मकालु अनुवाद

कविले कवितामार्फत युद्ध लड्न सक्छन् : युक्रेनी अनुवादक बोरिस ड्राल्युक

टिभीमा उनीहरू भन्दैनन् —

त्यो अवस्था जुन पृथ्वीभित्र छ, 

त्यो अवस्था जुन संवादले नभेट्ने ठाउँमा छ

त्यहाँ यसबारे कुनै कुरा हुने छैन 

अहँ कुनै कुरा हुने छैन 

युक्रेनी कवि एनस्टासिया अफानासिफा को ‘अन टिभी द न्युज सोउड’ भन्ने कविताबाट 

मैले बोरिस ड्राल्युकलाई केही प्रश्न सोधेँ । उनले सजिलै जवाफ दिन माने । हामी यसरी नै युद्धबारे थाहा पाउँछौँ । कसैसम्म पुगेर, कुरा गरेर, पढेर, प्रश्न सोधेर अनि भग्नावशेषको बिचबाट नै भए पनि कसैले समाइहाल्छ अनि मुस्कुराइहाल्छ कि भन्ने आशा गर्दै टाढाबाट नै सही, हात दिएर । यो विषय ती सबै मानिसप्रति सम्मान हो, जो एउटा गोलीले आफ्ना सबै सपना समाप्त गर्न सक्छ भन्ने थाहा हुँदा हुँदै दिनहुँ सुतिरहेका छन् । 

टिभीमा यो कुरा उनीहरू भन्ने छैनन् । तर हामीसँग शब्द छ र त्यसलाई लेख्ने कागज छ । हामी यसमार्फत युद्ध, त्यसले गुमेका कुरा र  प्रेमलाई भनिरहनेछौँ । 

कवि र अनुवादकको रूपमा युद्धलाई कसरी अनुवाद गर्नुहुन्छ ?

एक कवि र अनुवादकको रूपमा, मेरो काम युद्धको अनुवाद गर्नु होइन, बरु त्यस्तो कविता अनुवाद गर्नु हो जसले प्रत्यक्ष र शक्तिशाली तरिकाले कुनै पनि प्रकारको मानवीय अनुभव व्यक्त गर्छ । त्यसमा युद्धको अनुभव पनि पर्छ । मैले युद्ध कालमा जन्मिएका त्यस्ता कविताहरू अनुवाद गरेको छु जसले मेरो आवाज बोल्छन्, मलाई सम्मोहित गर्छन् अनि पार्ने र नयाँ अन्तर्दृष्टिहरू प्रकट गरिदिन्छन् । जतिसुकै महत्त्वपूर्ण र समयसापेक्ष भए पनि म कविता अनुवाद गर्न हतार गर्दिनँ । यदि कविता मसँग बोल्दैन भने मैले कसरी त्यसलाई अङ्ग्रेजीमा पुर्‍याउँला र । बरु त्यो काम त अन्य प्रतिभाशाली कवि-अनुवादकहरूले गर्न सक्छन् र त्यो उनीहरूले नै गर्नुपर्छ । यदि कविताको मूल भाषाले समात्यो भने मलाई त्यो कविता मैले अनुवाद गरेर अङ्ग्रेजीका पाठकसम्म पुर्‍याउने हो भन्ने थाहा हुन्छ । 

तपाईँ सानै छँदा तपाईँले छोडेको ठाउँमा युद्धको अर्थ के हो ?

म पछिल्लो पटक २०१९ मा ओडेसा (युक्रेनको एउटा शहर) मा गएको थिएँ । त्यहाँ मैले जे देखेँ त्यो कुनै बेला नयाँ र पूर्ण रूपमा परिचित थिए । मैले बाल्यकालमा मन पराएको ठाउँहरू फेला पार्न मलाई नक्साको आवश्यकता परेन । र मैले बोलेको भाषा मेरो वरपरका मानिसहरूको मातृभाषा नै थियो । म घर पुगेको थिएँ । सायद मैले मेरो आफ्नै अनुस्मरणको सट्टा अनुवादित कविता प्रस्ताव गरेको थिएँ- जसले त्यहाँ भन्नु पर्ने सबै कुरा भन्यो । रुसले पूर्ण शक्तिसहित आक्रमण सुरु गरेको केही दिनपछि मैले ट्विटर मा कविता सेयर गरेँ । जुन कविताले भनेको थियो ‘अहिले गोलाबारी भएको र सेनाहरू अगाडि बढेको रिपोर्टमा मैले मेरो शहरको नाम सुन्छु । म चाहन्छु कि मानिसहरूले मैले जस्तो देखिरहेको छु त्यसरी नै यसलाई देखुन् ।’ यो ओडेसामा जन्मिएको तर जीवनको लामो समय मस्कोमा बिताएका कवि सेमयोन ओलेन्डरले लेखेको कविता थियो । 

किन युक्रेनी आवाज पश्चिमी विश्वमा सुनिनु किन महत्त्वपूर्ण छ ?

यसको जवाफ सरल छ : किनभने उनीहरू विविध छन् । कुनै अत्यन्तै रोचक छन्,  प्राय रमाइला अनि अक्सर हृदय विदारक तर सुन्दर छन् । उनीहरूले आफ्नो उत्कृष्टताको आधारमा बोल्ने र सुन्ने अधिकार पाएका छन् । र लामो समयदेखि उनीहरूलाई पूर्वका साम्राज्यवादी छिमेकीद्वारा हिंसात्मक रूपमा दमन गरिएको छ ।

कवि कसरी लड्न सक्छ? युद्धमा कविको भूमिका के हुन सक्छ ?

युक्रेनमा धेरै कविहरू पूर्णतया हातमा हतियारहरू बोकेर फ्रन्टलाइनमा बसेर लडिरहेका छन् । तर त्यसो गर्नेबाहेक कविहरूले कविता मार्फत पनि लड्न सक्छन् । उनीहरूको कामले पाठकहरूलाई युद्ध भनेको सिमाना वा मर्नेको सङ्ख्यालाई यताउता सार्ने काममात्र हैन सम्झाउन सक्छ । त्यहाँ लागिरहेको हरेक मान्छे एउटा छुट्टै चरित्र हो जसको आफ्नै पूर्ण जीवन छ । कविताले कसैको व्यक्तित्वलाई स्पष्ट पारेर देखाइदिन सक्छ । अनि हामीले लड्दै र मर्दै गरेका, बमको निशानामा परेका, यातना भोगिरहेका भनी देखेका सबैभित्र पनि त्यही कुरा छ, जुन हामी मानवले बोकिरहेका छौँ भन्ने कुरा पनि आफूलाई सम्झाइरहनुपर्छ । कविताले हामीलाई त्यो सत्य बुझ्न पनि मद्दत गर्छ । 

(आउटलुक इन्डियाको लागि चिंकी सिन्हाले लिएको अन्तर्वार्ताको भावानुवाद मकालुखबरका लागि होहंसा खड्काबाट ।)

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *