एमालेले गठबन्धनलाई तोड्ने षडयन्त्र गर्दैछ, सचेत हौँ : माधव नेपाल (भिडिओ)

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धनलाई तोड्ने अनेक षडयन्त्र भईरहेको दाबी गरेका छन् ।

नेपालले काँग्रेसलाई कम्युनिष्टहरुको शत्रु हो भन्ने पारेर पनि सत्तारुढ गठबन्धन फुटाउने सक्ने भएकाले त्यसप्रति सचेत रहन पनि आग्रह गरेका हुन् ।

शनिबार काठमाडौँमा आयोजित ‘समाजवाद: बहस र संघर्ष’ विषयक कार्यक्रममा बोल्दै उनले एमालेप्रति लक्षित गर्दै कम्युनिष्ट भनिएकाहरूले पनि प्रतिगामीहरूसँग हातेमालो गरिरहेकाले त्यसलाई बुझेर आफूहरूले पनि सत्तारुढ गठबन्धनलाई कायम राख्दै आफ्नो शक्ति वृद्धि गर्ने कुरामा केन्द्रित हुनुपर्ने समेत बताए ।

नेपालले जनतासँगको सम्बन्धलाई एकाकार गर्दै अघि बढ्नुपर्नेमा जोड दिँदै भने, ‘घुमिफिरी शत्रु भनेको काँग्रेस हो भन्ने पारेर अनि अहिलेको गठबन्धनलाई तोड्न खोज्ने अनेक षडयन्त्र हुन सक्दछ । त्यस कारण अघि मैले भने व्यवहार सोचेजस्तो हुँदैन । सिद्धान्त सोचेजस्तो हुँदैन । नेपालको यथार्थको अहिलेको धरातलमा टेकेर जानु पर्दछ । किन ? यहाँ कम्युनिष्ट भनिएकाहरूले पनि प्रतिगामीसँग हातेमालो गरिरहेका छन् । यो सबै अवस्था भित्र हामीले अहिलेको सन्दर्भमा राजनीतिक मित्रहरू र सँगसँगै उसमा रहेका राजनीतिक कमजोरीहरू, उसका आफ्नै सीमाहरू बुझेर उसमाथिको निर्भरता होइन, आफ्नो शक्ति वृद्धि गर्ने कुरामा जुट्नु पर्ने भएको हुनाले त्यसलाई समेत ध्यानमा राखेर हामी अघि बढौँ ।’

अध्यक्ष नेपालले व्यक्तिवाद हाबी भएकै कारण तत्कालीन नेकपा समेत विभाजित हुन पुगेको उल्लेख गर्दै त्यसबाट सिकेर अघि बढ्नुपर्ने बताए । उनले पुँजीवादले मुनाफा मात्रै हेर्ने भएकाले पनि जनताको हितका लागि समाजवादको विकल्प नभएको जिकिर गरे । त्यस अवसरमा अध्यक्ष नेपालले पार्टीका नेता, कार्यकर्ताहरूलाई अध्ययनशील बन्न पनि सचेत गराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *