अंकिता पुनको ‘माईली’ एल्बम सार्वजनिक, दार्जिलिङबाट सांगीतिक कन्सर्ट सुरु हुँदै

माईली’ गीतबाट चर्चा कमाएकी गायिका अंकिता पुनको सोही नामबाट एल्बम सार्वजनिक भएको छ । ललितपुरको मोक्ष रेस्टुरेन्टमा भएको कार्यक्रममा एल्बमको पोस्टर सार्वजनिक गर्दै ‘माईली’ एल्बम सार्वजनिक गरिएको हो । सार्वजनिक पोस्टरमा गायिका पुनकै स्केच छ जसलाई कलाकार सुजन राईले बनाएका हुन् ।

एल्बम सार्वजनिकसँगै गायिका पुनको पहिलो सांगीतिक भ्रमण योजनाबारे पनि बिस्तारमा जानकारी दिइयो । भारतको दार्जिलिङ र सिक्किमबाट अगस्टको दोस्रो हप्तादेखि सांगीतिक भ्रमण सुरु हुने आयोजक पूर्वाञ्चल रक्सले जनाएको छ । त्यसपछि नेपालका काठमाडौं, पोखरा, बुटवल, दाङ, इटहरी, बिर्तामोडलगायत प्रमुख सात सहरहरुमा गायिका पुनले आफ्नो संगीत प्रस्तुत गर्ने कार्यक्रम रहेको यस सांगीतिक भ्रमणका व्यवस्थापक सुसन राईले जानकारी दिए । नेपाल भ्रमण सकिएपछि विदेश भ्रमणको तयारी सुरु हुने भन्दै उनले हालसम्म अस्ट्रेलियाका केही सहरमा सांगीतिक भ्रमण तय भइसकेको बताए ।

कार्यक्रममा गायिका पुनले पहिलो देश विदेश सांगीतिक भ्रमणको संघारमा आइपुग्दा आफू धेरै उत्साहित र अलिअलि नर्भस पनि भएको बताइन् । ‘माइली’ एल्बममा माइली, चार दिन चार जुनी, सखी, ऐना म, आधार, सिजेन्रो र माया त यस्तै हो बोलका गीत समावेश छन् । सातमध्ये माइली, चार दिन चार जुनी र सखी गीतका तीन वटा गीतको म्युजिक भिडियो यसअघि नै सार्वजनिक भइसकेको छ । एल्बमका बाँकी चार गीतहरुको आगामी शुक्रबारदेखि भिडियो क्रमशः सार्वजनिक हुने पूर्वाञ्चल रक्सका संस्थापक रोहन लिम्बूले जानकारी दिए ।

गायिका पुन संगीतलाई भावनात्मक यात्राका रुपमा लिन्छिन् । उनले भनिन्, ‘यसअघिका सबै गीतहरु जस्तै मेरा नयाँ गीतहरुमा पनि मेरा आफ्नै तीतामीठा अनुभूति समेटिएका छन् । ती गीतहरु मेरो इमोसनल जर्नीका उपज हुन् ।’

गायिका पुनको सांगीतिक कन्सर्टलाई ‘रकिङ फिलिली’ ब्यान्डका सदस्यहरुले साथ दिने छन् । सांगीतिक भ्रमणमा गायिका पुनसँगै रकिङ फिलिलीका गितारिस्ट सुमन प्रधान, सुशन जंग कार्की, इक्साहाङ सुब्बासँगै ड्रमर हेनरी राई, किबोर्डिस्ट अजय धिमालको साथ रहने आर्टिस्ट मेनेजर लोकबहादुर पुनले जानकारी दिए । इभेन्टको साउन्ड व्यवस्थापनको जिम्मेवारी विशाल नेपालीले गर्ने छन् । ‘रकिङ फिलिली’ले आफ्ना ओरिजिनल गीतहरु पनि स्रोताहरुलाई सुनाउँदै भ्रमण गर्ने बताइएको छ ।

अंकिता पुनको सांगीतिक भ्रमणमा सहयोग गर्न गितार सप म्युजिक पार्टनरका रुपमा रहेको छ । भ्रमणलाई कम्युनिकेसन्समा फस्र्ट लिंक र आइटीमा ओमकार कम्प्युटर्सले सघाउने छ ।

माइ पे एप भ्रमणको टिकेटिंग पार्टनर हो भने यस टुरलाई इभ इन, म्युस इभेन्ट्स, स्नुक्स क्याफे एन्ड बार, सेभेन एसेस र स्म्यासिङ स्टेरियो र के गरिरा! ले सहआयोजकका रुपमा सघाउने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *