यजुले बाँसुरी रोजेकी थिइनन्
नौ वर्षकी हुँदा यजु आचार्य स्केच गर्ने गर्थिन् । उनको चित्रकार बन्ने ठुलो चाहना थियो । दुई वर्ष कलाको कक्षा पनि लिएकी थिइन् । तर पछि विद्यार्थी कम भएर कक्षा नै बन्द भयो । उनको चित्रकार बन्ने चाहाना रोकियो ।
उनी दुखी थिइन् । तर उनका आमाबाबु भने छोरीलाई सधैँ हौसला प्रदान गरिरहन्थे । चित्रकला नभए अरू केही सिक भनी उनलाई भोकल कक्षामा सामेल गराइदिए ।
यसरी उनको सङ्गीत यात्रा सुरु भयो । एक अङ्कलले घरमै पढाए ।
स्वरको कक्षा लिन थाल्दा उनी ११ वर्षकी थिइन् । स्वरसँगै मादल र तबला पनि सिकिन् । सङ्गीतमा रुचि भएकोले उनी सिक्न पाए जति सबै कुरा सिकिरहेकी हुन्थिन् ।
एकदिन गुरुले ‘बाँसुरी सिक्न मन छ,यजु ?’ भनी सोधे ।
त्यति बेला महिला बाँसुरी वादकको सङ्ख्या निकै कम भएकोले उनलाई यसमा रुचि भए निकै राम्रो हुनेछ भनेर अरूले पनि सुझाव दिए । उनले अन्य तीन महिलासँगै बाँसुरी कक्षा लिन थालिन् । तीन महिनाको पाठ्यक्रम पूरा गरिन् ।
पहिलो दिनको कुरा हो । गुरुले कक्षामा एउटा बाँसुरी ल्याए र उनलाई एउटा छान्न भने । त्यति बेला छानेको त्यो बाँसुरी उनीसँग अझै पनि छ ।
‘सुरुमा सिक्न समय लाग्न सक्छ नआत्तिई सिक्नू पर्छ है’
गुरुले भनेका थिए । तर यजुले सङ्गीत पहिला नै सिकिसकेको हुनाले बाँसुरीको आधारभूत कुराहरू एक हप्ताभित्रै सिकिन् । बाँसुरी बजाउँदा भने चक्कर लाग्थ्यो । सानो उमेरको भएकोले भित्रबाट हावा फाल्दा र तान्दा अत्याधिक उर्जा खर्च हुन्थ्यो । उनलाई गाह्रो भएको देखेर उनको गुरु पनि डराउँथे । बेलाबेलामा आराम गर्न सल्लाह दिई रहन्थे । चक्कर आए उनी प्रशस्त पानी पिउँथिन् । अनि फेरी बजाइरहन्थिन् ।
तीन महिनाको कोर्स गरेपछि उनी गीतलाई बाँसुरीमा बजाउन सक्न थालिन् । संगीतको ज्ञान भएकाले त्यसो गर्न पनि अरूभन्दा चाँडो भयो । उनलाई कुन गीत कहाँ बाट उठाउने, कहाँ रोकिने, कहाँ छोड्ने जस्ता आधारभूत कुराहरू थाहा थिए । सँगै भोकल पनि सिकेको भएर उनलाई अझै मद्दत मिल्यो ।
त्यसपछि केही स्थानीय कार्यक्रममा उनी बाँसुरी बजाउन थालिन् । त्यतिबेलासम्म कक्षा आठमा पढ्ने भइसकेकी थिइन् । थप औपचारिक र गहन रूपमा बाँसुरी सिक्ने इच्छा त्यतिन्जेलमा आइसकेको थियो । सिक्नको लागि राम्रो ठाउँको खोजीमा लागिन् । त्यही क्रममा पाटन ढोका स्थित यलमाया केन्द्रमा जीवन गुरु छन् जसले पूर्वी शास्त्रीय पढाउँछन् भन्ने थाहा पाइन् । उहाँ नेपालभरका सम्मानित गुरु रहेछन् । यजुले थप सिकाई उनीबाट गर्ने निर्णय गरिन् ।
उनी जीवन गुरुको खोजीमा यालमायामा पुगिन् । पहिलो दिनमै उनले यजुलाई फरक-फरक नोटमा ‘रेसम फिरिरि’ बजाउन लगाए । यजुले गीतको मुख्य नोटबाट बजाइन् । अनि अर्कोबाट पनि । गुरु प्रभावित भए र भने ‘तिमी पास भयौ, अर्को सिकाइको लागि तयार छौ ।’
उनको खुसीको सीमा थिएन ।
उनी अन्य दिन स्कुल भएकाले शनिवार शनिवार त्यहाँ जान थालिन् । बुबाले उनलाई कक्षामा ल्याइदिन्थे र कक्षा समाप्त नभएसम्म कुरिरहन्थे ।
बाँसुरी बजाउँदा र दिनहुँ अभ्यास गर्दा उनलाई सन्तुष्टि महसुस हुन्थ्यो । त्यस्तो महशूस जुन साथीभाइसँग घुमफिर गर्दा पनि उनी महसुस गर्दिन थिइन् । मुड अफ भएको बेला बाँसुरी बजाउनासाथ उनको मुड बिस्तारै ठिक भइहाल्थ्यो । त्यसैले पनि बाँसुरी उनको नजिकको साथी जस्तो भइरह्यो ।
त्यसरी सिक्ने यात्रा जारी रहेको बेला उनले १३ वर्षको उमेरमा महिला ब्यान्डसँग आफ्नो पहिलो व्यावसायिक प्रदर्शन दिइन् । पहिलोपल्ट ब्यान्डमा बजाउँदा उनी एकदमै डराएकी थिइन् । त्यसमाथि प्रदर्शन अघि जुस आएको कारण उनको घाँटी क्याप्प समातेको थियो । के गर्ने होला भन्ने चिन्ता थियो । बजाउँदा पनि घाँटीलाई थप क्षति नपुगोस् भनेर सावधानीपूर्वक बजाइन् । धन्न घाँटीले धोका दिएन । उनले बजाएको सबैले मनपराए ।
समय सँगै उनको प्रशिक्षण को स्तर पनि बढ्दै गयो । त्यसपछि उनले किरातेश्वर बाल शास्त्रीय सङ्गीत प्रतियोगितामा भाग लिने निर्णय लिइन् । सुरुका दुई पटक सान्त्वना पुरस्कार मात्र पाइन् । तर पनि हार मानिनन् । तेस्रो पटकमा विजेता भइन् । त्यतिन्जेल उनले आफ्नो स्कुलको पढाइ पनि पूरा गरिसकेकी थिइन् । अब सङ्गीतमै केही गर्छु भन्ने उनलाई लाग्यो । त्यसैले उनले त्यसपछि व्यावसायिक रूपमा प्रस्तुति दिन थालिन् ।
भारतीय शास्त्रीय विधाका चर्चित गुरु हरिप्रसाद चौरासिया एक महिनाको कार्यशालामा नेपाल आउने भएकाले सबै बाँसुरी वादक तालिमका लागि जान तम्तयार थिए । उनी पनि उनीहरूसँग जोडिइन् । त्यसैक्रममा धेरै नेपाली सङ्गीतकारहरू सँग भेट्ने मौका पाइन् ।
त्यहाँ तबला बजाउने दाइले उनले बाँसुरी बजाएको मन पराएका रहेछन् । एक महिनाको कार्यशाला पछि उनले फोन गरे । एउटा कार्यक्रमका लागि महिला बाँसुरी वादकको आवश्यकता रहेको बताए । उनी त्यो कार्यक्रममा गइन् र बजाइन् । त्यहाँ बजाएको पनि सबैले मनपराए ।
त्यहाँ एक महिला ब्यान्ड पनि आएका रहेछन् । उनको प्रस्तुति सकिए पछि उनलाई ‘हामी सँग बजाउने हो?’ भनी सोधे । उनी एक छिन् छक्क परिन् र मक्ख पर्दै हुन्छ भनिन् । त्यहाँ बाट उनको ब्यान्डको यात्रा सुरु भयो । ब्यान्डमा सामेल भएपछि उनको सामाजिक पहुँच फराकिलो भयो र उनी सङ्गीत उद्योगमा महिला बाँसुरीवादको रूपमा चिनिन थालिन् । एकल काम गर्दा दाल र भात मात्रै खाए जस्तो तर ब्यान्डसँग काम गर्दा दालभात सँगै थरी थरीका साग सब्जी पाएको उनलाई महसुस भयो । एकल भएपछि दर्शकलाई दिन पनि धेरै केही नहुने तर ब्यान्डमा धेरै मान्छे को खुबी र मेहनेतले मिठास भर्दिने उनले महसुस गरिन् ।
त्यो पहिलो ब्यान्डको नाम ‘जोट्स’ थियो जहाँ सबै ब्यान्ड सदस्य उनीजस्तै युवतीहरू थिए। तर त्यो लामो समय सम्म टिक्न भने सकेन । त्यहाँ उनी बढी फस्टाउन सकिनन् किनभने सबैको प्राथमिकता फरक–फरक थियो । अधिकांश ब्यान्ड सदस्यहरू व्यक्तिगत समस्याहरू सँग सङ्घर्ष गरिरहेका थिए । अघि बढ्ने संभाबना नदेखेपछि उनले ब्यान्ड छाडिन् ।
तर सङ्गीतमा अझै केही गर्न पुगेकै थिएन । केही फरक गर्ने रहर बाँकी नै थियो । त्यसैले उनको नेवारी बाजा बजाउने साथी र अर्को सारङ्गी बजाउने साथी साथीहरू एकजुट भएर ‘फ्रेट’ नामक ब्यान्ड बनाए । अहिले उनीहरू नेपाली बाजाको मौलिक वाद्य सङ्गीत बनाउनेमा केन्द्रित छन् । उनीहरू विभिन्न नेपाली बाजाहरूको प्रयोग मार्फत भावना व्यक्त गरिरहेका हुन्छन् ।
यजुले सङ्गीतकार हुने क्रममा भोगेका धेरै तिता मिठा क्षणहरू छन् । नेपाली समाजमा अझै पनि महिलाले खुलेर बोल्न र म सङ्गीतकार हुँ भनेर चिनाउन सङ्घर्ष गर्नुपर्छ । महिला कतै जानु हुँदैन भन्ने धारणा धेरैतिर छँदै छ । ‘त्यो भएकोले बाहिर काम विशेष जाँदैनौँ त्यसैले महिला कलाकारहरूलाई कनेक्सन बनाउन सहज छैन ।’ उनी भन्छिन् ।
साथै हरेक ब्यान्ड सदस्यहरू प्रायः केटा सङ्गीतकार नै भए हुन्थ्यो भन्ने चाहन्छन् । किनभने यदि त्यहाँ महिला सङ्गीतकार छ भने सबै ब्यान्ड सदस्यहरूले उनको बारेमा सोच्नु पर्छ र उनको लागि होसियार हुनुपर्छ । उनीहरू कोही केटी ब्यान्डमा भइदिँदा आफ्नो स्वतन्त्रतामा प्रतिबन्धित भएको जस्तो महसुस गर्छन् ।
यी कारणले गर्दा यजुले अहिले पनि गिगहरू गुमाउनु परिरहेको छ । ब्यान्डका सदस्यहरूले रातको कार्यक्रम भए उनको सट्टा अरू कसैलाई नै रोज्छन् । महिलाको रूपमा उनीहरूको आफ्नै घरको जिम्मेवारी पनि हुन्छ । यदि कुनै संगीतकर्मीले एउटी महिलालाई बिहान नौ बजे स्टुडियोमा आउन भन्यो भने तत्कालै समय मिलाउन उनलाई अप्ठ्यारो पर्छ किनभने त्यो उनको घर वा अफिस समय हुन सक्छ । उनले आफ्नो परिवारको लागि खाना तयार नगरी कतै हिँड्ने कुरा सोच्नै नपाउन सक्छिन् ।
केही समय पहिला नयाँ वर्षको पूर्व सन्ध्यामा विराटनगर जानुपर्ने थियो । तर त्यो उपत्यकाबाहिर भएको कारणले उनी जान पाइनन् ।
तर यस्ता बाधाहरूको बाबजुद संगीतमा नै केही गर्ने जोश छ भने सधैँ फस्टाउन सकिन्छ भन्ने उनी सोच्छिन् । पुरुष र महिला कलाकार दुवैले एक अर्कालाई सम्मान गरी महिलाको जिम्मेवारीप्रति लचिलो हुनुपर्छ भन्ने ठान्छिन् । साथसाथै आमाबाबुले पनि आफ्नो बच्चाको रुचिको लागि सहयोगी हुनुपर्छ । महिलाले यस्तो व्यवहार गर्नैपर्छ भने बनाइएका सामाजिक मान्यताको दास बन्नुको सट्टा प्रत्येक व्यक्तिले आफ्नो लागि लड्ने हो भने केही असम्भव छैन भन्ने पनि उनलाई लाग्छ ।
सबै फोटो: आदेश थापा
ब्याण्डको फोटो: यजु आचार्यको फेसबुकबाट