देखापरेको १९ वर्षपछि सरकारले बनायो डेंगु रोकथाम र नियन्त्रणको कार्ययोजना

काठमाडाैँ । नेपालमा डेंगु देखा परेको १९ वर्षपछि सरकारले स्पष्ट वार्षिक कार्ययोजना बनाइ लागू गरेको छ । सरकारले अहिलेसम्म डेंगु नियन्त्रण कार्यक्रम गर्दै आए पनि स्पष्ट वार्षिक कार्ययोजना बनाइ लागू गरेको यो पहिलो पटक हो ।

यसअघि सरकारले डेंगु रोकथामका लागि वार्षिक कार्यक्रम गर्दै आएको थियो । यसपटक डेंगु नियन्त्रणका लागि स्पष्ट वार्षिक कार्ययोजना बनाइ ७७ वटै जिल्लामा कार्यान्वयनका लागि पठाइसकेको छ । सरकारले बनाएको कार्ययोजनामा भेक्टर नियन्त्रण, लामखुट्टेको वृत्तिविकास रोक्ने उपाय, उपचार पद्धति, स्थानीय तह, रेडक्रस लगायतका स्वास्थ्यसँग सम्बन्धित संस्थाको भूमिका बारेमा स्पष्ट पारिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख रुद्र मरासिनीले बढी जोखिम भएका ९२ वटा स्थानीय तहमा एक्सन प्लानसहित विशेष सर्कुलर जारी गरेको जानकारी दिए ।

‘डेंगुको जोखिम बढ्नसक्छ भनेर केही कार्ययोजना बनाएका छौँ । यो वर्षको कार्ययोजना बनिसकेको छ । कार्ययोजनामा भेक्टर नियन्त्रण, लामखुट्टेको बृत्तिविकास कसरी रोक्ने ? उपचारमा के–के गर्ने ? स्थानीय तहको भुमिका के हो ? रेडक्रसको भूमिका के हो ? भन्ने विषय समेटेका छौँ,’ मरासिनिले भने, ‘कार्ययोजना ७७ वटै जिल्लामा पठाइसकेका छौँ । बढी जोखिम भएका ९२ वटा पालिकामा एक्शन प्लानसहित विशेष सर्कुलर गरिसकेका छौँ । बढी जोखिम भएका ठाउँहरू काठमाडौं ललितपुर,भक्तपुर चितवन र मकवानपुरका सरोकारवालाहरूसँग बसेर कार्यक्रम गरिसकेका छौँ । उच्चस्तरीय डेंगु नियन्त्रण कमिटीमा पनि छलफल गरेर निर्णयहरू गरेका हौँ ।’

डा. मरासिनीले नेपालमा सन् २००४ देखि हालसम्म १९ वर्षको अवधिमा ८३ हजार ६८१ जनामा डेंगु संक्रमण देखिएको बताए । उनले पछिल्लो तथ्याङ्कअनुसार असार ३० सम्म २ हजार ९ सय ३० जनामा डेंगु संक्रमण देखिएको उल्लेख गरे । ‘सन् २००४ देखि २०२३ सम्म १९ वर्षको अवधिमा ८३ हजार ६८१ जनामा डेंगु संक्रमण देखिएको छ । पछिल्लो तथ्याङ्क अनुसार असार ३० सम्म २ हजार ९ सय ३० जनामा डेंगु संक्रमण देखिएको छ,’ मरासिनीले भने ।

उनले डेंगुको रोकथामका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय भइरहेको पनि बताए । सरकारको प्राथमिकता लामखुट्टे बस्ने ठाउँको नष्ट गर्नु, घर आँगन, कार्यालय वरीपरी पानी जमेको ठाउँको नष्ट गर्नु रहेको उनले बताए । लामखुट्टेको बृत्तिविकास खासगरी सफा र सङ्लो पानी जम्मा भएको ठाउँमा हुने डा. मरासिनीले बताए । अहिले पनि देशभरका धेरै ठाउँहरूबाट केसहरू बढ्दै गएको उनको भनाइ छ ।

उनले लामखुट्टेको वृत्तिविकास हुन नदिने वातावरणको सृजना गर्नुपर्ने आवश्यकता औंल्याए । ‘प्रदेश र संघ सरकारबीच समन्वय राम्रो छ । उहाँहरूसँग हामीले छलफल गरिरहेका छौँ । स्थानीय तह त्यसमा पनि जोखिम बढी भएका स्थानीय तहहरूसँग हामीले समन्वय गरेका छौँ । यद्यपि यसको गम्भीरताका बारेमा सबै स्थानीय तहका जिम्मेवार अधिकारीहरुमा जानकारी नभएको हुनसक्छ । हामी सबैको प्राथमिकता के हो भने डेंगु सार्ने लामखुट्टेको वृत्ति विकास सङ्लो पानीमा हुन्छ,’ मरासिनीले भने, ‘थोरै पानी जम्यो भने पनि त्यसमा लामखुट्टेले अण्डा पारेर लामखुट्टे बढ्छ । त्यसकारण प्रत्येक दिन हाम्रो घर आँगन, कार्यालय वरीपरी घुमेर पानी जमेको ठाउँ कतै छ भने पानी भएको ठाउँ नष्ट गर्नुपर्छ ।’

उनले अगाडि थपे, ‘एडिस एजिप्टाई/एल्बोपिक्टर्स जातको संक्रमित लामखुट्टेको टोकाइबाट यो रोग सर्छ । एकजना संक्रमित बिरामीबाट अर्को बिरामीमा सार्छ । लामखुट्टेको वृत्ति विकास खासगरी सफा र सङ्लो पानी जम्मा भएको ठाउँमा हुन्छ । अहिले पनि देशभरका धेरै ठाउँहरूबाट केसहरू बढ्दै गएको अवस्था देखिन्छ । गत वर्ष जुलाई, अगष्ट र सेप्टेम्बरमा करिब ५४ हजारमा डेंगु संक्रमण देखिएको थियो । गत जुलाई १५ सम्म करिब तीन हजार केस रिपोर्टिङ भइसकेको छ ।’

डा. मरासिनीले डेंगु रोकथाममा सरकार गम्भीर भएर लागेको बताउनु भयो । लामखुट्टेलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा आम नागरिकमा सचेतना पुर्‍याउनुपर्ने बताए । उनले अस्पतालहरू पनि सतर्क र सुदृढ हुन जरुरी रहेको बताए ।

‘डेंगु रोकथाम नै नभएको भन्ने त होइन । यो सरुवा रोग हो । हामीले यसमा काम गरेनौं भने विकराल अवस्था आउँछ थाम्नै नसक्ने अवस्था आउँछ । अपेक्षाकृतरूपमा केस बढ्दै जानु भनेको हामी पनि सजग हुनुपर्छ र रोकथाममा काम गर्नुपर्छ भन्ने हो । अस्पतालहरू पनि सुदृढ हुन जरुरी छ,’ मरासिनीले भने, ‘उपचार पनि सहज हुन जरुरी छ । बिरामीलाई रगतको अभाव हुन दिनु हुँदैन । डेंगुको रोकथाममा स्थानीय तह र आम मानिसको योगदान नै बढी हुने हुनाले जबसम्म उहाँहरू सचेत हुनुहुन्न, डेंगु बिरामी सार्ने लामखुट्टेको वृत्ति विकास कसरी हुन्छ ? र, लामखुट्टेलाई कसरी हामीहरुले नियन्त्रण गर्ने भन्ने विषयमा आम जनताहरूको सचेतना पुग्दैन । तबसम्म नियन्त्रणको काम जटिल हुन्छ ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले डेंगु रोकथामका लागि ‘लार्भा खोज र नष्ट’ अभियान सञ्चालन गर्नुपर्ने बताए । उनले डेंगु रोकथाममा केन्द्र सरकारले नेतृत्वदायः भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले तीन तहकै सरकारबीच समन्वय र सहकार्य गरेर अघि बढ्ने हो भने मात्रै डेंगुको संक्रमण थप फैलिनबाट रोक्न सकिने बताए ।

पुनले बर्सेनि डेंगुको संक्रमण बढिरहेकाले सरकार र आमनागरिक पनि यसमा सचेत हुन जरुरी रहेको बताए । डेंगु जोखिम सहरी इलाकामा बढी हुने उनको भनाइ छ । ‘डेंगु रोकथामका लागि ‘लार्भा खोज र नष्ट’ अभियान महत्वपूर्ण मानिन्छ । यो अभियानलाई कार्ययोजना नै बनाएर अघि बढ्नसक्यौं भने त एकदमै राम्रो हुन्छ नै । सर्वसाधारणले पनि जथाभावी ड्रम फाल्ने, लामखुट्टे बस्ने वातावरण सृजना गर्नुभएन,’ डा. पुनले भने, ‘निरन्तर बगिरहने पानीमा लामखुट्टेले वृत्ति विकास गर्न सक्दैन । नेपाल सरकारले नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्छ । र, सम्भवतः अहिले लार्भा देखिरहेको अवस्था छ । यसलाई हामीले जसरी हुन्छ नष्ट गर्नुपर्छ । डेंगु जोखिम शहरी इलाकामा बढी हुन्छ । मुख्यतः अव्यवस्थीत शहरीकरणले डेंगु जोखिम निम्त्याउँछ । यस्तै ग्यारेजमा फालेका टायरहरु राखिन्छन् । फालेका टायरहरु नम्बर वान लामखुट्टेको लागि स्वर्ग जस्तै हो ।’

सामान्यतया डेंगु वर्षा र वर्षापछिको समयमा बढी देखिन्छ । नेपालमा सन् २००४ मा डेंगु संक्रमण पुष्टि भए यता लगातार बढीरहेको छ । गत वर्ष नेपालको इतिहासमा सबैभन्दा बढी मानिस डेंगुबाट संक्रमित भएका थिए ।

डेंगु संक्रमण तराईबाट पहाड हुँदै अहिले हिमालमा पनि केही केस देखिने गरेको उनले बताए ।

‘आगामी वर्षपनि यो जोखिम निरन्तर हुने देखिन्छ । डेंगुको जोखिम गत वर्ष काठमाडौं शहरमा देखिएसँगै यो पटक कुनै नयाँ शहरमा नहोला भन्न सकिन्न । लामखुट्टेले बिस्तारै ठाउँ बिस्तार गर्दैछ । पहिले तराईतिर देखिन्थ्यो । बिस्तारै अहिले पहाडतिर सर्दै गएको छ । लामखुट्टेले यदी बसाइसराईं गर्‍यो भने यसको जोखिम आगामी दिनमा थप बढ्दै जाने देखिन्छ,’ पुनले भने, ‘हरेक वर्ष हामी डेंगुको ठूलै जोखिममा रहन्छौं भन्ने हो । लामखुट्टेको टोकाइबाट बच्ने भनेको लामखुट्टे सर्ने वातावरण सृजना नगर्नु हो । लामखुट्टे बस्ने वातावरण भनेको खाल्डाखुल्डी अव्यवस्थित वातावरण, फालिएको ड्रम, पुराना टायर, घरघरमा गमला राख्ने ठाउँ हो ।’

डेंगुले केही समययता प्रकोपको रुप लिइरहेको र आगामी वर्ष झनै जोखिम बढ्ने उनको भनाइ छ । ‘सन् २००४ मा सर्वप्रथम एक जनामा डेंगु देखियो । तत्पश्चात हरेक दुई तीन वर्षको अन्तरालमा यसले प्रकोपको रूपमा लिइरहेको छ । आगामी वर्ष पनि डेंगुको जोखिम हुने तथ्याङ्कहरूले देखाइरहेका छन्,’ डा. पुनले भने ।

डेंगु संक्रमण भइहाले ज्वरो आउने, टाउको दुख्ने जस्ता लक्षण देखिने उनको भनाइ छ । डेंगुले जटिल अवस्था ल्याउने सम्भावना रहेको भए समयमै उपचार प्राप्त हुने पुनले बताए ।

‘सन् २०१९ मा धेरै मानिसमा रक्तश्रावको समस्या थिएन । डेंगुमा जटिलताको तह छ । ज्वरो आउने, जिउ दुख्ने, आँखाको गेडी खस्ला जस्तो हुने, मांसपेशी दुख्ने, शरीरमा बिमिराहरू आउने, आँखा रातो हुने, वाकवाकी लाग्ने डेंगुका प्रारम्भिक लक्षण हुन् । केही प्रतिशतलाई थप जटिलता देखिन सक्छ,’ पुनले भने, ‘त्यो विशेष गरेर पूर्ण संक्रमीत भएर फरक सेरोटाइपले संक्रमित गर्नु हो । ती व्यक्तिहरुमा रक्तश्राव देखिन थाल्छ । सन् २०१९ मा पनि काठमाडौंमा धेरै फैलिएको हो । सन् २०२२ मा म लगायत केही डाक्टर सावले के महसुस गर्नुभयो भने धेरै मानिसमा रक्त श्राव देखियो ।’

डेंगु लागेपछि घरमा बसेर पनि आराम गर्न सकिन्छ । तर चिकित्सक वा अस्पतालमा सम्पर्क गरेपछि रगतको जाँच गर्नुपर्ने हुन्छ । एक हप्तापछि रगतमा देखिने उतारचढाव सुधार भएर जाने गर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *