मकालु फिचर

‘मलाई आर्टिस्ट भनेर चिनाउने यही पोटरी हुनेछ’ – कुशल प्रजापति

म हतासिँदै दौडिँदै थिएँ । मानौँ म्याराथनमा समयसँग प्रतिस्पर्धा गरिरहेको थिएँ । मसँगै उस्तै हतारमा थियो– फोटो खिच्न गएको साथी आदेश ।

वर्षाको दिन यसै पनि मलाई संसार अलि ढिलो चलेको झैँ लाग्छ । मानौँ समय आफैँ आकाशबाट झर्ने थोपाहरूमा अल्झिरहन्छ । तर त्यो दिन फरक थियो । म बिहानैदेखि व्यस्त थिएँ । बिहानै सेन्ट जेभियर्स कलेज माइतीघरमा तीन वटा नाटकको शो सकेर, भक्तपुर स्क्वायरमा बाँसुरी वादक युवतीको अन्तर्वार्ता लिई अर्को कथाको खोजीमा वर्षाले भिजेका सडक हुँदै माटाको भाँडा बनाउने ठाउँ अर्थात् ‘पोटरी स्क्वायर’ तिर दौडिँदै थिएँ । त्यहाँबाट ६ बजे अर्को कार्यक्रममा पनि पुग्नुपर्ने भएकाले झन् हतार । 

म निधार खुम्च्याउँदै झनै छिटो कुदेँ र गन्तव्य पुगेर रोकिएँ । वरपर आँखा घुमाएर हेरेँ । सबै आफ्नै धुनमा देखिन्थे । कता ओत लाग्ने होला भनेर अलमलिँदै अगाडि पाइला मात्र के सारेकी थिएँ, परबाट ‘नानु, पोटरी गर्न आको हो ? आऊ यता’, भन्दै ४० हाराहारीकी दिदीले बोलाइन् ।

‘पोटरी गर्न त हैन दिदी बरु पोटरी गर्ने मान्छेको कथा खोज्दै आएको’ 

यसो भनेर म दिदीले बोलाएको पसलतिर लम्किएँ । पसलमा काम गर्ने दुई जनाबाहेक अरू नअट्ने साँघुरो ठाउँ रहेछ । तर पनि दिदीले त्यहाँ भएका भाँडा पन्छाई ‘ल यता बस नानी, कस्तो कथा नि ?’ भन्दै ठाउँ दिइन् । ठाउँ सानो भए पनि दिदीको मन भने फराकिलो रहेछ । 

मैले पोटरीको क्षेत्रमा काम गर्ने महिलाको कथा खोजिरहेको बताएँ । उनले जबाफमा भनिन्, ‘महिलाले त सहयोग मात्र गर्दिने हो, भाँडाहरू त सबै पुरुषले नै बनाउने गरेका छन्  ।’

केही खोजतलासपछि एउटी दिदी भएको थाहा भयो । उनले केही वर्षदेखि अलिअलि भाँडाहरू बनाउन लागेकी रहिछिन् । मेरो मनमा झिनो आस पलायो । उनको पसलमा पुगेँ । उनी प्राय: घरमै हुने भएकाले घरमै भेट्न अनुकूल हुने त्यहाँ काम गर्ने दाइले सुझाए । अघि बोलाउने दिदीले उनको घर चिनेकी रहिछन् । जाने बाटो देखाइदिइन् । 

मुसलधारे पानीमा भिज्दै हामी उनको घरतिर लाग्यौँ । केही गल्ली पार गरेपछि उनको घर आयो । घरको डोका झ्याल जस्तो थियो । ढोकामा ढङ्गढङ्ग गर्दै कयौँ पटक बोलाएँ । जवाफ आएन । निन्याउरो अनुहार लाएर रुझ्दै पसलतिर फर्कियौँ । 

५:४५ भइसकेको थियो । कथा नपाउने भएपछि हामी फर्किने तयारी गर्दै थियौँ । अलि पर एउटा चिटिक्क परेको पसलतिर आँखा पुग्यो । त्यहाँ एउटा भाइ भाँडाका सामान यताउता गर्दै सजाइरहेका थिए । मलाई सबै ठुलाठुलाका बिचमा आफू जत्रै कोही मान्छेले काम गरिरहेको देख्दा अनौठो लाग्यो । त्यहाँ पो केही राम्रो कथा भेटिने हो कि भन्ने भयो । अर्को ठाउँ पुग्न हतार त थियो तर त्यहाँ देखेको दृश्यले पनि तानिरह्यो । एक छिन घोरिएर पसलतिर हेरिरहेँ । उनले के काम गर्छन्, पछ्याइरहेँ । भाइ आफ्नै सुरमा काम गरिरहेको थियो । 

‘एक्सक्युज मी,’ मैले दर्किरहेको पानीको आवाजलाई छिचोल्न खोज्दै बोलाएँ । उनी हामीतिर फर्किए । केहीबेर आफ्नो काम रोकेर माथि हेरे । उनी चक्रमा माटोको डल्लो राखेर भाँडा बनाउँदै थिए । उनका आँखा चम्किला, आश्चर्य र जिज्ञासाको मिश्रणले भरिए ।

‘हजुर ?’ उनको आवाज कोमल थियो । 

‘तपाईँ यहाँ काम गर्नुहुन्छ ?’ 

‘मैले नै यहाँ पोटरी गर्न आउने सबैलाई सिकाउने गरेको छु दिदी’ 

उनको जवाफ सुनेर म छक्क परेँ । म उनीसँग गफ गर्न लोभिएँ । मलाई उनको कथा सुन्ने मन भएको कुरा सुनाएपछि उनले मलाई भाँडा बनाउन सिकाउने ठाउँमा लगे । 

उनको नाम कुशल प्रजापति रहेछ । सत्र वर्षका । पोटरी उनको जिजु बराजु सबैको पेशा भएकाले पुस्तै पिच्छे हस्तान्तरण हुने रहेछ । उनको बाबा, केशव प्रजापति पनि यही पेसामा आबद्ध रहेछन् । त्यही भएर उनले माटोको भाँडा बनाउने प्रक्रिया र त्यसका निम्ति लाग्ने उपकरणहरूलाई सानैदेखि नजिकबाट देखेका थिए । 

उनी केवल १० वर्षका थिए, जब उनले पहिलो पटक माटाका भाँडा बनाउने प्रयास गरे । तर नराम्ररी असफल भए । उनका ती कलिला हातलाई पोटरी बनाउने पाङ्ग्राले हुत्ताएर लिएर गयो । त्यसपछि फेरि कोसिस गर्न रुचाएनन् । बाल्यकालभर चासो नै दिएनन् । अहिले सम्झँदा उनी आफूसँग भएका चीजहरूको कदर नगरी, हासिल गर्न नसक्ने चीजहरू खोज्दा हामी मानिसहरूले दुःख पाइरहेको सोच्छन् । 

उनले सुरुमा यो पेसालाई कहिल्यै गम्भीरतापूर्वक लिएनन् । घरको आर्थिक सङ्घर्ष नदेखेका हैनन् । त्यसैले आर्थिक स्थायित्व पाउनका लागि माटोको भाँडाबाहेक अरू केही गर्नुपर्छ भन्ने उनी सोच्थे । तर अहिले फर्केर हेर्दा आफूलाई सधैँ कुनै न कुनै तरिकाले कलासँग जोडिएको पाउँछन् । उनले ध्यान नदिए पनि कला उनको वरपर नै थियो । 

उनलाई नृत्य र अभिनयमा रुचि थियो । विद्यालय तहमा हुने कार्यक्रमहरूमा खुब नाच्ने गर्थे । उनलाई चिन्ने सबैले उनलाई नर्तकको रूपमा चिन्ने गर्थे । कक्षाको एक मात्र केटा नर्तक भएकाले शिक्षकहरूले पनि उनलाई उत्प्रेरित गर्ने गर्थे ।

उनी मानिसहरूलाई हँसाउनका लागि आफ्नो नृत्यमा केही रमाइला इस्टेपहरू पनि थपिरहन्थे । नाच्दा आफूलाई सन्तुष्टि भन्दा पनि आफ्नो नृत्यको कारणले गर्दा कसैको मुहारमा मुस्कान देख्दा उनलाई सन्तुष्टि महसुस हुन्थ्यो । 

उनी सोही सन्तुष्टि अहिले माटोको भाँडो बनाउन सिकाउँदा महसुस गर्छन् । अनि सोच्छन् उनले ध्यान नदिए पनि माटोको भाँडा बनाउने कला आफूमा कसरी अडिइरह्यो होला भनेर । 

कुशल आफ्नो बुबाको पेसालाई तल्लो तहको रूपमा हेर्ने गर्दथे । के दिनरात माटो खेलिरहेको होला जस्तो लाग्थ्यो । तर उनका साथी र शिक्षकहरूको भने बुवाप्रतिको धारणा अलि फरक थियो । उहाँको कला र क्षमताको उनीहरूले कदर गर्थे । 

तर कुशलले त्यो कुरालाई पनि कम आँकेका थिए । एक दिन कुशलका शिक्षकले, ‘ओह तिम्रो बुबाको कला प्रशंसनीय छ तिमीलाई नि आउँछ ?  भनेर सोधे ।  त्यो एक प्रश्नले उनको मस्तिष्कलाई हल्लाइदियो । आफ्नो पारिवारिक पेसाबारे पुनः सोच्ने बनायो । आफू पढाइमा अब्बल नभएकाले दाजुहरूले पनि उनलाई यस पेसालाई आत्मसाथ गर्न सुझाव दिइरहन्थे । 

त्यसपछि कोभिड आयो । महामारीले सबैको जीवन उथलपुथल बनायो । कुशलले यी सबै कुरालाई ध्यानमा राखी, समयको उपयोग गर्न माटोको भाँडो बनाउन प्रयास गर्ने निर्णय गरे ।

सिकाई का दिनहरू सरल भने भएनन् । सानैमा छोडेकाले उनलाई फेरि ‘क’ ‘ख’ सिके झैँ महसुस भयो । हजारै गल्ती पछि पनि उनको बाबाले उनलाई निरन्तर हौसला प्रदान गरिरहे । उनलाई कुशलमाथि कुशललाई भन्दा बढी विश्वास थियो । एक वर्षको निरन्तर प्रयास पछि उनले बिस्तारै सिक्दै गए र सिकाउने प्रक्रिया पनि सुरु गरे । 

उनले पहिलो पटक एक घण्टाको सेसन दिएका थिए । त्यस बेला उनी आफैँले पनि भाँडो बनाउन पूर्ण सीप हासिल गरिसकेका थिएनन् । बनाइएको भाँडोलाई चक्काबाट छुट्टाउन उनलाई सङ्घर्ष हुन्थ्यो । तर त्यो दिन उनले सबै सिकाउनु पर्ने थियो । 

उनले चक्का सुरु गरे र मानिसहरूलाई हरेक प्रक्रिया होसियारीपूर्वक सिकाए । सबै ठिक चलिरहेको थियो तर चक्काबाट माटोको भाँडो अलग गर्ने समय आयो । उनी डराए । उनको आँखाले आफ्नो दाइलाई खोज्यो तर उनी कतै व्यस्त थिए ।  अरू विकल्प थिएन । उनले गहिरो सास लिए र बिस्तारै हात लम्काए । भाँडोलाई छुट्टाउने प्रयास गरे । पहिलो पटक केही गल्ती बिना भाँडो छुटियो । उनको खुसीको सीमा थिएन । 

त्यो क्षण उनलाई साँच्चै आफूले यसमा केही गर्न सक्छु भन्ने भयो । 

प्राविधिक विकाससँगै माटाका भाँडा बनाउने प्रक्रियाको पनि विकास हुँदै गएको उनी बताउँछन् । पहिले सबै माटाका भाँडाहरू चाखाको मद्दतले बनाउने गरिन्थ्यो । लगभग ६० वर्ष पहिले मात्र एक विद्युतीय पाङ्ग्रा प्रस्तुत गरियो । चाखामा बनाउन निक्कै गाह्राे  हुँदो रहेछ । कुशलका बाबाले पनि यसमा काम गर्न रुचाउँदैन थिए । तर कुशलले भने प्रयास गरेका रहेछन् । 

एकपल्ट अमेरिकी रोटरी क्लबका अध्यक्षलाई स्वागत गर्ने कार्यक्रम थियो । उहाँका लागि चाखा राखेर भाइ र बाजेले चलाएर देखाउनुपर्ने थियो । यो प्रतिष्ठित परम्परागत काम भएकाले कुशल पनि यसलाई प्रयास गर्न चाहन्थे । तर चाखाको चक्का खतरनाक थियो, घुमेर फर्किने चक्काको उच्च जोखिम भएता पनि कुशल रोकिएनन् । सुरुमा सन्तुलन कायम राख्न गाह्रो भएको थियो तर पछि राम्रोसँग ह्यान्डल गरे । 

यसरी उनी बिस्तारै उनी यस पेशामा भिज्न थाले ।  उनलाई मानिसहरूसँग अन्तरक्रिया गर्न र आफूले सिकेको कुरा सिकाउन रमाइलो लाग्न थाल्यो । एक पटक त्यहाँ सिक्न आएकी एक दिदीले आफूलाई सिकाउँदै गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् । त्यो भाइरल भएछ । यद्यपि त्यहाँ आएका कमेन्टहरू नकारात्मक थिए । केहीले लेखेका थिए, 

‘सिकाउने त बहाना हो हात छुने चाहना हो ।’ 

त्यस्ता कमेन्ट देखेर उनलाई कतै आफूले आफ्नो सिमाना पार गरिरहेको त छैन भनेर सोच्न पनि बाध्य बनाएको थियो । तर पछि आफूले शुद्ध मनले आफ्नो काम मात्र गरिरहेको छु भनी आफूलाई सम्झाए । 

बिस्तारै पाँच सय देखि छ सय वटा पाला बनाउन सक्ने हुन थाले । त्यसपछि यसको दायरा अझै बढेको उनलाई महसुस भयो । कलाको कति ठुलो मान रहेछ र त्यसमा कसरी फैलाउन सकिने रहेछ भन्ने बुझे । अहिले उनी बजारमा माटोको कला विकास गर्ने महत्त्वाकाङ्क्षा बोक्छन् । एकाईसौँ शताब्दीमा उनले जताततै सम्भावनाहरू देखेका छन् र आगामी भविष्यमा माटोको भाँडाबाटै आफू चिनिने लक्ष्य राखेका छन्। 

झमक्क साँझ परिसकेको रहेछ । कुरा गर्ने क्रममा कति बज्यो पत्तै भएन । ६ बजे पुग्नुपर्ने कार्यक्रममा । त्यहाँ नै ७:२५ भइसकेछ । फोनमा मिस्डकल धेरै आएको रहेछ ।  

समय फुत्केर विजेता भइसकेको थियो । तर उनको कथा सुनेपछि मलाई आफै विजेता भएको महसुस भयो । सोचे कहिलेकाहीँ अमूल्य खजाना समय फुत्कँदा पाइने रहेछ । 

मेरो समयसँगको हारको पुरस्कार कुशल प्रजापतिको प्रेरणादायक कथा थियो ।

फोटो: आदेश थापा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *