डिजे राजु जन्माएको ३८ वर्ष पुरानो ‘रथ चाइल्ड’ ब्याण्ड
नेवारी परिवार भएकाले उनीहरूको घरमा नै धिमेको गुठी थियो । त्यहिभएर बजाउने बाजाहरू घरमै हुन्थ्यो । गुठिले दिने कक्षाहरू पनि घरमा नै हुन्थ्यो । बुबा, बाजे आदि सबैले बजाउनु हुन्थ्यो । उनले पनि त्यहीँबाट सिके ।
देवाली हुँदाखेरि उनीहरू बाजा बजाएर जानुपर्थ्यो । उनी सात वर्ष हुँदाखेरि नै बजाउँदै र गाउँदै ताहचल स्थित गुठीको मन्दिर पुगेका थिए ।
सात वर्षको सानो मान्छे भएकाले उनी धिमे बाजा बोक्न र हिँड्न सक्दैन थिए । त्यसबेला उनको लागि बाजेले एउटा छुट्टै सानो धिमे बनाइदिनुभएको थियो ।
अलिक हुर्किएपछि पढ्न भनी उनी आनन्दगुठी स्कुल स्वयम्भूको होस्टेलमा बसे । स्कुलको त्यो होस्टेलमा सिङ्गापुर अनि हङ्कङतिर बाबु भएका लाहुरेका छोराहरू थिए । उनीहरू हङकङबाट फर्किदा बजाउने सामान ल्याएका थिए । हेभी मेटल सुन्थे । तीनैले बजाएका गीतहरू उनले पनि सुने ।
त्यसरी गीततिर तानिए ।
स्कुलमा ड्रमसेट गितार आदि थियो । उनीहरूले त्यहाँ नै बजाउन थाले । बजाउने र गाउने साथीहरू भइसकेका थिए । उनीहरू स्कुलमा प्रोग्राम हुँदा अलिअलि बजाउँथे । होस्टेलमा उनी भन्दा सिनियर टिका प्रधान भन्ने साथी थिए । उनी गितार बजाउँथे । उ सहित अरू साथीहरू मिलेर सानोतिर ब्याण्ड नै फर्म गरे । डेड मेटल र हेभी मेटल गीत मात्र उनीहरू सुन्थे ।
एसएलसी दिएपछि १९८६ मा उनीहरूले ब्याण्ड फर्म गरे । सन् १९८७ मा पहिलो गीत पनि बनाए । उनीहरूको भूषण भन्ने साथीले गितारहरू दिएर मद्दत गरेका थिए ।
त्यसपछि उनीहरू सँगै बजाउने भए । बजाउने ठाउँ न्युरोडस्थित नबिन भन्ने साथीको घरमा थियो । यसै त धेरै भिडभाड हुने न्युरोड । उनीहरूलाई प्राक्टिस गर्न एकदमै गाह्रो लाग्थ्यो । दायाँबायाँ बाट हल्ला भयो भनेर गाली आउँथ्यो । बाबुआमासम्म पनि कुरा पुग्थ्यो । उ बेला ब्यान्डमा बजाउनु सहज काम कहाँ थियो र ?
अनि उनीहरूले गाइरहेको गाना अलिक बुझ्नेखालको भए पो मान्छेले केही नभन्नु । उनीहरू पुरै रक मेटल गीत गाइरहेका हुन्थे ।
त्यो बेला सङ्गीत सम्मेलन भनेर चोक चोकमा कार्यक्रम हुन्थ्यो । कहिले ठमेल, कहिले न्युरोडतिरका टोलहरूले आयोजना गर्थे । उनीहरूले त्यसमा धेरै बजाए ।
उ बेलाको माहौल नै फरक हुन्थ्यो । उनीहरूले बजाएको सुन्नेहरूले केही बुझ्ने जस्तो पनि लाग्दैन थियो । फ्री कन्सर्ट पाएको भएर सबै जना रमाइलो मानेर हेरिदिन्थे । उ बेला त बजाउनु नै ठुलो कुरा थियो ।
सबैजनाले बजाउन जान्ने भएपछि उनीहरूले क्लास लिन सुरु गरे । शिक्षक भए राजु गुरुङ । उनी अम्बर गुरुङको छोरा थिए ।
उनीहरूले नियमित सुन्ने आइरनम्यान नामको ब्याण्ड थियो । त्यसको रथ चाइल्ड भन्ने गीत चर्चित थियो। त्यो उनीहरूलाई खुब मनपर्ने । उनीहरूले त्यसैबाट प्रभावित भएर ब्याण्डको नाम राखे ‘रथ चाइल्ड’ ।
त्यो बेला उनीहरू सबै जना १७-१८ वर्षका थिए । ब्यान्डमा कान्छो चाहिँ उनी । उनी ड्रम बजाउने । गितारमा टिका प्रधान, बेस गितारमा दिल सुब्बा अनि भोकलमा अनिश स्थापित ।
उनीहरूले महेन्द्र पुलिस क्लब अनि भृकुटीमण्डपमा टिकट सहितको गीत गरे । त्यो सँगै अस्कल, शङ्करदेव तिरको वेलकम पार्टीहरूमा पनि बजाए ।
उनीहरू त्यसपछि जर्मनी गए ।
उ बेला जर्मनी जान भिसा चाहिँदैनथ्यो । उनीहरूको एउटा साथी उतै थियो । उनीहरूलाई उसैले बोलाएको थियो । त्यसबेला विदेशजाने लहर भरखर भरखर सुरु भएको थियो ।
बेस गिटारिस्ट दिल सुब्बा बाहेक ब्याण्डका सबै जना काम गर्नेगरि नै गएका थिए । उनको काम गाडीको ढोका बनाउने फ्याक्ट्रीमा थियो ।
छ महिना बित्यो । उनले थप भिसा पाएनन् । छ महिनामात्र बसेर उनी फर्किए । उनी बाहेक अरू चैँ उतै बसे ।
नेपाल फर्किएर उनले डिजे काम गर्न थाले ।
उनी जर्मनीमा बसेको ठाउँमा एउटा ब्याण्ड थियो । उनीहरूले उता गएर पनि ब्याण्डलाई निरन्तरता दिएका थिए । त्यहाँको पब तिर बजाउँथे । ब्यान्डमा दुई जना जर्मन नागरिक पनि थिए । त्यसमध्येका एक किबोर्डिस्ट डिजे काम गर्दा रहेछन् । उनैसँग राजुले पनि सिके । डिजे गर्ने सामान टर्नटेवल पनि त्यहाँबाटै चलाउन जाने । सङ्गत गर्दागर्दै आउने भइहाल्यो ।
उनी नेपाल आउँदा यहाँ कमलादी छेउमा ‘मुन्सन डिस्को’ थियो । ‘जोलिब्युज’ भन्ने क्लब भने ठमेलको सञ्चयकोष भवन अगाडि थियो । उनले त्यहाँबाट नै डिजे काम सुरु गरे । नयाँ नयाँ भएकाले एकदमै भिँड हुन्थ्यो । त्यसबेला डिजे तेन्जिङ, डिजे छिरिङ चर्चित थिए । उनीहरू उनी भन्दा सिनियर थिए ।
पछि सन् १९९२ मा उनका अरू साथीहरू पनि नेपाल आए ।
उनी फर्किएपछि यहाँ अर्को ब्याण्ड फर्म गरे । नयाँ सदस्यहरू थपेर नाम पहिलाकै ‘रथ चाइल्ड’ राखे । भोकलिस्टमा सुशील स्थापित, विदेश नगएका बेस गिटारिस्ट दिल सुब्बा, ड्यानियल कार्थक (जसले पछि रेसम अनि तालको पानी जस्ता गीतहरूमा बेस बजाएका थिए) आदि थिए । उनीहरू ब्याण्डको लागि भन्दा पनि क्यासिनोमा काम गर्ने हुनको लागि त्यो ब्याण्ड सेट गरेका थिए ।
त्यो बेला क्यासिनोमा ब्याण्डले बजाउने चलन पनि आएको थियो । याक एण्ड यति अनि अन्नपूर्ण होटल दुई ठाउँमा थियो। त्यहाँ काठमाडाैँमा भएका अरू ब्याण्डले खेल्थे । मुक्ति एण्ड रिभाइभल, क्याटेन्जा, लगायत ब्याण्डले पनि खेल्थे । दिन बिराएर सबैको पालो पालो हुन्थ्यो ।
त्यसपछि जर्मनीमा भएका पुराना ब्याण्ड सदस्यहरू नेपाल आए । यहाँ आएपपछि उनीहरूको पुरानो ब्याण्ड पुनः गठन भयो । छुटेकाहरू मुक्ति एण्ड द रिभाइभलसँग जोडिए ।
उनीहरू जर्मनीमा हुँदाखेरि नै ‘ग्राफिटि’ नामको रेस्टुरेन्ट देखेका थिए । उताको त्यहीबाट प्रभावित भएर उनीहरूले यता रेस्टुरेन्ट खोल्ने भए । नाम राखे ‘ग्राफिटी ।’
डिजे राजुको रेस्टुरेन्ट व्यवसायसँग पुरानै नाता थियो । उनको बुबा पहिला नाङ्लो रेस्टुरेन्टमा काम गर्थे । बच्चैदेखि रेस्टुरेन्ट जाने बानी भएर रेस्टुरेन्टमा बाजा बजाएको उनले देखेका थिए । त्यसैले रेस्टुरेन्ट प्लस ब्याण्ड राखेर सुरु गरेको थियो । सबैले पैसा जर्मनबाट कमाएर ल्याएको थियो त्यसैले लगानीको पनि डर थिएन । त्यसबेला उनीहरू सबैले मिलेर २० लाख जति लगानी गरे । सङ्गीतको सामानहरू आफ्नै लागि ल्याएका थिए । सामानहरू सबै आफ्नै गिटारिस्टको आफ्नै । त्यसबेला यहाँ ६, ७ लाख रुपियाँमा रोपनी जग्गा आउँथ्यो ।
त्यसबेला उनले १ लाख २० हजारको ड्रम बैंककबाट मगाएका थिए ।
अरू ब्याण्डहरू उनीहरूले ल्याएको सामान हेर्न आउँथे । कभवेब ब्याण्ड तथा निमा रुम्बा पनि आउँथे । ‘क्याटेन्जा’ले पनि बजाउँथ्यो । त्यो बाहेक ‘प्रिजम’, मुक्ति, आदिले पनि बजाए । रक म्युजिकसँग नजिक भएका सबैको मनपर्दो ठाउँ त्यो बन्यो । नेपथ्यबाट छुटेका कोही कोही ब्याण्ड सदस्यहरू पनि त्यता पुगिरहेका हुन्थे ।
१९७४ एडी ब्याण्डले पनि त्यहाँ बजायो । त्यसबेला उक्त ब्याण्ड भर्खरै खुलेको थियो । त्यसका संस्थापक निराकार याकथुङ्बा ‘हामी खेल्छौँ’ भनेर आएका थिए । उनीहरूले गेस्ट पनि लिएर आउँथे । त्यसबेला त्यसरी प्रत्यक्ष बजाउने ठाउँ थिएन । त्यसैले दुबैलाई विन विन सिच्वेसन हुन्थ्यो ।
उनीहरू हप्ताको बुधवार र शुक्रवार बजाउँथे । उनीहरू पुरै मेटल गीतको कभर बजाउँथे ।
तर साढे दुई वर्ष चलेपछि ग्राफिटी रेस्टुरेन्ट बन्द भयो । त्यो बन्द भएसँगै रथ चाइल्ड पनि बन्द भयो ।
उनीहरू सबै जना सङ्गीतमा थिए । त्यहाँ बजाउनेबाहेक अर्को ठाउँमा पनि बजाउने आफ्नै काम हुन्थ्यो । म्यानेजमेन्टको ज्ञान कसैलाई पनि थिएन । चाँडै बन्द गरेर निस्किन्थे । एक त हेर्ने मान्छे भएन । अनि अर्को हेर्नेले पनि राम्रोसँग हेरिदिएनन् । स्टोर लिकेज भएर रेस्टुरेन्ट डुब्यो ।
उनको डिस्कोको काम भने सँगसँगै चलिरहेको थियो । धेरैजसो अङ्ग्रेजी र हिन्दी गीतहरूलाई बजाइरहेका हुन्थे । उनलाई कहिलेकाहीँ कुनै नेपाली गीतलाई पनि बजाउन पाए हुन्थ्यो भन्ने लाग्थ्यो तर नेपाली गीतमा पन्च नै पुग्दैन थियो । पर्याप्त बिटहरू थिएनन् ।
त्यो कमजोरी देखेपछि उनलाई नेपाली गीत बनाऊँ भन्ने लाग्यो ।
त्यही बेला उनले ‘च्याङ्बा ओई च्याङ्बा’ गीत थाहा पाए ।
गोपाल योञ्जनको श्रीमती रिन्छेन योञ्जन धेरै म्युजिक अवार्ड सोहरू गर्थिन् । नेपाल वान टेलिभिजनले त्यसलाई देखाउँथ्यो । त्यस्ता अवार्ड शो को लागि म्युजिकको जिम्मा उनले पाउँथे । त्यसको अभ्यास उनको घरमा हुन्थ्यो । रिन्छेनसँग उनी त्यहाँबाट नै नजिक भएका थिए । उनी त्यो बेला मिस नेपालमा पनि म्युजिक कोरियोग्राफी गर्थे । सात आठ वर्षसम्म गरेका थिए । क्याटवाकमा बज्ने गाना उनको नै हुन्थ्यो ।
त्यसरी थाहा पाएको गीतलाई उनले सुने । रिन्छेनसँग अनुमति लिए ।
कम्प्युटरमा मिक्स गरेर पन्च वाला बिट हाले । राम्रै सुनियो । उनी त्यति बेला क्लब डाइनेस्टीमा बजाउँथे । गीत बनाएपछि त्यहाँ केही समय बजाए पनि ।
सबैले मनपराएपछि उनले त्यसलाई सन् २००६ मा निकाले ।
त्यो बेला रियाज म्युजिक कम्पनीले गीत निकालिदियो । त्यो बेला अरू कलाकारहरूले पाउने भन्दा धेरै पैसा उनलाई दियो । उनले त्यो गीत मात्र हैन अरू सात वटा डिस्कोमा बजाउन मिल्ने पन्च सहितको गीत पनि बनाएका थिए । भएका सबै गीतको लागि अनुमति लिएका थिए । त्यसमा मिरा रानाको ‘को हो त्यो जसले मलाई’ अनि ‘बाडुली’ जस्ता गीतहरू पनि थिए । एउटा पूर्ण एल्बम नै निकालिएको थियो ।
गीत खुब चल्यो ।
त्यसले उनलाई परिचित मात्र बनाएन डिजेको पेसालाई पनि चिनायो । उनीभन्दा पहिला पनि डिजेहरू थिए । उनको गीतले ती सबैलाई पहिचान दियो । त्यो गीतपछि मान्छेहरूलाई डिजे के हो भन्ने पनि थाहा भयो ।
सन् २०१३ मा ‘तिम्रो त्यो हँसिलो मुहारको’ भन्ने गीत भएको अर्को एल्बम पनि निकाले । त्यो बाहेक ‘मोहनी लाग्ला है’, ‘नक्कली कान्छी को’ आदि गीतहरू थिए ।
उनको लागि सामान्य गीतलाई क्लबमा चाहिने बिटमा हाल्नु चुनौतीपूर्ण काम हो । त्यसको लागि बेस र ड्रममा एकदमै ध्यान दिनुपर्छ ।
उनी कुनै बेला धिमे बजाउँथे । त्यसकै बिटमा हुर्किरहेका थिए । अहिले उनले ठमेलमा नयाँ रेस्टुरेन्ट खोलेका छन् । केही गीतहरूमा पनि काम गरिरहेका छन् ।
अनि त्यो बाहेक धिमेको प्रोजेक्ट पनि गर्ने योजनामा छन् ।
Wrath child ho band ko name
Wrathchild- One word!