पीडापछि प्रचण्डलाई प्रश्न– सुशासकको अवतार बन्ने कि बहुरुपी नै भइरहने ?
पहिलो पटक प्रधानमन्त्री हुँदा पुष्पकमल दाहाल प्रचण्डले २०६६ माघ २९ गते सुनसरीको चतरास्थित धार्मिक स्थल बराह क्षेत्र गएका थिए । त्यस बेला उनी धार्मिक स्थल गएकै कुरा पनि हेडलाइन बनेको थियो । अझ त्यो बेला उनी चतरा मात्र पुगेनन्, रामानन्दाचार्य सेवापीठ चतराधाममा ज्योतिषी मधुसूदन रिजालको सल्लाहअनुसार उनले भैँसी पूजासमेत गरे । आफूलाई धर्मै नमान्ने बताउने प्रचण्डले भैँसी पूजा गरेको कुरा देशभर हँसीमजाकको विषय मात्र बनेन, उनले अवलम्बन गरेको कम्युनिस्ट सिद्धान्तमाथि नै अनेक प्रश्न र शंका गर्ने कारण बन्यो ।
पछिल्लो पटक (तेस्रो पटक) प्रधानमन्त्री बनेका प्रचण्डको पहिलो विदेश भ्रमण चलन चल्तीकै रूपमा भारतबाटै सुरु भयो । तर, उनले यो पटक भारतको राजनीतिक भ्रमण मात्रै गरेनन् । कम्युनिस्ट पार्टीको सिद्धान्तको ठिक उल्टो उज्जैनस्थित महांकालेश्वर मन्दिरमा बडो धूमधामसँग गेरूबस्त्र धारण गरी तामझामले पूजाआजा गरे । उक्त पूजा हेर्दा लाग्दथ्यो, प्रचण्ड कुनै मठका मठाधीश हुन् न कि कम्युनिस्ट नेता । उनले उक्त पूजामा नेपालबाट लगेको भगवान् शिवको प्रिय बस्तु रुद्राक्षसमेत चढाए ।
हुन त उज्जैनस्थित महांकालेश्वर मन्दिरको चलनचल्ती अनुसार आफूले गेरुबस्त्र धारण गरेको र हिन्दु धर्ममा आश्था राख्नेहरुप्रति सम्मान जनाएको बताए । उनलाई भित्री रूपमा चिन्नेहरूले पुत्र प्रकाशको निधनपछि शोक र रोगले थलिएकी पत्नी सीताको स्वास्थ्य लाभको कामनाको खातिर उनले मन्दिरमा पूजा आरधना गरेको भनेर चर्चासमेत गरेका थिए ।
यसलाई थप पुष्टि गर्न भारत भ्रमण र उज्जैनस्थित महांकालेश्वर मन्दिर भ्रमणपछि उनी हिन्दुहरूका आराध्यदेव पशुपतिनाथमा पनि दलबलसहित पुगेर पूजा गरे । चारधाम वा अन्य कुनै ठुलो तीर्थस्थलबाट आएपछि त्यहाँबाट ल्याएको जल तथा प्रसाद पशुपतिनाथमा ल्याएर चढाउनुपर्छ भन्ने मान्यता रहेको छ, त्यही धार्मिक मान्यता अनुसार उनी महांकालेश्वर मन्दिरबाट ल्याएको जल तथा प्रसाद चढाउन पशुपतिनाथसमेत पुगेको भन्ने भनाई धेरैको रह्यो।
यसरी उनले गरेका विभिन्न मठ मन्दिरको दर्शनलाई पछिल्लो पटक मानिसहरुले भैँसी पूजादेखि मुर्रा पूजासम्म भनेर उनलाई खिसिट्युरी पनि गरे । प्रचण्डले राजनीति होस् या समाजनीति जहाँ पनि अलि छुट्टै र नयाँ गर्न खोज्छन् । आफ्ना सबै खाले सल्लाहकारको कुरा सुन्छन्, यसैको परिणामस्वरूप चर्चामा पनि परिरहेका हुन्छन् । उनलाई माया गर्नेहरू प्रचण्ड धेरै नम्र स्वभावका र नाइँ भन्न नसक्ने स्वभावका भएकाले प्राय चर्चामा आइरहने काम गर्न पुग्छन् भनेर टिप्पणी गर्नेहरु पनि छन् ।
प्रायस् अन्य धर्मावलम्बीहरूको धार्मिक सभा समारोहमा जान अति मन पराउने प्रचण्ड हिन्दु धर्मप्रति भने उति सकारात्मक नरहेको भनेर उनलाई दोष लाग्ने गर्दछ । माओवादी युद्धताकादेखि हिन्दु मठ मन्दिर र हिन्दु गुरुहरूलाई गरेको आक्रमणले पनि यो कुरालाई पुष्टि गरेको उनका विरोधीहरूले दावा गर्छन् ।
प्रचण्ड स्वयमस् र उनका राजनीतिक सहयोगीहरू भने एक राष्ट्रिय नेता र पटक पटक देशको प्रधानमन्त्री भइसकेका व्यक्ति भएका कारण सबै धर्म संस्कृतिप्रति उत्तिकै सम्मान जनाउन यसरी पूजाआजामा सरिक हुने गरेको र हिन्दु धर्म रहनसहन र धार्मिक स्थलप्रति कुनै द्वेषको भावना नरहेको पनि बताउँछन् । पछिल्लो पटक उनले जुन रूपमा पूजाआजाहरूमा सरिक छन् त्यो हेर्दा पनि हिन्दु धर्मप्रति प्रचण्ड नकारात्मक छैनन् भनेर बुझ्न सकिन्छ ।
प्रधानमन्त्री प्रचण्ड धार्मिक र सामाजिक रीतिरिवाजका विषयमा अचम्म अचम्मका निर्णय लिन्छन् । २०६८ असोजमा उनका पिता मुक्तिराम दाहालको निधन भयो उनले छालाको जुत्ता नै लगाएर आफ्ना पितालाई अति नै पवित्र धार्मिक स्थल मानिने देवघाटमा अन्त्येष्टि गरे ।
अहिले पत्नी सीता दाहालको निधन भयो । पवित्र भूमि पाशुपत क्षेत्र जहाँ मृत्युपछि दाहसंस्कार हुन पाउनु नै हिन्दुहरू अति गर्व गर्छन्, त्यहाँ उनले पत्नी सीताको हिन्दु संस्कार अनुसार बडो शुद्ध रूपमा अन्तिम संस्कार सम्पन्न गरे । यसरी केही दिनअघि मात्र पशुपतिनाथको दर्शन गरी फर्किएका अनि पशुपतिनाथ मै आफैँले हिन्दु संस्कार अनुसार दागबत्ती दिएर अन्तिम बिदाई गरेको श्रीमतीको काजक्रिया सामाजिक रीति रिवाज अनुरूप नै १३ दिनमा गर्छन् । नुन बार्छन् होला भन्ने धेरैलाई लागेको थियो तर यसको ठिकविपरीत नुन नबारी सेता लुगा लगातार मात्र उनी शोकमा बसेका छन् । यसो गर्नु हिन्दु संस्कारको विपरीत छ।
सतही रूपमा हेर्दा उनले गरेको यी सबै कार्यहरू उनका प्राय देखिने रूप ‘बहुरूपीपना’ जस्तो देखिन्छ। कहिले उनी पुष्पकमल बनिदिन्छन् त कहिले उनी प्रचण्ड बनेर देखिन्छन् । उनले धार्मिक वा सामाजिक रीतिरिवाजमा मात्र पनि होइन, राजनीतिमा पनि सुरुवाती दिनदेखि नै पटक पटक ‘बहुरूपी चरित्र’ देखाएको प्रस्टसँग देखिन्छ ।
हलुका ढङ्गले सोच्ने हो भने उनको यो बानी अस्थिर र ढुलमुले प्रवृत्तिको जस्तो देखिन सक्छ तर प्रचण्डलाई सूक्ष्म रूपमा बुझ्ने हो भने यो उनको कला हो भनेर भन्न सकिन्छ । समाज र समाजमा रहनेहरूलाई कुन समयमा कसरी कस्तो व्यवहार गर्ने र कसरी मान्छेहरूलाई व्यवस्थापन गर्ने भन्ने उनको अचम्मको कला मान्न पनि सकिन्छ ।
यदि प्रचण्डले लचक हुने बानी, छिट्टै समय र परिस्थिति हेरेर परिवर्तन हुने बानी बहुरूपीपन, अस्थिर वा ढुलमुले प्रवृक्ति होइन भनेर प्रमाणित गर्न चाहन्छन् भने जनयुद्ध र त्यसअघिदेखि प्रचण्डले देखाउँदै आएको उनको यस चरित्रलाई अब यो पटक सरकार चलाउने क्रममा पनि देखाउन आवश्यक छ । देखाउने मात्र होइन, उनको यो बहुरूपी गुणलाई जतिसक्दो प्रयोग गर्नुपर्ने देखिन्छ ।
अल्पमतमा रहेका प्रचण्डले आफूलाई कार्यकारी पदमा टिकाई राख्न अन्य राजनीतिक दललाई खुसी पार्न पनि आवश्यक छ । अन्य राजनीतिक दलका नाम चलेका नेताहरू जो भ्रष्टाचार जस्तो जघन्य अपराधमा सामेल छन् उनीहरूलाई कारबाही गरेर उनको र उनको पार्टीको गिर्दो साखलाई पनि जोगाउनु छ ।
जसरी प्रचण्डले धार्मिक सामाजिक सांस्कृतिक परम्परामा सबैजसोले भन्ने गरेको बहुरूपीपन देखाएका छन्, अब यो पटक सरकारमा रहेर त्यही उनको बहुरूपको प्रयोग गर्दै जनतालाई अस्थिरता भ्रष्टाचार र कुशासनबाट मुक्ति दिनुपर्ने बेला आएको छ ।
समय र परिस्थितिले प्रचण्डलाई धेरैपछि अति ठुलो मौका दिएको छ । जसरी भगवान् श्रीहरि नारायणले लोकको कल्याण गर्न विभिन्न समयमा विभिन्न रूप परिवर्तन गरेर (अवतार लिएर) जगत् र जनको रक्षा गर्नुभयो, त्यस्तै गरी बहुरूपी प्रचण्डले यस पटक प्रिय पत्नी सहयोद्धा राजनीतिक सल्लाहकार सीता दाहालको दुःख बारेरबाहिर आउँदै गर्दा प्रचण्डलाई पिता मुक्तिराम छोरी ज्ञानु छोरा प्रकाश र प्रिय पत्नी सीताको पनि आत्माले थप बलियो बनाउने छ र आफ्नो रूप र क्षमता देखाएर देश र जनतालाई सुशासन र न्याय दिने काम गर्ने छन् भनेर आशा गरौँ ।
यति गर्न सके भने प्रचण्डले अहिलेसम्म देखाउँदै आएका बहुरुपलाई उनका बहुअवतारका रुपमा परिभाषित गर्न सकिन्छ । नत्र फेरि सबैले भन्नेछन्– ‘कहिले भैँसी पुज्ने त कहिले मन्दिर धाउने, कहिले पशुपतिमा दाहसंस्कार गर्ने कहिले काजक्रिया नगर्ने र नुन नबार्ने उनी बहुरूपी ढोंगी र औतारी प्रचण्ड हुन् ।’ बहुरुपी बन्ने कि बहुअवतार लिने प्रचण्ड बन्ने समयले उनलाई अवसर दिएर रोजाउँदै छ । अब उनकै हातमा छ कस्तो प्रचण्ड बन्ने ।