मकालु अनुवाद

‘म मेरो आमा जस्तो पीडित हुन चाहन्न’ : चिलीयन लेखक इजबेल आलियण्डे

इजबेल आलियण्डेले आफ्नो पहिलो उपन्यास मृत्युनिकट पुगेका आफ्ना हजुरबुबालाई लेखेको चिठीको रूपमा लेखिन् । यो अन्तर्राष्ट्रिय वेस्ट सेलर बनेतापनि उनलाई आफ्नो दैनिक काम छोडेर पूर्णकालीन लेखक बन्न भने अर्को उपन्यास नै लेख्नुपर्‍यो । अहिले त उनको लेखनको सूचिमा २० भन्दा धेरै किताबका शीर्षक बनिसकेका छन् जसमा पछिल्लो वर्ष सार्वजनिक भएको ‘द जापनिज लभर’ पनि पर्छ । पढ्नुहोस् मकालुखबरको लागि होहंसा खड्काको अनुवादमा एलिसन बियर्डले हार्वर्ड बिजनेस रिभ्युको लागि लिएको अन्तर्वार्ताको सम्पादित अंश ।  

तपाईँ आफ्ना हरेक पुस्तक ‘द हाउस अफ स्पिरिट’ लेखेकै मितिमा लेख्न सुरु गर्नुहुन्छ । किन ?

सुरुसुरुमा यो एकखाले विश्वास भइदियो किनभने मेरो पहिलो पुस्तक असाध्यै भाग्यशाली साबित भयो । तर, अहिले यो अनुशासनको लागि मात्र हो । मेरो जीवन व्यस्त भएकाले मलाई खाली समय पाउन वर्षका केही महिनाहरू छुट्ट्याउनु पर्छ । आफ्नो लागि समय र मौनता भएन भने म कहिल्यै लेख्न सक्दिन । अनि यसो गरेको मेरो वरपर हुनेहरूको लागि पनि हो । त्यसो गर्दा उनीहरूलाई जनवरी ८ आउन साथ अब म उपलब्ध हुन्न भन्ने थाहा भई हाल्छ ।

तपाईँको दिमागमा सधैँ कुनै पुस्तकको सोच जहिल्यै हुन्छ ?

प्राय हुन्छ तर धेरै अस्पष्ट रूपमा हुन्छ । मसँग कहिल्यै पनि स्क्रिप्ट हुँदैन । बरु अनुसन्धान गरेको समय र स्थान हुनसक्छ । उदाहरणका लागि, मैले अनुसन्धान गरेर २०० वर्ष पहिलेको हाइटी दास विद्रोहको बारेमा एउटा कथा लेखेको बेला मसँग कुनै पात्रहरू थिएनन् । न कुनै कथा थिएन न कुनै अन्त्य नै । अरू बेला म सिधै कम्प्युटरको अगाडि बस्छु अनि पहिलो वाक्य आउने समय पर्खिन्छु । त्यो कथाको सुरुवाती वाक्य हुन्छ तर मलाई थाहा हुँदैन त्यो के को बारेमा हुन्छ ।  

त्यहाँबाट कसरी अगाडि बढ्नुहुन्छ ?

बिस्तारै । सुरुका केही हप्ताहरू कठिन हुन्छन्, किनभने मैले अहिलेसम्म कथा भन्ने आवाज, स्वर र अनि कथा हिँड्ने बाटो फेला पारेको हुँदिन । ती झट्टै आएका वाक्यहरू हुन्छन् र मलाई लेख्दै गर्दा थाहा हुन्छ कि तीमध्ये धेरै कथामा जाँदैनन् । तर यो प्रशिक्षण जस्तो पनि हो जसलाई मैले आकार दिनुपर्छ । केही हप्ता पछि पात्रहरू आफै देखा पर्न थाल्छन् र मलाई आफ्ना कथाहरू सुनाउँछन् । त्यसपछि मात्र मलाई आफू सही बाटोमा छु भन्ने लाग्छ ।

त्यो बाटो भेट्न लामो समय लाग्यो के गर्नु हुन्छ ? 

कहिलेकाहीँ मलाइ लाग्छ मैले त्यो कथा लेख्नु पर्ने हैन । तर अधिकांश समय म त्यसैमा पुगिरहन्छु अनि लेखिरहन्छु । त्यसरी प्रयास गरिरहँदा ढिलो चाँडो बाटो भेटिन्छ । मैले आफ्नो सीपमा भरोसा गर्न सिकेको छु । भलै त्यसो गर्न धेरै समय लाग्यो । सुरुमा मलाई प्रत्येक पुस्तक स्वर्गबाट ​​आएको उपहार हो जुन फेरि फेरि फर्केर आउँदैन भन्ने लाग्थ्यो । तर अब, ३५ वर्षको लेखन पछि थाहा भएको छ कि यदि मैले आफैलाई विषय र अनि त्यसको बारेमा लेख्न पर्याप्त समय दिए भने म लगभग जे को बारेमा पनि लेख्न सक्छु । त्यसले मलाई आत्मविश्वास दिन्छ जसले गर्दा म लेखन प्रक्रियाको मस्तले आनन्द लिन सक्छु ।

तपाईँले आफूलाई स्वाभाविक कथाबाचकको रूपमा वर्णन गर्नुभएको छ । प्रतिभा हुनु महत्त्वपूर्ण हो कि अभ्यास हुनु महत्त्वपूर्ण हो ?

मैले केही कलेजहरूमा रचनात्मक लेखन सिकाएको छु । र म विद्यार्थीहरूलाई कथा कसरी लेख्ने भनेर सिकाउन सक्छु, तर कथाबाचनको कला सिकाउन सक्दिन । कथाबाचन सङ्गीत सुन्न सक्ने कान हुनु जस्तै हो । यदि तपाईँसँग त्यो कान छ भने छ, छैन भने छैन । के भन्ने ? कहाँ रोक्ने ? कसरी सस्पेन्स सिर्जना गर्ने ? अनि तीन आयामिक चरित्रहरू कसरी विकास गर्ने ? कस्तो भाषा प्रयोग गर्ने भन्ने जस्तो सुझबुझ कसैले जन्मिँदै लिएर आएको हुन्छ । म सँग बोलेर कथावाचन गर्ने जुन क्षमता छ त्यो अरू सबैसँग छैन । तर म सँग लेख्ने क्षमता थिएन । म तपाईँलाई मौखिक रूपमा कथा सुनाउन सक्थे तर लेख्न सक्दिन थिए । समयक्रममा अभ्यास गर्दै अनि र काम गर्दै मैले त्यो सीप पनि हासिल गरेँ । अब म सँग त्यो सिप छ भन्ने कुराको महशूस मैले भर्खरै मात्र गर्न लागेको छु । 

३९ वर्षको उमेरमा लेखक बन्नुअघि तपाईँले पत्रकार, टिभी होस्ट र विद्यालय प्रशासकको रूपमा काम गर्नुभयो। आफूलाई पुनः आविष्कार गर्ने प्रक्रियाबारे केही कुरा भन्न चाहनुहुन्छ ?

मैले यसलाई छानेको हुँ जस्तो मलाई लाग्दैन । मैले ‘म लेखक बन्छु’ भनेको होइन । यो आफै हुन पुग्यो । चिली मा सैनिक कू भएपछि म राजनीतिक शरणार्थीको रूपमा भेनेजुएलामा बसिरहेको थिएँ । त्यहाँ मैले पत्रकारको रूपमा जागिर पाउन सकिन । त्यसैले एउटा विद्यालयमा काम गरिरहेको थिएँ । मलाई मभित्र धेरै कथाहरू छन् भन्ने लाग्थ्यो तर तिनीहरूलाई भन्न कुनै बाटो भेट्टाइसकेको थिइनँ । त्यसपछि जनवरी ८, १९८१ मा हामीले चिलीमा हजुरबुबा आफ्नो अन्तिम सास फेरिरहनु भएको छ भनेर फोन कल पायौँ । म उहाँलाई बिदाइ गर्न चिली जान सकिनँ । त्यसैले मैले तपाईँले भनेको सबै कुरा सम्झिरहेको छु है हजुरबुबा भन्नलाई चिठ्ठी लेख्न सुरु गरेँ ।

उहाँ एक महान् कथावाचक हुनुहुन्थ्यो । उहाँको मृत्यु भयो – मैले लेखेका चिठ्ठी उहाँले पाउनुभएन । तर म काम पछि हरेक रात भान्सा कोठामा लेखिरहन्थेँ । र एक वर्षमा मसँग ५०० पृष्ठहरू थिए जुन पक्का पनि कुनै पत्र मात्र थिएनन् । त्यही लेखन नै ‘द हाउस अफ स्पिरिट’ बन्यो । पुस्तक प्रकाशित भयो र धेरै सफल भयो । यसले मेरो अन्य पुस्तकहरूको लागि पनि मार्ग बनाइदियो । तर मैले आफूले गरिरहेको काम भने तुरुन्तै छोडिनँ । किनकि मलाई यो लेखन आफ्नो करियर हो जस्तो लागेको थिएन । यो कुनै संयोगले भएको चमत्कार जस्तो लाग्छ मलाई ।

नयाँ करियरमा तपाईँलाई अन्ततः कुन कुराले सुरक्षित बनायो?

म चेक पाइरहेको थिएँ । पुस्तकहरू ३५ भाषाहरूमा अनुवाद गरिएको थियो र हटकेक जस्तै बिक्री भइरहेको थियो । त्यतिबेला बल्ल लेखिरहन सके भने आफ्नो परिवारलाई सहयोग गर्न सक्छु भन्ने मैले महसुस गरेँ ।

तपाईँलाई कुनै बेला आफ्नो प्रख्यात किताबको सफलतालाई नै पछ्याइरहेको छु जस्तो महशूस भएको छ ?

एजेन्ट कारमेन बालसेल्सले ‘द हाउस अफ स्पिरिटको’ पाण्डुलिपि पाएपछि मलाई भेनेजुएलामा फोन गरेर भनिन्, ‘सबैले पहिलो पुस्तक राम्रो लेख्न सक्छन् किनभने उनीहरू आफूसँग भए जति आफ्नो विगत, सम्झना अपेक्षा, सबै कुरा त्यहीँ खन्याउँछन् । खास लेखक दोस्रो पुस्तकमा प्रमाणित हुन्छ ।’ त्यसैले मैले अर्को वर्षको जनवरी ८ मा मेरो दोस्रो पुस्तक लेख्न थालेँ । मलाई आफूले कहिल्यै नभेटेकी एजेन्टलाई लेखक हुन सक्छु भनेर प्रमाणित गर्नु थियो । ‘द हाउस अफ स्पिरिट’को सफलता युरोपमा चलिरहेको बेला नै मैले दोस्रो पुस्तक समाप्त गरिसकेको थिएँ । फरक तरिकाले भनिने भएकाले प्रत्येक पुस्तक फरक चुनौती हो । मैले संस्मरण, ऐतिहासिक उपन्यास, कथा कथा अनि अपराध उपन्यास पनि लेखेको छु । त्यसैले म ‘यो द हाउस अफ स्पिरिट भन्दा राम्रो वा खराब छ?’ भनेर कहिल्यै तुलना गर्दिन । प्रत्येक पुस्तक एउटा अर्पण हो । तपाई त्यसलाई टेबलमा राखिदिनुहुन्छ अनि कसले त्यसलाई स्वीकार गर्छ भनी हेर्नुहुन्छ । 

तपाई आफ्नो निजी जीवन सार्वजनिक गर्न हिचकिचाउनू हुन्छ जस्तो देखिन्छ नि ।

मैले पाउला लेखेपछि मेरी आमाले मलाई भन्नुभयो ‘तिमीले आफ्नो अन्तरङ्ग जीवनको बारेमा धेरै लेख्यौ । तिमी धेरै बेदनीय छौ ।’  मैले भने ‘आमा मैले भनेको सत्यको कारणले गर्दा म वेदनीय भएको हैन बरु मैले राखेको गोप्य कारणले चाही म वेदनीय हुने हो ।’ मेरो जीवन अरू कसैको भन्दा धेरै फरक छैन । मैले कुरा गर्नै नसक्ने कुनै पनि विस्मयकारी काम गरेको छैन । र जब म मेरा भावनाहरू व्यक्त गर्छु, अरू मानिसहरूले पनि मसँग आफ्ना भावनाहरू व्यक्त  गर्छन् । यो कथा र भावनाको आदानप्रदान हो ।

तपाईँको किताबको ध्वानी किन अरू धेरै संस्कृतिहरूमा पनि गुन्जिन्छ जस्तो तपाईँलाई लाग्छ ?

हामी सधैँ भिन्नताहरूमा ध्यान दिन्छौ । छालाको रङ्ग, संस्कृति, भाषा, राष्ट्रियता, आदि इत्यादि कुरामा । तर गहिरिएर हेर्दा मानिसहरू धेरै समान छन् । तिनीहरू सबै एउटै कुराबाट डराउँछन् । तिनीहरू सबै उस्तै कुराहरू  चाहन्छन् । हामी सबैको भित्र एउटै अङ्ग, एउटै दिमाग, उस्तै सपनाहरू छन् । त्यसैले सान फ्रान्सिस्कोमा भएको कुनै बुढेसकालको कथा टर्कीमा पनि सान्दर्भिक सुनिन्छ ।

तपाईँले आफू सधैँ काम गर्न दृढ छु भन्नुभएको छ । किन ?

किनकि म आफूलाई पाल्न चाहन्थेँ । मेरो आमालाई एक पीडितको रूपमा देख्नुले मेरो जीवनलाई धेरै प्रभाव पारेको छ । उहाँ एउटी सुन्दर युवती हुनुहुन्थ्यो जसले गलत मानिससँग विवाह गर्नुभयो । चार वर्षमा तीन वटा बच्चा जन्माउनुभयो । अनि त्यस मानिसले उहाँलाई त्यागिदियो । त्यसैले उहाँ मेरो हजुरबुबाको घरमा बस्न जानुपर्‍यो । उचित शिक्षा वा सीप नभएकाले उहाँ पूर्णतया आफ्नो बुबामा निर्भर हुनुपर्‍यो । म मेरी आमालाई माया गर्छु, र हामी मेरो जीवनभर नजिक नै छौँ, तर म उहाँजस्तो हुन चाहन्न । साथै म घरमा बस्न रुचाउँदिन । मैले मेरा दुई छोराछोरीहरूलाई पनि धेरै माया गर्छु । तर पनि मैले मेरी सासू र धर्मपुत्री हजुरआमालाई उनीहरूलाई हुर्काउने जिम्मा दिएँ । किनकि मलाई संसारमा निस्कनु थियो ।

तपाईँले एक पटक अपराध उपन्यासकार रहेका आफ्ना श्रीमान् (अहिले भूतपूर्व श्रीमान्) सँगै मिलेर पुस्तक लेख्ने प्रयास गर्नुभयो । त्यो कस्तो भयो ? 

मेरो एजेन्टको योजना थियो त्यो तर असम्भव थियो । उनी अङ्ग्रेजीमा लेख्छन्; म स्पेनिस मा लेख्छु । उनको एकाग्र हुने अवधि ११ मिनेटको छ, म ११ घण्टा लेख्छु । म अनुसन्धान गर्छु उनी गर्दैनन् । त्यसरी कुरा नमिलेपछि मैले रिपर किताब लेखेँ । उनले आफ्नै अपराध उपन्यास लेखे । 

सन् २०१३ मा तपाईँले रिटायर हुन बारेमा कुरा गर्नुभएको थियो । अहिले पनि यसको बारेमा सोच्नुहुन्छ ?

त्यो खराब समय थियो । म धेरै थकित थिएँ। मैले धेरै यात्रा गरेको थिएँ ।  मेरा सबै साथीहरू रिटायर भइरहेका थिए र राम्रो जीवन बिताइरहेका थिए । त्यसैले मैले पनि ‘म किन सक्दिन?’ भनेर सोचेको थिएँ । तर अब त म रिटायर हुन सक्दिन । म किन हुने र ? म जे गरिरहेको छु त्यसलाई प्रेम गर्छु । मसँग जुन काम अहिले छ त्यसको लागि म तन्दुरुस्त त जवान हुनु आवश्यक छैन । मैले मेरो दिमाग सही आकार आकारमा राखे पुग्छ ।

Cover Photo Credit: Taylor Miller/BuzzFeed News/Redux

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *