चामलमा नेपाललाई आत्मनिर्भर बनाउँदै आरजु (भिडिओ)
काठमाडौँ । पछिल्लो समय भारतले आफ्नो देशबाट हुने गरेको चामलको निर्यातमा रोक लगाएको छ । आफ्नो देशमा खाद्य संकट हुन सक्ने आकलनको आधारमा उनले निर्यात रोकेको हो । तर, यसको सिधा असर नेपालले भोग्नुपर्ने भएको छ । किनभने नेपालमा चामल तथा धान निर्यात गर्ने भारत एकमात्र देश हो भन्दा हुन्छ । वैदेशिक व्यापारको पछिल्लो तथ्यांकलाई हेर्ने हो भने नेपालले झण्डै ३२ अर्बको चामल र १८ अर्बको धान भारतबाट आयात गर्ने गरेको छ । यसरी नेपालले धान र चामल गरी वार्षिक ५० अर्बको आयात भारतबाट गर्छ । यसबाहेक पनि गहुँ, आँटालगायत अन्य खाद्यान्न पनि आयात गरिरहेको छ । नेपालीको प्रमुख खाद्य सामग्री भनेको चामल नै हो । देशलाई आवश्यक मध्ये झण्डै २० प्रतिशत चामलका लागि हामी आयातमा निर्भर छौँ । भारतबाट चामल आयात रोकिँदा नेपालमा पनि चामल महँगिने र अभाव हुने देखिन्छ । त्यसो हुँदा नेपाल चामलमा आत्मनिर्भर हुनु नितान्त आवश्यक छ । यसले धानचामल किन्न हामीले खर्चिनु परेको ५० अर्ब रुपैयाँको बचत हुन सक्छ । यसका लागि देशभित्र धानको उत्पादन बढाउनु आवश्यक छ ।
धान खेतीलाई व्यवसायिक र लाभ हुने खेतीको रुपमा विकास गर्दै चामलको उत्पादन बढाउन सके हामी प्रमुख खाद्य समग्रीमा आत्मनिर्भर हुने छौँ । र, निर्यातसमेत गर्न सक्ने अवस्थामा पुग्न सक्छौँ । यद्यपी, यसका लागि विउविजन, सिँचाई, यान्त्रिकरण, मल र किसानलाई सरकार र व्यवसायीको सहजीकरण आवश्यक छ । यही तथ्यलाई आत्मसात गर्दै हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयर प्रालिका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत धानको उत्पादन, प्रशोधन र बिक्री वितरणमा तल्लिन भइरहेका छन् । देशमा आत्मनिर्भरताको अभिवृद्धि, रोजगारी सिर्जना, खाद्य सुरक्षाको अभिवृद्धि र समृद्धि ल्याउन सकिने भरपर्दो आधार कृषि नै भएको ठम्याउँदै यो व्यवसायमा आएको बताउने उनले कोशी प्रदेशको मोरङमा आरजु राइस मिलको स्थापना गरेर यसतर्फ दरिलो पाइला अघि सारेका छन् ।
किसानले उत्पादन गरेको धान किन्ने अग्रीम सर्तसहित खेती गराउने र धान लगाउने सिजनमै न्यूनतम समर्थन मूल्य तोक्ने उनको मिलको प्रावधानका कारण अहिले मोरङका किसान धान खेतीतर्फ आकर्षित भइरहेका छन् । झण्डै ४ हजार विगाहा क्षेत्रफलमा उनले किसानसँगको सहकार्यमा नेपाली धान ‘रामधान’को खेती गराएका छन् । चैते र मंसिरमा पाक्ने गरी दुई सिजनमा उनले खेती गराउँदा किसानसमेत लाभान्वित भएका छन् । किसानले उत्पादन गरेकाे धानकाे अधिकतम मूल्य दिइरहेका उनले बजारमा ल्याएका ‘आरजु’ ब्राण्डको चामल पनि प्रतिकेजी ५० रुपैयाँ सस्तोमा बिक्रीवितरण गरिरहेका छन् ।
उनी भन्छन्, ‘हजारौँ किसानलाई लाभान्वित गराउन र हजारौँलाई व्यवसायिक कृषिमा लगाउन हामीले मार्गदर्शन गरेका हौँ । यसमा नाफा मात्रै हेरेका छैनौँ ।’ आरजु राइस मिलका कार्यकारी अध्यक्षसमेत रहेका वीरेन्द्रबहादुर बस्नेतको देशलाई चामलमा आत्मनिर्भर बनाउने लक्ष्यमा सबै किसान तथा व्यवसायीले आआफ्नो तर्फबाट साथ दिनसके चामलमा भारतमाथिको परिनिर्भर केही वर्षमै हट्न सक्ने देखिन्छ ।
यिनै विषयको सेरोफेरोमा रहेर हामीले राखेकाे प्रश्नबारे यसाे भन्छन्, आरजु राइस मिलका कार्यकारी अध्यक्ष बस्नेत :
यस्ताे छ भिडिओ: