पूर्वमिस नेपाल माल्भिका सुब्बाले गरिन् श्रीमानसँग सम्बन्ध विच्छेद
पूर्वमिस नेपाल तथा सञ्चारकर्मी माल्भिका सुब्बाले श्रीमान रियाज श्रेष्ठसँग सम्बन्ध विच्छेद गरेकी छन्।
प्रियंका कार्कीको द फोर्थ ट्राइमेस्टर नामक पडकास्टमा बोल्दै उनले दुई वर्षअघि नै सम्बन्ध विच्छेद गरिसकेको बताएकी हुन्। सम्बन्ध विच्छेदपछि रियाजको घर छाडिसकेको उनले खुलाइन्। पति रियाजसँग सम्बन्ध राम्रो नभएपछि छोरा दुई वर्षको हुँदा घर छाडेको उनले भनिन्।
उनले कार्यक्रममा भनिन्, ‘मेरो विवाह बिग्रिसकेपछि त्यो घर छोडेर जाँदा हाम्रो सम्बन्ध एकदम राम्रो थिएन। हामी एक(अर्कासँग बोल्न पनि सक्दैनथ्यौं। हामी जहिले झगडा गर्थ्यौं। तर बाबु कोठामा हुँदैनथ्यो वा नजिक हुँदैनथ्यो। ऊ धेरै नै सानो थियो। छोरा दुई वर्षको हुँदा घर छोडेँ। मलाई धेरै गाह्रो भइसकेपछि म एक्लैले त्यो निर्णय लिएँ। मेरो परिवारले मलाई समर्थन गर्नु भएन। अहिले ठिक छ। त्यो समर्थन लिन पनि मलाई तीन-चार वर्ष लाग्यो।’
पतीको घर छाडेको ४ वर्षपछि सम्बन्ध विच्छेद गरेको माल्भिकाले बताएकी छन्। सम्बन्ध विच्छेद गर्दा आफूले केही सम्पत्ति नलिएको उनको भनाई छ।
आफूलाई केही नचाहिने बताउँदै उनले बच्चाको लागि मात्र हेरदेऊ भनेको र सम्झदारीमै छोराको को कस्टडी गर्ने निर्णय लिएको बताएकी छन्।
सम्बन्ध विच्छेद गरेर पछुताएको भन्दा पनि आफूले रित्तो महसुस गरेको उनले भनिन्।