने क्रममा उनको बानी परि फेरिँदै गएको छ । पहिला पहिला घुमेकै बेला इन्स्टाग्राममा अपलोड गर्थिन् ।  अहिले फर्किएपछि मात्र गर्छिन् । इन्स्टाग्रममा उनका अठार हजार भन्दा बढी फलोवर्स छन् । उनका पोस्टहरू देखेर थुप्रै मान्छेहरूले उनलाई थरिथरिका मेसेज पठाउने गर्छन् । कतिले दिव्यालाई विभिन्न ठाउँहरूको बारेमा सोध्न मेसेज गर्छन् भने कतिले उनलाई ‘धनी बाउ कि छोरी कति पैसा उडाएकी’ भन्दै पनि मेसेज गर्छन् । 

मान्छेले भन्ने कुराको पनि उनलाई धेरै मतलब लाग्दैन । 

यात्राको क्रममा उनले खोज्ने चिज पनि समय क्रममा फेरिँदै गएको छ । भन्छिन् ‘पहिला भ्यु र ल्याण्डस्केपको लागि मात्र घुमेको जस्तो लाग्थ्यो । अरू धेरै कुरा बुझ्ने हुँदैन थियो । अहिले जुनसुकै ठाउँको जीवनशैली, मानिस, अनि संस्कृतिलाई बुझ्न मन लाग्छ । आफ्नो यात्रालाई गयो र आयोमा सीमित पार्न मन लाग्दैन ।’

यात्राले उनलाई अझै परिष्कृत मान्छे बनाएको छ । सबैभन्दा धेरै त विनम्र बनाएको छ । आफ्नो सोचाइको क्षितिज फराकिलो भएको छ । हरेक ठाउँको अवस्था अनुकूल हनु, अनि हरेक परिस्थिति स्विकार्न सक्ने बनाएको छ । सबै ठाउँमा आफूले भनेको जस्तो हुँदैन भन्ने भएपछि यो भएन त्यो भएन भन्ने बानी पनि कम भएको छ ।

अनि धेरै कुराहरूमा निर्णय लिन पनि सहज बनाएको छ । 

साथै नयाँ ठाउँमा पुग्दै गर्दा उनले धेरै दुःख पनि देखेकी छन् । धेरै कठोर अवस्था भएका मान्छेहरू देख्दा ‘मेरो बसमा भए सबै दिदिन्थेँ’ भन्ने जस्तो पनि बनाएको छ । 

अनि त्यो बाहेक अरू धेरैलाई पनि घुम्न प्रेरित गरेको छ । 

‘अब्बुइ तपाइ दिव्या ढकाल हैन ?’ कास्की जिल्लामा अवस्थित कुपुचे ताल पुग्न हिँड्दै गर्दा पछाडि बाट एउटा आवाजले बोलायो । 

‘हो’ उनले अचम्मित हुँदै जवाफ फर्काइन् । 

‘म तपाइलाई इन्स्टाग्राममा फलो गर्छु । अनि यो ट्रेक पनि हजुर बाटै एक्लै आउने प्रेरणा पाएर आएको’ 

ती बहिनी पनि एक्लै कुपुचे ट्रेक आएकी रहिछन् । सँगै फोटो खिचेर उनी बिदा भइन् । 

त्यो क्षण उनी कहिल्यै भुल्दिनन् । 

त्यस्तै घटनाहरूले अझै धेरै यात्रा गर्ने बनाइरहेको उनलाई आजकाल अझै ठूलो जिम्मेवारी निभाइरहेको जस्तो लाग्छ । सामाजिक सञ्जालमा हजारौँले पछ्याएकाले कुनै पनि ठाउँ घुम्दा त्यहाँ को बारेमा अरूलाई पनि बताउनु आफ्नो कर्तव्य हो जस्तो लाग्छ उनलाई । त्यो कुराले भिडियो बनाउँदा पनि उनलाई आफ्नो कुरा भन्ने मात्र नभएर अरू यात्रुहरूलाई सजिलो हुनेगरि कुराहरू भन्ने बनाएको छ । भन्छिन् ‘कुनै त्यस ठाउँमा फोटो र भिडियो मात्र खिच्ने नभएर त्यस ठाउँको पर्यटनलाई बढाउन मद्दत गर्ने भन्ने कुरा पनि सोचिरहेको हुन्छु ।’ 

एभरेष्ट बेस क्याम्प ट्रेल

एक्लै यात्रा गर्ने भएकाले उनी ट्राइपडको मद्दत लिएर भिडियो र फोटो खिच्छिन् । आफूसँग ट्राइपड नभएको बेला ढुङ्गा वा ब्यागमा मोबाइल अड्याएर खिच्थिन् । कहिलेकाहीँ बाटो हिँड्नेले पनि खिचिदिन्छन् ।

भ्रमण गर्दा दिव्याले स्थानीय बासिन्दाबाट कहिल्यै पनि अभद्र व्यवहार भोगेकी छैनन् । छोरी मान्छे भएर एक्लै भ्रमण गर्दा जोखिम हुन्छ जस्तो पहिला लाग्थ्यो तर यात्रामा त्यस्तो असहजता भोगेको अनुभव नभएकाले त्यो पनि हैन जस्तो उनलाई लाग्छ । 

तर कहिलेकाहीँ लामो यात्रा गरेको समयमा बिच बाटोमै महिनावारी हुँदा चाहिँ एकदम अप्ठ्यारो हुने गर्छ । आजभोलि ‘मिन्स्ट्रल कप’ को प्रयोग गर्न थालेपछि केही हद सम्म त्यसमा पनि सजिलो भएको छ । 

कतै कतै घुम्न आएका अरू टोलीका केटाहरूले आफूलाई असहज हुने गरी घुरेर हेर्ने र जिस्काउने गर्छन् । तर यस्तो हुँदा एकदम निडर भएर कराउने गर्छिन् ।

त्यसरी कराउने हिम्मत पनि उनलाई यही यात्राले नै दिएको हो । 

नेपाल र विशेषगरी यसको हिमाली भेग जाँदा मौसम, उचाइ र म्याप, नेभिगेसन, हेर्ने अनि अनि जानुभन्दा पहिला राम्रोसँग रिसर्च गर्ने हो भने कोही साथी होस् या नहोस् यात्रा गर्न सहज भएको उनलाई लाग्छ । उनको अनुभव अनुसार पूर्व देखि पश्चिम सम्मका स्थानीय बासिन्दाहरू अत्यन्तै सहयोगी छन् । हरेक अफ्ठेरा परिस्थितिहरूमा मद्दत गर्न हरपल अघि सर्छन् ।

गोक्यो ताल

‘मान्छेको डर त त्यहाँ नपुगुन्जेल मात्र लाग्ने हो ।’

‘अनि पढाइ, परिवार, जागिर जस्ता जीवन बाँध्ने कुराहरूले रोक्दैनन् ?’

‘त्यसले असर त पार्छ तर समय निकाल्न सकिन्छ ।’

उनी सबै महिलाले एकल यात्राको अनुभव एक पटक भएपनि जीवनमा लिनैपर्छ भन्छिन् । एकल यात्रामा हिँड्दा अरू कसैको योजना अनुसार हिँड्नु पर्दैन । जता राम्रो देख्यो त्यता रोकिएर फोटो खिच्न नि मिल्यो, स्थानीय सँग दिनभरि बात मारे नि भयो । पुरै स्वतन्त्र भएर डुल्न पाइन्छ । 

भन्छिन् ‘महिलाहरूलाई अरू माथि निर्भर हुन बाध्य बनाएको समाजिक मान्यताहरूलाई पन्छाउँदै एक्लै यात्रा गर्दा उनीहरूमा परनिर्भरता, आत्मविश्वास र आँट बढ्न जान्छ । जुन कुरा यात्रा बाहेक जीवनका हरेक कुरामा काम लाग्छ ।’ 

चुलु हिमालको चुचुरो नजिकै
मोहोरे डाँडा

चिमारा मालिका जुम्ला

सबै फोटो: दिव्या ढकालको संग्रहबाट

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *