एक क्वीन्टल सुन तस्करी प्रकरण : चिनियाँ तस्करको बालुवाटारस्थित गोदाममा छापा
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको सय किलोभन्दा बढी सुन बजारमद भएपछि प्रहरीले बालावाटारस्थित एक घरमा रहेको गोदाममा छापा मारेको छ । सुन तस्करमा संलग्न चिनियाँसहितका तस्करले भाडामा लिएको उक्त गोदाममा मोटरसाइकलको बे्रक शु राख्ने तयारी गरेको थाहा पाएपछि सशस्त्र प्रहरी बलको सहयोग लिएर राजस्व अनुसन्धान विभागले छापा मारेको हो ।
उक्त गोदाममा ५/६ वटा ठूला बाकस फेला परेका छन् । ती बाकसमा खोलेर जाँच गर्न भने बाँकी रहेको उच्च स्रोतले बताएको छ ।
बुधबार पक्राउ परेका ट्याक्सी ड्राइभर अशोक लामाको बयानका क्रममा सुन उक्त घरमा पुर्याउने जिम्मेवारी आफूले पाएको बताएपछि त्यहाँ छापा मारिएको हो ।
उक्त घरका धनीसँग सम्पर्क गर्दा चिनियाँ नागरिक जीक्वाङले कोठा भाडामा लिएको बताएपछि प्रहरीले उनको खोजी गरेको थियो । उनी चीन भाग्न लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् ।