एलओडीका म्यानेजर थुनिए, सञ्चालक छुटे
जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेर बुझाएका लर्ड अफ ड्रिम्स (एलओडी) क्लबका दवै सञ्चालकलाई काठमाडौं परिसरले छाडेको छ।
क्लबका म्यानेजर सहदेव राईलाई थुनामा राखेर सञ्चालक रुदिल बल्लव श्रेष्ठ र राजुसिंह सुवाललाई छाडिएको काठमाडौं परिसरका प्रवक्ता एसपी सिताराम रिजालले बताए।
बालिकालाई नाइट क्लबमा प्रवेश गर्न दिएको आरोपमा ललितपुर प्रहरी परिसरले क्लबका सञ्चालकलाई पक्राउ गरेको थियो।
उनीहरुविरुद्ध बालबालिका ऐन सम्बन्धि कसुरमा कारबाही गर्न अदालतबाट म्याद लिइएको थियो। तर प्रहरी र सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा छाडेका हुन्।
बालिका क्लबमा प्रवेश गरेकै घटनामा पक्राउ परेकी रेसेप्सनकी कर्मचारी सपना ढुंगानालाई पनि शुक्रबार छाडिएको छ। उनको स्वास्थ्य अवस्थाका कारण छाडिएको प्रहरीको भनाई छ।
एलओडीमा प्रवेश गरेकी एक नाबालिगलाई ललितपुर लगेर बलात्कार गरेको जाहेरी परेपछि प्रहरीले क्लब सञ्चालकलाई पनि कारबाहीको दायरामा ल्याएको हो।
उनीहरुलाई छाडिए पनि मुद्दा चल्ने नचिल्ने भन्ने निर्णय भइसकेको छैन।
नाबालिग बलात्कारको आरोपमा कास्कीका ४९ वर्षीय सुदनबहादुर कोइराला पक्राउ परेका थिए। उनलाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।