महिलाको लुगा नाप्ने इन्चिटेपमार्फत ओङ कार वाइले देखाएको शहरको लम्बाई
कुनै फिल्म यस्तो हुन्छ जसलाई हेरिसक्दा खासै केही हेरेको जस्तो लाग्दैन । त्यहाँ भएको घटनाले कतै पुर्याएजस्तो लाग्दैन । तर त्यो फिल्म थाहा नै नपाई शरीरमा पसिसकेको हुन्छ । भाङको नशा जस्तो त्यसका दृश्य अनि चरित्रहरू रगतमा बग्न थालिसकेका हुन्छन् । केही दिन त्यसरी रुमल्लिएपछि तीनले पुनः त्यही फिल्मतिर फर्काउँछन् । अनि फिल्म बुझिन्छ ।
मलाई ओङ कार वाइका फिल्महरू त्यस्तै लाग्छन् । हेरिसक्नासाथ भन्दा हेरेको केही दिनपछि बुझ्न थालिने । अनि हरेकपल्ट बुझ्दा झन् झन् बुझ्दै गइने ।
र त्यस्तै लाग्छ उनको ‘ह्याण्ड’ फिल्म ।
यो फिल्ममा कथा खास केही पनि छैन । उनका ‘इड द मुड फर लभ’ जस्ता सिनेमा चाखिसकेपछि यसमा पनि त्यस्तै केही थप चरित्र नै देखिने हुन् । तर पनि यो फिल्ममा केही छ । जुन उनका अरू फिल्महरूमा छैन । यसमा कुनै चरित्रले केही भन्ला र केही भइदेला जस्तो पनि हुँदैन । कुनै खास द्वन्द्व पनि छैन । चरित्रहरू धेरै नजिक पनि पुग्दैनन् । तर पनि यसमा केही छ जो हाम्रो मानवीय जीवनको धेरै नजिक छ ।
जस्तो कि यहाँ एक महिला छिन् । आफ्नो लुगा सिलाउने मान्छेको एप्रेन्टाइस भएर एउटा युवक उनलाई भेट्न आउँछ । उ उनलाई अरू युवतीलाई देखेको भन्दा धेरै नजिकबाट देख्छ । उनले उसलाई ‘सेड्युस’ गरिदिन्छिन् ।
उ त्यही यादलाई बोकेर उनलाई प्रेम गरिरहन्छ । उ त्यसैको कारण टेलरिङ पेशालाई प्रेम गरिरहन्छ ।
कसैले छोएको कुरा कति लामो समयसम्म कसैको स्मृतिमा अडिइदिन्छ ?
हामी अक्सर सोच्छौँ धेरै कुरा बिर्सिइन्छ । एउटा घटनापछि अर्को घटना हुन्छ । त्यो घटनाले कसैलाई पुर्दै जान्छ ।
यो फिल्मले भन्छ त्यो पुरिँदैन । त्यो रहन्छ । प्रेमील छ भने प्रेम भएर रहन्छ । पीडादायी छ भने पीडादायी भएर रहन्छ । जसरी यो फिल्मको एक पुरुष पात्रमा यौनकर्मी महिलाले आफ्नो लिङ्ग छोइदिएको क्षण रहिरहेको छ ।
त्यसैले पनि मान्छेहरू कसैले कसैलाई किन भुल्न नसकेको भनेर भनिरहेका हुन्छन् । तर भुल्न नसकेको कुरा त्यो मान्छेलाई मात्र थाहा हुन्छ जो सँग भुल्न नसक्नुको कुनै कारण छ । त्यो कारण ठुलो चाहिँदैन । यो फिल्ममा महिलासँगको प्रेमको भोको युवकलाई उनले पहिलो दिन छोइदिएको त्यही छुवाइ नै उनीसँग प्रेम गरिरहने बनाउन काफी छ । अथवा उसलाई यदि त्यस्तो हुनु नराम्रो लागेको भए उसलाई नराम्रो लाग्छ त्यति पल नै काफी छ ।
फिल्ममा धेरै ठुलो केही छैन । सेटिङ सामान्य छ । धेरैजसो दृश्य केही लोकेसनमा नै सकिएका छन् । तर त्यसको कारण छ । व्यस्त शहरको दुई बाध्यतामा भएका चरित्रसँग जाने ठाउँ पनि धेरै हुँदैन । ओङ कार बाइले ठाउँ नभएर त्यसरी खिचेका पक्का हैनन् । बरु उनले खिचेको घर, कम लाइट आएको टेलरिङ गर्ने ठाउँ सबै अर्थपूर्ण छन् । उनी ती मार्फत भनिरहन्छन्, ‘यो शहरमा सबैभन्दा चम्किला लुगा जसले बनाउँछन् तीनले काम गर्ने ठाउँमा नै कम उज्यालो छ । अनि सबैभन्दा चम्किला लुगा जसले लगाउँछन् ती भित्रको धेरै कुरा अँध्यारो छ ।’
ती महिला यौनकर्मी हुन् । उनको शरीरको चार्म घट्दै गएको छ । ग्राहकहरू बिच्किँदै गएका छन् । कुनै रुग्ण बन्दै गरेको शहरजस्तो । वा राजमार्ग अन्तबाट गइदिएपछि छुटेको कुनै बस्ती जस्तो । उनलाई छोडेर जानेहरू धेरै छन् । उनी त्यो कुरा कसैलाई भन्न सक्दिनन् । बरु फोनमा धेरैसँग बाझ्छिन् । उनी किन कोही आफूसँग आउनेसँग प्रेमले बोल्दिनन् ? कि उनीसँग कोही पनि प्रेमले बोल्दैनन् ?
हुनसक्छ उनी त्यसरी बोल्छिन् किनकि ती उनीसँग बोल्न आउँदैनन् । एउटा दृश्यमा उनी सबैभन्दा दुखी छिन् तर उनले कानमा लगाएको झुम्का टल्किरहेको छ । अर्थात् शहरमा धेरै मान्छे भित्रबाट मान्छे दुखी छन् तर उनीहरूले लगाएको बाहिरी आवरण जसोतसो चम्किरहेको छ ।
दुई चरित्रबिचको यौन आकर्षणलाई ओङ कार वाइले उत्कृष्ट ढङ्गले देखाएका छन् । उनले छोइदिइसकेपछि माछा खाँदै गर्दा युवक यस्तरी खान्छ कि मानौँ उनीसँग मुखमैथुन गरिरहेको होस् । उनी भातलाई पातमा हालेर यसरी चलाइरहेकी छन् मानौँ त्यो उसको लिङ्ग हो । दुवै चरित्रको इरोटिक इम्याजिनेसनलाई सिनेमाटोग्राफरले सहज तरिकाले उतारेका छन् । किनकि मान्छेले जुन कुरा सोचिरहेको छ आफ्नो वरपर त्यही कुरा देख्छ ।
लुगा सिकाउने मान्छे र लुगा लगाउने मान्छे बिचको सम्बन्धलाई ती सँग सम्बन्धित सामाग्री मार्फत पनि उनले उत्कृष्ट तरिकाले खेलेका छन् । उसले उनको लुगामा आइरन लगाउँदा यस्तरी लगाउँछ कि मानौँ उ उनीसँग नै सुतिरहेको छ ।
आइरन आफैँमा पनि बिम्ब भएको छ । कच्याकुचुक भइसकेका चिज पनि सम्म्याउने सङ्घर्षरत कुनै तातोको ।
यस्तै क्यामेराको सिफ्ट पनि ढिलो छ । अड्की अड्की चलेको जस्तो लाग्छ । एक ठाउँबाट अर्को ठाउँमा पुग्न अड्किन्छ । तर त्यसको पनि अर्थ छ । उनीहरूको जीवन जसरी घिसिपिटिमा चलिरहेको छ । त्यो ठाउँको प्रक्रिया जसरी भइरहेको छ । त्यहाँ जति उज्यालो छ । त्यसलाई क्यामेराको सिफ्टले बताइदिन्छ ।
उनी आफ्नो रहरमा भन्दा पनि अरूको रहरमा बाँधिएकी छन् । उनको सौन्दर्यको मापन अरूले नै गरिदिन्छन् । आफ्नो लुगाको नाप लिइरहेको युवक उनलाई सोध्छ ‘यो टाइट त छैन नि है ।’
उनी भन्छिन् ‘म थोरै मोटाएँ हो ?’
‘त्यति हैन । पहिला २३ थियो अहिले २४ छ ।’ उ भन्छ ।
‘नाप नबढाउनु । म तौल घटाउँछु ।’
तौलको कुरा गर्दा क्लोज सटमा फिताले कम्मर नापेको कुरा देखिन्छ । त्यो आफैँमा सिम्बोलिक छ । उनको सौन्दर्यको मापन उनले हैन अरूले गरेको छ । हाम्रोमा पनि बेलाबेला बडी सेमिङ गरिएका प्रसङ्ग आइरहेका हुन्छन् । उनीहरूको शरीर कस्तो हुनुपर्छ भन्ने निर्धारण अरूले नै गरिरहेका छन् ।
अनि उनी स्वयं पनि शहर अर्थात् पुँजीवादी व्यवस्थामा यस्तरी गाँजिएकी छन् कि बरु आफ्नो शरीरको एक इन्च घटाउनु उनको लागि सहज छ । यदि लुगाको नाप बढाउनुपर्यो भने उनको लागि धेरै कुरा महँगो पर्छ ।
उनको चरित्रले पनि धेरैपल्ट कस्मेटिक भइसकेको पुँजीवादी व्यवस्थालाई हिर्काइरहन्छ । फिल्ममा उसले सुरुमा उनलाई पर्खिँदा टेबलमा राखिएको नक्कली फूलमा क्यामेरा अडिन्छ । उ भित्र गएर निक्कैबेर कुरा गरिसक्दा पनि क्यामेरा त्यहाँबाट हट्दैन । यस्तो लाग्छ उनी जुन रूपमा उ सँग प्रस्तुत भएकी छन् त्यो बेला उनी केवल एक नक्कली फूल जति मात्र हुन् ।
पुँजीवादले धेरैलाई नक्कली फुल जस्तो बनाइदिँदै छ ।
एउटा पुरुषले तिमी पहिलाजस्तो छैनौ भन्दिएपछि उनी ऐनामा हेर्छिन् र कपाल मिलाउँछिन् ।
उनको त्यो आँखाले पितृसत्तालाई हेरिरहेको जस्तो लाग्छ ।
उनी पटक पटक झुट बोल्छिन् ।
जसरी मान्छे आफ्नो उपस्थितिमा नहाँसुन् भनेर शहरमा झुट बोलिरहेका हुन्छन् । नेताहरू झुट बोलिरहेका हुन्छन् ।
उनी पनि युरोप जान लागेको भनेर झुट बोल्छिन् ।
यहाँ बिहे गर्दा होस् वा आफ्नो जीवनको कुनै निर्णय लिँदा, मान्छे नहाँसुन् भनेर धेरैले अरूको लागि गरिरहेका हुन्छन् । अरूको लागि गहना किनिरहेका छन् ।
सोच्दै जाँदा आफ्नो पेशा सकिएको सोच्दै गरेकी ती यौनकर्मी युवतीको चरित्रको कुनै न कुनै हिस्सा हाम्रो समाजका अनेक चरित्रहरूमा पनि सरिजान्छ ।
रहिरहन्छ ।
आफूमा रहेको कुनै कुरा कति समयसम्म रहिरहन्छ ?
ट्रेलर: