व्यवसाय थाल्ने नयाँ पुस्ता

अहिले उनको व्यवसायमा आमाले काम सघाउँछिन्

विराटनगरकी सोनम बराललाई सानै देखि राम्री भएर हिँड्न पर्थ्यो । आफ्नो आमाको लिपस्टिक लगाएर उनी ऐना हेर्ने गर्थिन । मक्ख पर्थिन ।

आफू लगाउने बाहेक उनलाई अरूलाई लगाइदिन पनि मनपर्थ्यो । कहिलेकहीँ भाइको मुखमा पनि लाली लगाइदिने गर्थिन ।

‘ठूलो भएपछि के बन्छेउ ?’

कसैले यस्तो सोध्दा भन्थिन् ‘एयरहोस्टेस् ।’ त्यसो भन्नुको एकमात्र कारण उनीहरूको चटक्क परेको लुगा र राम्रो मेकअपको सपना नै हुन्थ्यो ।

तर हुर्किँदै जाँदा उनको पढाइ अन्तै गयो । एयरहोस्टेस बन्ने सपना पनि कतै छोडियो । जीवनको गोरेटोले उनलाई दोहोर्‍याउँदै मेकअप तर्फ लग्यो । आहिले उनी मेक अप आर्टिस्टको रूपमा काम गर्छिन् ।

उनी ब्याचलर्स अध्ययन गर्नको लागि विराटनगरबाट पाँच वर्ष पहिला काठमाडौँ आएकी थिइन् । बि.सी.ए अर्थात् ब्याचलर्स इन कम्प्युटर एप्लिकेशन पढ्न थालेकी थिइन् ।

तर त्यताको पढाइ गर्दै गर्दा आफ्नो परिवारजनलाई थाहा नदिईकन मेकअप गर्ने गर्थिन । त्यही कुरा बढ्दै बढ्दै गयो । अठार वर्षमा सुरु गरेकी उनी अहिले तेइस वर्षको भइन । यो यात्रा दिनप्रतिदिन बलियो हुँदै गइरहेको छ ।

व्यवसाय सुरु गरेको उनको कहानीमा धेरै संयोग परेको छ ।

उनको मामाहरू विदेशमा बस्नुहुन्थ्यो । त्यहाँबाट पहिलैदेखि मेकअप को समान पठाइदिने गर्नु हुन्थ्यो । उनी बहिनीहरू, नातेदारलाई लगाइदिन्थिन् । सबैले उनलाई नै मेकअप गरिदिन भन्थे । त्यो बाहेक युट्युबबाट नै मेकअप कसरी गरिन्छ भनेर पनि उनले सिकिन ।

पढाइमा भन्दा मेकअपमा धेरै समय खर्च गरेको थाहा पाएपछि परिवारले पहिला पढाई सकाऊ पनि भनेका थिए । तर उनले पढाई सँगसँगै आफ्नो रुचि भएको मेकअपलाई छाडिनन् ।

मेकअप गर्ने सँगै कपाललाई पनि ध्यान दिन पायो भने काम अझै प्रभावकारी हुन्छ भन्ने सोचेर उनले कपाल स्टाइल गर्ने सीप पनि चाबहिलको ‘गलो टु गलो’ मा गएर सिकिन् ।

त्यसबिचमा कोभिड महामारी आयो । सबै मान्छेहरू घरमा नै थिए । उनको घरमा राम्रो क्यामेरा थियो । राम्रो गुणस्तरको भिडियो बनाउन मिल्थ्यो ।  त्यसमा उनले आफ्नो र परिवारजनको मेकअप गरेको भिडियो खिच्न अनि युट्युबमा राख्न थालिन् ।

पहिला युट्युबको लागि तैयारी गरेकी भए पनि उनले अलिअलि भिडियो टिकटकमा राख्ने गरिन । टिकटकमा एकैचोटी लाखौँमा भ्युज बढेपछि उनको आत्मविश्वास अझै दृढ हुँदै गयो ।

उनलाई आफूले काम गर्न जान्दछु भन्ने कुरा देखाउनु थियो । मानिसहरूकोमा आफ्नो परिचय पुर्‍याउनु थियो । त्यसैले  सुरु सुरुमा उनले निकै ठाउँमा सित्तैमा पनि काम गरिन । तर त्यसकै दौरान नयाँ काम पनि आयो । जसले उनलाई व्यवसायीक बनाउने बाटो पनि खोलिदियो ।

पहिलोपल्ट व्यावसायिक रूपमा मेकअप आर्टिस्ट भएर पोखरा गइन् ।  एक मारवाडी परिवारको बिहेमा कपाल स्टाइल गर्ने काम उनले पाएकी थिइन् । उनी सहित पन्ध्र जनाले त्यहाँ तिन दिन काम गरेका थिए ।

अहिले पनि उनी बेलाबेला बेहुली सृङ्गार्ने काम गर्छिन् । तर मुख्य ध्यान व्यवसायीक काममा नै लगाउँछिन् । उनलाई उस्तै तरिकाले बेहुली सिँगार्दा झर्को पनि लाग्दो रहेछ । त्यसैले अलिक चुनौती हुने तर अर्थपूर्ण हुने व्यवसायीक कामतिर नै उनी लम्किन थालिन् ।

अहिले उनी अलि बढी व्यावसायिक रूपमा काम गर्न चाहन्छिन् । प्रोजेक्टको आधारमा काम गर्दा अलिक बढी सृजनात्मक स्वतन्त्रता हुन्छ भन्ने उनको धारणा छ । त्यसो गर्न थालेसँगै उनले काम लिने तरिका पनि फरक पर्दै गएको छ । पहिला निकै भाग दौड गरेर काम गर्ने बानी थियो । सकेसम्म धेरै काम गर्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो । अहिले भने बरु अलि कम तर उत्कृष्ट काम गर्ने सोच बनाइरहेकी हुन्छिन् ।

मेकअप गर्ने काम सहज छैन । सबैले देख्ने कुरा भएकाले पनि यसमा संवेदनशीलता धेरै चाहिन्छ । तयारी गर्न कम्तीमा पनि तीन घण्टा लाग्ने उनको भनाइ छ । कहिलेकाहीँ व्यस्तता यति बढ्छ कि दिनको चार वटा ठाउँमा पनि पुग्नुपर्ने हुन्छ ।

व्यवसायीक रूपमा जान थालेपछि उनले ‘स्टाइल बाई एम पी’ नामक ठाउँमा स्टाइलिङ्ग कोर्स पनि लिइन् । त्यहाँबाट उनको लागि धेरै ढोकाहरू खुले । त्यो कोर्समा नै उनले एउटा एडीटोरियल सुटको लागि मेकअप गर्नुपर्ने थियो ।

त्यहाँ सबैले उनको काम मन पराए । एउटा राम्रो कामले अर्को राम्रो काम ल्याउँदै गयो । भर्खरै उनले मिस नेपाल इन्टरनेसनल २०२२ परिधि साहसँग काम गर्ने पनि मौका पाइन् । उनको अलावा सोनामले रेश्मा घिमिरे, सरिता श्री ज्ञवाली, लगायत अन्य प्रसिद्ध कलाकारसँग पनि काम गरेकी छिन ।

आफ्नो मेकअप गर्दा उनले कहिले नछुट्टाउने समान मस्कारा हो । तर आफैले व्यवसाय गरेर मेकअप सामान उत्पादन गर्नुपर्‍यो भने उनी ‘ब्लशर’ बनाउँथिन। त्यसले मान्छेको अनुहार नै परिवर्तन गर्ने क्षमता राख्छ । आफूले तैयार गरेको लुक अलि बढी ‘नेचुरल’ हुने गरेको उनी बताउँछिन् ।  त्यसैले धेरै मान्छेले उनलाई अलि बढी रुचाउने गरेको जस्तो लाग्छ रे ।

‘स्टुडियोमा मेकअप गर्दा धेरै हेभी देखिन्छ । बाहिर गएर हेर्दा अलि अलि टाटेपाटे देखिन सक्छ । मैले काम गर्दा त्यस्तो हुँदैन ।’

उनले सामान कहिले बाहिरबाट किन्छिन् भने कहिले नेपालबाट नै ल्याउने गर्छिन् । आफ्नो टिकटकमा पनि जहिले सामानको बारेमा वास्तविक कुरा भन्ने, र कहिल्यै बधाई चढाई कुरा नगर्ने भनेर पनि उनको प्रशंसा भइरहेको हुन्छ ।

पहिला त आफूले पढेको भन्दा फरक क्षेत्रमा आउँदा अलि डर पनि लागेछ । आफ्नो डिग्रीभन्दा फरक काम गरेकोमा अलि सन्देहपूर्ण थिइन । त्यो त अहिले पनि भइरहन्छ ।

‘कहिलेकहीँ न यता को, न उता को भए कि जस्तो पनि लाग्छ ।’ उनी भन्छिन् ।

तर सबैले आफ्नो काम मन पराइदिए पछि उनको आत्मविश्वास झन् बढ्दै गएको रहेछ । सन् २०२२ मा लाखौँ मान्छेले हेरेर प्रशंसा गरेपछि आफूले ठिकै गर्दै छु जस्तो महसुस हुँदो रहेछ । जति धेरै काम गर्‍यो, उति धेरै सिप सिकिँदै, अझै राम्रो हुँदै गइनछ भन्ने उनको धारणा छ ।

अहिले उनी कलेजको अन्तिम सेमेस्टरमा पढ्दै छिन । शिक्षकहरू र परिवारले पनि अझै प्रोत्साहन गरेको उनी बताउँछिन् ।

सोनमले आफूले सोचेजस्तो एयर होस्टेस बनेर सेवा त गर्न पाइनन्, तर मेकअप मार्फत पक्कै पनि धेरैको जीवन रङ्गाएकी छिन ।

अहिले उनले ‘होम स्टुडियो’ बनाउने योजना लिएकी छिन । अर्थात् घरमै स्टुडियो । उनी त्यहाँ आफ्नो परिवारसँगै बस्छिन् र त्यही काम पनि गर्छिन् । ठुलो स्टुडियो बनाउँदा धेरै लगानी गर्नुपर्छ ।  अहिले इन्टरनेटको जमाना भएकाले सबैले त्यहाँबाट नै उनलाई सम्पर्क गर्न सक्छन् ।

सोनामलाई उनकी आफ्नै आमाले सघाउने गर्छिन् ।

उनी भन्छिन् ‘सबैले काम देख्ने बाटो नै त्यही हो । बरु अरू ठाउँमा धेरै खर्च गर्नु सट्टा आफ्नो सामाजिक सञ्जालको प्रोफाइल राम्रो बनाउने हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *