यस्तो छ छोटो चलचित्र ‘उ गरेर उ गरौँ’ (भिडिओ)
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्थानीय न्यायिक निरूपणको कथामा निर्माण गरेको लघु चलचित्र ‘उ गरेर उ गरौँ’ सार्वजनिक गरेको छ । विशेष प्रदर्शनसँगै सामाजिक सञ्जाल (मेट्रो न्युज युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
पारिवारिक तथा सामाजिक जीवनसँग सम्बन्धित विवाद र समाधानका प्रयासमा न्यायिक समितिका काम, प्रक्रिया र चरणको कथामा समेटिएको छ । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले निर्देशन गरेको आचार्यको कथा, पटकथा तथा संवाद रहेको छ । चलचित्रमा मह जोडीसँगै बसुन्धरा भुषाल, रवि डंगोल, प्रदिप बास्तोला, नरेन्द्र कंसाकार, आरजु कार्की, शालिनी विष्ट भट्टराई, विगिसा अधिकारी, मञ्जु श्रेष्ठ, सुनिता श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ ।
चलचित्र सार्वजनिक गर्दै काठमाडौँ महानगरपालिकाकी उपप्रमुख एवं न्यायिक समितिकी संयोजक सुनिता डंगोलले, पद बहालीका समयमा आफूले स्थानीय विवाद निरूपणका लागि मेलमिलाप केन्द्र स्थापना र सञ्चालन गर्ने यसका लागि महिला सञ्जाल गठन गर्ने निर्णय गरेको स्मरण गर्दै त्यो निर्णय कार्यान्वयनमा गएर नतिजा आउन थालेकोमा गर्व महसुस भएको धारणा राखिन् ।