बाउको मृत्यु चाहने बालकको कथा भन्ने टर्किस सिनेमा
बच्चाहरूको फिल्म बनाउन गाह्रो छ । बच्चाहरूको फिल्म बनाउन सजिलो छ ।
बच्चाहरूको फिल्ममा धेरै ठुलो कुनै कथा चाहिँदैन । धेरै कुरा केही हुनु पर्दैन । ठुलो कुरा देखाउन जति सजिलो छ, त्यति सजिलो कुनै सानो कुरा देखाउन छैन ।
बच्चाहरू सरल हुन्छन् । बच्चाहरूलाई धेरै कुरा थाहा हुँदैन । बच्चाहरू जटिल हुन्छन् । बच्चाहरूलाई धेरै कुरा थाहा हुन्छ ।
यदि बच्चा जस्तो भएर सोच्यो भने बच्चाहरूलाई चरित्र बनाएर फिल्म बनाउन सजिलो छ । तर हुर्किसकेपछि बच्चाहरू जस्तो भएर सोच्न गाह्रो पनि छ ।
तर यदि हामीले संसारकै सबैभन्दा ठुलो कुरा भनेका फिल्महरू गन्दै गयौँ भने तीमध्ये पर्ने धेरैमा कुनै न कुनै बच्चा चरित्रहरू हुन्छन् ।
इरानको ‘चिल्ड्रेन अफ हेभेन’ वा ‘ह्ववेर इज माइ फ्रेन्डस् होम’ । इटालीको ‘लाइफ इज ब्युटिफूल’ । भारतको ‘रामचन्द पाकिस्तानी’ ।
अरू यसमा थप्न मिल्ने धेरै छन् । तपाईँलाई मनपर्ने कुनै फिल्म छ भने त्यो पनि हुन सक्छ । तीनमा घटेका घटनामार्फत ती देशको अनि यो विश्वकै धेरै कथा देख्न पाइन्छ ।
यहाँ कुरा गर्न चाहेको त्यस्तै एउटा फिल्म हो । टर्कीको ‘टाइम्स एण्ड विण्ड्स ।’
पछिल्लो समय टर्कीका फिल्महरू विश्वभर चर्चित बन्दै गएका छन् । चरित्रहरूको साधारण तर गहन तहलाई उनीहरूले पनि भेट्दै गएका छन् । सानो कुरा गरेर ठुलो कुरा भन्ने तरिका उनीहरूले थाहा पाउँदै गएका छन् ।
यो फिल्म तीन जना केटाकेटीको कथा हो । उनीहरू बस्ने गाउँलाई अनेक समस्या छ । हातमुख जोर्न गाह्रो छ । गरिबीले छपक्कै छोपेको ठाउँमा पितृसत्ता पनि उस्तै छ । पितृसत्ता भएको ठाउँमा बालबालिकाहरूलाई हुर्किन सहज हुँदैन ।
यो फिल्ममा इमानको छोरा ओमरलाई उसको बाबुले मनपराउँदैन । उसको बाबुको मनपर्ने छोरो अर्को छ जो उसको भाइ हो ।
उसको घरले उसलाई पटक पटक आफ्नो भाइसँग तुलना गर्छ । उसले उसलाई जितेर गइरहेको सुनाइरहन्छ । भनिरहन्छ, ‘तेरो भाइले तलाईँ जितिसक्यो । तँ त केही कुराको लायक छैनस् ।’
त्यति सानो उमेरदेखि बालकहरूलाई प्रतिस्पर्धाको भावना हालिदियो भने त्यसले उनीहरूको मानसिक विकासमा कस्तो असर गर्छ यो फिल्मले देखाउँछ ।
ओमर त्यसैले बाउ मरोस् भन्ने चाहन्छ ।
त्यो पूरा नभएपछि उ आफैँ बाउलाई मार्न नै चाहन्छ ।
उसको अर्को साथी छ उ पनि आफ्नो बाउ मरोस् भन्ने चाहन्छ ।
एउटा बालकले आफ्नो बाउलाई मार्न खोज्ने हदसम्म पुग्दै यो फिल्मले समाजका अनेक लेयरहरू खोतल्दै जान्छ ।
बाल्यकालबाट किशोरावस्थामा हाम फाल्दै गर्दा उनीहरूले भोग्ने परिवर्तन, परम्परागत कठिनाइ र मनोवैज्ञानिक उतार चढाव यसमा देख्न सकिन्छ ।
उनीहरूले बोल्ने संवादमा त्यसको छनक भेटिन्छ । एउटा दृश्यमा उनीहरू भन्छन् ‘अब उठ केटाकेटी । तिमीहरू लामो समय घर बसिसक्यौ ।’
बालबालिकाको कथा भएकाले ती सबै युनिभर्सल छन् ।
यो मेनस्ट्रिम चलचित्र हैन । दृश्यहरू कलात्मक छन् । घरी सपनाजस्तो लाग्ने घरी वास्तविकताजस्तो लाग्ने यसको छायाकंन, पृष्ठभूमिको धुन र परिदृश्य सम्मोहित पार्ने खालको छ ।
इरानी चलचित्रमा जस्तो यो फिल्म बालबालिकाप्रति नरम छैन । तर निर्मम यथार्थको अझै नजिक छ ।
हेर्नुहोस्– ट्रेलर