पेट्रोल, डीजल र एलपी ग्यास भारतमा भन्दा सस्तो
काठमाडौँ । नेपाली बजारमा पेट्रोल, डीजल र एलपी ग्यास भारतमा भन्दा सस्तो भएको छ । नेपाल आयल निगमले स्वचालित बिक्री मूल्य प्रणाली अवलम्बन गर्ने निर्णय गरेपछि इन्धन भारतकोभन्दा स्तो भएको हो ।
सरकारले आइतबार नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशन आईओसी र नेपाल सरकारलाई तिर्नुपर्ने दायित्व लगभग सकिएको भन्दै पेट्रोलियम पदार्थका लागि स्वचालित बिक्री मूल्य प्रणाली अवलम्बन गर्ने निर्णय गरेको थियो । सोमबारदेखि इन्धनको मूलय घटेको हो ।
अब परल मूल्यमा डीजलमा २ प्रतिशत र पेट्रोलमा २।५ प्रतिशत मात्र मुनाफा लिने र एलपी ग्यासको बिक्री परल मूल्यमा नै कायम गर्नेगरी सम्पूर्ण मूल्य स्वचालित प्रणालीमा लैजाने निर्णय गरिएको उद्योग वाणिज्य तथा आपूर्तिसचिव मधु मरासिनीले बताए । ‘लगभग ५० अर्ब रुपैयाँ बराबरको दायित्व रहेकामा हामीले इन्डिअन आयलको सबै भुक्तानी गरिसक्यौँ र नेपाल सरकारको समेत आंशिक रूपमा भुक्तानी भइसकेको छ,’ मरासिनीले भने ।
अन्य आन्तरिक दायित्वहरूलाई पूरा गर्न थोरै मुनाफा राखेर काम गर्न बोल्ड निर्णय गरेको सचिव मरासिनीले बताए । नेपाल आयल निगम ९एनओसी० पछिल्लो समय सबै खाले पेट्रोलियम पदार्थमा नाफामा रहे पनि मूल्य कम नगरिएको भन्दै आलोचित हुँदै आएको थियो ।
एलपी ग्यासमा लामो समय ठूलो सहुलियत दिइएको दाबी गरिएको भए पनि पछिल्लो समय ग्यासमा समेत सरकार १० रुपैयाँ नाफामा थियो । हवाई इन्धनको हकमा भने साबिककै व्यवस्था लागु हुने बताइएको छ । नयाँ व्यवस्था लागु भएसँगै अब प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा आईओसीले पठाउने मूल्य सूचीका आधारमा मूल्य नेपालमा मूल्य निर्धारण हुने छ ।
कुन सहरमा कति मूल्य ?
यो निर्णयसँगै चारआली, विराटनगर, जनकपुर, वीरगन्ज, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा पेट्रोलको मूल्य प्रति लिटर १६१.५० रुपैयाँ कायम भएको छ । त्यसै गरी डीजल र मट्टितेलको मूल्य प्रतिलिटर १४३.५० रुपैयाँ भएको छ ।
दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६३ रुपयाँ र डिजेल अनि मट्टितेलको मूल्य १४५ रुपियाँ प्रतिलिटर कायम भएको छ।
काठमाण्डू, पोखरा र दिपायलमा पेट्रोलको मूल्य अब प्रति लिटर १६४ रुपियाँ भएको छ । त्यसै गरी डिजेल र मट्टितेलको मूल्य मध्यरातबाट १४६ रुपैयाँ प्रतिलिटर हुने छ । एलपी ग्यासको मूल्य १८०० रुपैयाँबाट घटेर १७९० रुपैयाँ पुगेको छ । हवाई इन्धनमा भने यसअघिकै मूल्य कायम छ ।
भारतको तुलनामा के सस्तो
नयाँ मूल्य अनुसार भारतको रक्सौलको तुलनामा वीरगन्जमा पेट्रोल प्रतिलिटर नेपालमा १३.२७ रुपैयाँ र डीजलमा ९.९४ रुपैयाँ मूल्य सस्तो पर्न आउँछ ।
हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर २३.८१ रूपैयाँ सस्तो पर्ने भए पनि बाह्यतर्फ भने नेपालमा प्रतिकिलोलिटरमा १६८.९५ अमेरिकी डलर पर्ने छ । एलपी ग्यासमा समेत नेपालमा सीमावर्ती सहरको तुलनामा प्रतिसिलिन्डर १३६.६० रुपैयाँ सस्तो पर्ने छ । बीबीसीको सहयोगमा