भोगाइबाट निस्किएको ‘म दामी छु’
बियोन्सेको ‘रन द वर्ल्ड’ अनि ए नि मेरीको ‘परफेक्ट’ जस्ता गीत सुन्दा समृद्धि राईलाई नेपाली केटीहरूले पनि रिलेट गर्ने खाले केही लेख्छु भन्ने भइरहन्थ्यो । सोच्थिन् ‘केटीहरूलाई हौसला दिने एउटा यस्तै दामी गीत लेख्नु छ ।’
एक दिन उनी आफ्नो साथीलाई घरमा पर्खिरहेकी थिइन् । हातमा गिटार थियो । बजाउँदै गर्दा एउटा नयाँ सङ्गीतको टुक्रा बज्यो । उनलाई त्यो मिठो लाग्यो । उनी त्यसमै खेलिरहिन् ।
त्यसरी ‘म दामी छु’ को हुकलाइन बन्यो । १५ मिनेटमै बाँकी गीत आइहाल्यो ।
पहिलो हरफमा उनको आफ्नो व्यक्तिगत भावना आयो । आफ्नो आमा राई र बाबा क्षेत्री भएकोले उनलाई मानिसहरूले ‘नाक चाहिँ आमा मा गएछ, आँखा बाबा तिर गएछ’ भन्दै कमेन्ट गर्थे । त्यसले उनलाई असर गर्थ्यो । हाम्रो नेपाली समाजमा एक अर्काको तौल, उचाइ, रङलाई लिएर सहजै टिप्पणी गर्ने त्यस्तो व्यवहारको विरुद्धमा उनलाई लेख्नु रहेछ । त्यसले घटाउने आत्मविश्वासलाई माथि तान्नु रहेछ । त्यसैले गीतमा शब्द आयो:
‘म म्यागेजिन कभरको मोडेल होइन
३६, २४ खै के के पनि छैन
आँखा बाबाको, नाक आमाको पाएँ रे
गाला घटाए म सुपरफ्लाइ रे
तै नि
म जे छु ठिकै छु
म दामी छु , म दामी छु
म दामी छु , म दामी छु ‘
दोस्रो भाग लेख्दै गर्दा सामाजिक विषय अझै आयो । केटीले कसरी चर्को स्वरमा हाँस्न नहुने कसरी केटा जस्तै हिँड्नु हुँदैन भन्ने समाजको दोहोरो मापदण्ड उनलाई बिझाइरहेको हुन्थ्यो । त्यसलाई भन्ने मौका पाएको जसरी त्यो अनुच्छेद जहाँ उनले महिलाहरूलाई मन लागे जसरी हाँस्न र आफ्नो जीवनलाई पूर्ण रूपमा बाँच्न प्रोत्साहित गर्दै लेखिन्;
‘हिँड्दा हरिण झैँ चाल छैन मेरो
भन्छन्, “केटा झैँ पारा यो के हो?”
ठुलो हाँसो मेरो रोकेर रोकिन्न
सर्वगुण सम्पन्न पनि म देखिन्न
तै नि
म जे छु ठिकै त छु’
चिसो मौसम थियो । उनले गीत बनाउँदै गर्दा आमाबाबु तल्लो तलामा बसिरहेका थिए । उनी तुरुन्तै झरेर नयाँ गीत सुनाइन् ।
गीत सकिएपछि आमाको पहिलो प्रतिक्रिया आयो ‘कस्तो आफैलाई दामी छु भनेको त ।’
आमाले त्यसरी गाउँदा मानिसहरूले कस्तो सोच्लान् भन्ने परिप्रेक्ष्यबाट भनेकी थिइन् । जुन स्वाभाविक पनि थियो । उनले गीतमा आमाले जनाउने जस्तै प्रतिक्रियालाई नै प्रहार गरेकी थिइन् ।
गीत रेकर्डिङका लागि उनी बिजेश श्रेष्ठको नेस स्टुडियोमा गइन् । लिरिकल भिडियो बनाएर युट्युबमा हालिन् । दुई लाख मानिसहरूले हेरिसकेपछि त्यसको पुरा भिडियो नै बनाउने सोचिन् ।
हिप-हप डान्सर समूहसँगको सहकार्यमा म्युजिक भिडियो बन्ने भयो । उनीहरूले विभिन्न स्थानमा लाइभ प्रस्तुति दिइसकेका नै थिए । साथै अन्य धेरै म्युजिक भिडियोहरूमा पनि काम गरेका थिए ।एक दिन झम्सिखेलस्थित मोक्ष र कर्मा क्याफे अनि अर्को दिन कीर्तिपुरमा छायाङ्कन गरेर भिडियोको सुटिङ सकियो ।
भिडियो युट्युबमा बबाल चल्यो । उनको चर्चा पनि बढ्यो ।
उनले गीतमा बोलेका कुरा धेरै युवतीहरूको आवाज थियो । उनीहरूलाई आफू जस्तो हो त्यस्ते स्विकार्न गीतले हौसला दिएको थियो । धेरैले त्यसमा आफ्नो कथा पाएको भनेर कमेन्ट गरे । तर सबै कमेन्टहरू सकारात्मक पनि थिएनन् । केहीले उनको आँखा खोलिदिए ।
एक जना व्यक्तिले उनको गीतको विषयवस्तु महिला सशक्तीकरणको पक्षमा भएको भए पनि अनि शरीरको आकार, उचाइ र रङ्गका आधारमा भेदभाव गर्नुहुन्न भनेर भनेको भए पनि भिडियोमा त्यो विषयवस्तुलाई चित्रण नपाएको प्रतिक्रिया दिए । त्यो कुराले उनले पनि मनन् गरिन् । त्यसैको प्रभावस्वरुप पछि उनले महिला दिवसको अवसर पारेर नेपालमा भएका वकिल, डाक्टर, पाइलट, मस्तिष्क सर्जन, थिएटर कलाकार आदिलाई समेटेर अर्को भिडियो बनाइन् ।
उनको अनुसार नेपालको मिडियामा पनि महिला सेलिब्रेटी र मोडलको मात्र कुरा आइरहेको हुन्छ । त्यो बाहेक अन्य विविध पेशामा भएका महिलालाई प्रस्तुत ढाँचा तोड्ने गरी नेपाली मिडियालाई लाग्न उनी आग्रह गर्छिन् । उनले बनाएको गीतको उद्देश्य पनि त्यही नै हो ।
‘दामी छु’ गीतलाई नेपालमा मात्र हैन अन्य देशहरूका नेपाली भाषा नै नबुझ्ने दर्शकहरूले पनि मनपराएका छन् । कतिले अनुवाद संस्करण पनि राख्न सुझाएका छन् । सङ्गीतले देशको सिमाना कटेर बाहिरसम्म पुगेको थाहा पाउँदा उनलाई खुसी लाग्छ ।
उनले आफ्नो स्कुलिङ सेन्ट मेरिज स्कुलबाट गरेकी थिइन् । त्यहाँ केटीहरूमात्र पढ्थे । उनका दुई दाजुभाइ छन् तर पनि उनले घरमा वा विद्यालयमा महिला र पुरुषबिचको भेदभाव कहिल्यै महसुस गर्नुपरेन । तर आफ्नो भित्री संसारबाट बाहिर निस्केर वास्तविक संसारको सामना गरिसकेपछि भने धेरैतिर पितृसत्तात्मक समाजको सामना गरिरहनुपर्यो ।
उनले काम गरेको स्थानमा घटेको एउटा घटना उनलाई अझै याद छ । उनी आफ्नो टिम लिड गरिरहेकी थिइन् । बैठक सञ्चालन भइरहेको थियो । संस्थाका सबै सदस्य त्यहाँ थिए । उनले आइडिया सुनाएपछि एक जना उमेरमा सिनियर तर काममा जुनियर पुरुषले ‘पोथी बासेको’ भने ।
उनले तत्कालै के भनिएको हो बुझिनन् । सोचिन् उनी त्यो पोजिसनमा भएको बेलामा कसैले त्यस्तो के भन्न सक्ला र । तर त्यो कुरा कताकता बिझिरहेको भने थियो ।
घर पुगेपछि उनले आफ्नो दाजुभाइसँग सबै कुरा सुनाइन् । भाइ त रिसाएर किन केही नभनेको भने । अनि पो उनले त्यो बेला आफूलाई त्यसो भन्नु गलत थियो भन्ने महशूस गरिन् । उनी एक महिला भएर पुरुषको बोस भएको कारण त्यस्तो टिप्पणीको सिकार हुनुपरेको थियो । त्यो पितृसत्तात्मक समाजको यथार्थ थियो ।
यो र यस्तै घटनाहरूको प्रभाव उनका अर्का गीतहरूमा पनि छन् । अर्को गीत ‘समाजको कुरा’ मा उनले छोरालाई ठुलो मान्छे बन्न सिकाउने तर छोरीलाई कसैको श्रीमती र बुहारी बन्न सिकाउने गरेको कुरालाई प्रस्तुत गरेकी छन् । उनको अनुसार समाजमा खाडल भएको ठाउँ नै त्यही हो । अगिका पुरुष सहकर्मीले सबैको सामुन्ने उनीमाथि यस्तो टिप्पणी गर्ने हिम्मत गर्नुको अर्थ उसको पुरुष अहङ्कारलाई चोट पुगेर हो । संभबत उ हुर्किँदै त्यस्तो आफूले गर्न पाउनुपर्छ भन्ने सोचेर हुर्किएको थियो । उसलाई सायद लिडर हुन सिकाइएको थियो तर अरू कोही आफ्नो लिडर हुन सक्छ र त्यो महिला पनि हुनसक्छ भन्ने कुरा सिकाइएको थिएन ।
उनका आमाबुबा दुबै जना काम गर्थे । त्यसैले पनि केटी वा महिला यस्तै हुनुपर्छ भन्ने पितृसत्तात्मक मानसिकता समृद्धिको हुर्काइमा आउन दिएनन् । हुर्कँदै जाँदा उनले आफ्नो पूर्ण क्षमता आफैँ पत्ता लगाइन् र अरूभन्दा फरक किसिमको आत्मविश्वास प्राप्त गरिन् । तर त्यति हुँदाहुँदै पनि उनले बेलाबेला पुरुषहरूबाट नजानिँदो तरिकाले पितृसत्तालाई झेल्नुपरिरहेको हुन्छ ।
उनले आफ्नो म्युजिक भिडियो छायाङ्कन गर्दा पनि विभेदको सामना गर्नु परेको थियो । उनी आफ्नो म्युजिक भिडियो आफै निर्देशन गर्न रुचाउँछिन् । त्यो भिडियोको क्यामेरा म्यान उनीभन्दा कान्छो थिए । उनी उनलाई भिडियो कस्तो बनाउन चाहेको र कसरी बनाउने भन्ने बारेमा निर्देशन दिइरहेकी थिइन् । उनले बोलुन्जेल ती भाइले सुने अनि अन्तिममा अपमानजनक स्वरमा ‘केटी मान्छे भएर जान्ने भएको’ जस्तो व्यङ्ग्यात्मक जवाफ दिए । उनले यो घटना आफ्नो साथीलाई सुनाइन् । ती भाइले आफ्नो जीवनमा कहिल्यै पनि नेतृत्व गर्ने महिला नभेटेको कारणले त्यस्ता महिलाहरूप्रतिको उसको दृष्टिकोण त्यति नीच भएको हो भनी साथीले जवाफ दिए । उनलाई लाग्छ समाजमा भएका मानिसहरू अनि विशेष गरी पुरुषहरूको वास्तविक स्वभाव उनीहरूसँग काम गर्दा मात्रै प्रतिबिम्बित हुने रहेछ ।
त्यस क्रममा उनले निभाएको भूमिकालाई कति धेरै मानिसहरूले आश्चर्य मानेर हेरेको पनि उनीसँग अनुभव छ । एक पटक उनी जोमसोम गएकी थिइन् । त्यहाँ पनि उनी टोलीको नेतृत्वमा नै थिइन् । उनको भिडियोग्राफर बाइक चलाउन नसक्ने भएकाले उनले पूरै यात्राभर आफैले बाइक कुदाएकी थिइन् । गाउँका सबै बालबालिकाहरू ‘केटी ले बाइक चलाको’ भन्दै हेर्न दौडिएका थिए । उनले पाइन्ट लगाएर हिँडेको वा साइकल चलाएको देखेर सबैले महिला भएको थाहा पाउँदा पाउँदै पनि सर भनेर सम्बोधन गरेका थिए ।
गायनको अलावा समृद्धि यात्रा पनि गरिरहेकी हुन्छिन् । उनले सन् २०१६ देखि यात्रा सुरु गरेकी थिइन् । त्यति बेलासम्म महिला एकल यात्री निकै कम थिए तर अहिले सन् २०२३ मा यो सङ्ख्या बढेको छ । उनी महिलाका लागि नेपाल सबैभन्दा सुरक्षित स्थान भएको ठान्छिन् । विशेष गरी महिला भएकै कारण कतिपय ठाउँहरूमा पुरुषहरू भन्दा राम्रो कोठा दिइने र माया पनि पाइने अनुभव छ ।