देउवाले बोलाए पूर्वपदाधिकारीसहितको बैठक
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन्।
आफ्नो निवास धुम्बाराहीमा सोमबार अपराह्न ३ बजे बस्ने गरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा पदाधिकारी र पूर्वपदाधिकारीलाई डाकिएको छ।
केन्द्रीय कार्यसमिति बैठक सुरूहुनु अघिल्लो दिन सभापति देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरूसँग छलफल गर्न लागेका हुन्। मंगलबार केन्द्रीय कमिटिको बैठक बस्दैछ।
कांग्रेस केन्द्रीय समिति बैठक एक वर्षपछि साउन २ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ। नीति महाधिवेशन र राष्ट्रव्यापी संगठन सुदृढीकरण अभियानजस्ता विषयमा केन्द्रीय समितिमा छलफल हुनेछ।
उक्त बैठकअघि देउवालाई संसदीय दलको नेताबाट हटाउन महामन्त्री गगन थापाले सार्वजनिक रुपमै अभिव्यक्ति दिँदै हिँडेका छन्। यसबीचमा थापाले विभिन्न जिल्लामा पुगेर छलफल समेत गरेका छन्।
कांग्रेस बैठकमा यस पटक महामन्त्री र देउवा पक्षको चर्काचर्कि पर्ने संकेत देखिएको छ।