महिला विश्वकप फुटबल सुरु हुनुअघि न्यूजील्यान्डमा गोली हानाहान

काठमाडौँ । न्यूजील्यान्डको अकल्यान्डमा फिफा महिला विश्वकप सुरु हुनुभन्दा केही घण्टाअघि गोली चलेको छ । बीबीसीकाअनुसार गोली हानाहान हुँदा दुईको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् ।

शहरको मुख्य व्यापारिक क्षेत्रस्थित एक निर्माण स्थलमा भएको घटनापछि स्थानीय समयअनुसार करिब साढे सात बजे बन्दुकधारी स्वयंको पनि मृत्यु भएको छ ।त्यहाँका प्रधानमन्त्री क्रिस हिपकिन्सले उक्त आक्रमणलाई आतङ्कवादी गतिविधिका रूपमा नहेरिएको बताएका छन् ।

घटनाले विश्वकपमा पनि कुनै असर नपारेको र प्रतियोगिता योजनाअनुसार नै अघि बढ्ने उनले बताए । ‘प्रहरीले जोखिमलाई निस्तेज पारेको छ र क्विन स्ट्रिटमा भएको घटनापछि अहिले त्यहाँ कुनै खतरा छैन भन्ने कुरामा आम मानिस निर्धक्क हुन सक्छन्,’ उनले भने ।

आक्रमणको कुनै राजनीतिक वा वैचारिक कारण पत्ता नलागेको प्रधानमन्त्री बताए । उनका अनुसार बन्दुकधारीले पम्प–एक्सन शटगन बन्दुक बोकेका थिए । हिपकिन्सले न्यूजील्यान्ड प्रहरीका ‘साहसी पुरुष र महिलालाई धन्यवाद व्यक्त गरे जो सर्वसाधारणलाई बचाउन गोली चलिरहेको ठाउँमा पुगे । यस किसिमका घटनाक्रम निकै द्रुत गतिमा अगाडि बढ्छन् र यस्तो परिस्थितिमा अरूलाई बचाउन आफ्नो ज्यान जोखिममा राख्नेहरूको कदम वीरतापूर्ण हो,’ उनले भने ।

उद्घाटन खेल न्यूजील्यान्ड र नर्वेबीच इडेन पार्कमा हुनेछ । यो पटक महिला विश्वकप फुटबल न्यूजील्यान्ड र अस्ट्रेलियामा हुँदै छ । पहिलो पटक महिला विश्वकप दुई देशले संयुक्त रूपमा आयोजना गर्न लागेका हुन् । प्रतियोगिताको यो नवौँ संस्करण हो ।

यस प्रतियोगितामा विश्व च्याम्पियन अमेरिकासहित ३२ वटा देश सहभागी हुँदै छन् । सुरुवाती खेलहरू हेर्न करिब एक लाख दर्शकको उपस्थिति रहने आयोजकहरूको आशा छ । नौवटा सहरका विभिन्न १० मैदानमा हुने ६४ खेलका लागि १३ लाखभन्दा बढी टिकटको अग्रिम बिक्रिसँगै यो सबैभन्दा बढी हेरिने महिला विश्वकप हुने ठानिएको छ । बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *