१२ आनामा बनेको राप्रपा केन्द्रीय कार्यालय भत्काउने महानगरको तयारी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को धुम्बाराहीस्थित केन्द्रीय कार्यालय भत्काउने तयारी गरेको छ । खाली गर्न दिएको समय सकिएपछि कार्यालय भत्काउने तयारी गरेको हाे ।

महानगरले कार्यालय नक्सा पास नगरीकनै बनाएको तथा विद्युत् प्राधिकरणको हाइटेन्सन लाइनमुनि रहेको भन्दै शुक्रबार माइकिङ गरी कार्यालय खाली गर्न तीन दिनको समय दिएको थियो । उक्त समय आज पूरा हुँदैछ । यसअघि गत वर्ष असोज १३ गते पनि कामपाले कार्यालय हटाउनुपर्ने भन्दै सूचना टाँस गरेको थियो ।

त्यसबेला कार्यालय हटाउन सफल नभएपछि शुक्रबारबाट पुनः प्रक्रिया अघि बढाइएको कामपा प्रहरीबल प्रमुख राजुनाथ पाण्डेले बताए । ‘आज सोमबारसम्म हेर्छौँ, त्यसबेलासम्म पनि राप्रपाले कार्यालय हटाउने विषयमा चासो नदेखाए हामी आफैँ हटाउने छौँ,’ उनले भने, ‘हामीले  ‘राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहनुभएका पदाधिकारीज्यूहरू, यो कार्यालयलाई आगामी सोमबारभित्र हटाई खाली गराइदिनुहुन काठमाडौँ महानगरपालिका हार्दिक अनुरोध गर्दछ’ भन्दै माइकिङ जारी राखेका छौँ ।’

धुम्बाराहीस्थित सो भवन स्थानीय सरकार सञ्चालन ऐन-२०७४ अनुसार नक्सा पास नगरी निर्माण गरेको देखिएको छ । साथै विद्युत् नियमावली २०५० को नियम ५० को अनुसूची १३ मा बिजुलीको तारदेखि घरसम्मको न्यूनतम दूरी कायम नगरी विद्युत् प्रसारण लाइनमुनि नै भवन निर्माण गरेकोले कामपाले उक्त भवन भत्काउन लागेको हो ।

नियम मिचेर बनेको भवन भत्काउँदैनौँ भन्ने अधिकार राप्रपालाई  नभएको कामपा शहरी व्यवस्थापन विभाग प्रमुख सुरज शाक्यले बताए  । ‘एक त नक्सा पास भएको देखिँदैन, अर्को धरापजस्तो हाइटेन्सन लाइनमुनि भवन रहेको छ । हाइटेन्सन लाइनमुनि भवन रहेको कारण महानगर आफैँले टेकुस्थित जग्गा एकीकरण आयोजनाहरू र मिसिल शाखा रहेको भवन भत्काउने तयारी गरेको अवस्थामा नियमविपरीत निर्माण भएको राप्रपाको भवन नभत्काउने भन्ने त हुँदैहुँदैन,’ उनले भने ।

दिलविकास राजभण्डारीले आफ्नी पत्नी शशीकला राजभण्डारीको स्मृतिमा तत्कालीन राप्रपा नेपालका अध्यक्ष कमल थापाको कार्यकालमा उक्त भवन बनाइ दिएको स्रोतको भनाई छ । १२ आना जग्गामा बनेको उक्त भवन ६ हजार ५ सय वर्गफिटमा फैलिएको छ ।

राप्रपाका मुख्य सचिव केदारबहादुर अधिकारीले भने लिखित पत्र उपलब्ध नगराई कार्यालय भवन खाली गराउन नमिल्ने दाबी गरेका छन् । ‘हचुवाको भरमा मुलुकको ठुलो पार्टीको भवन भत्काउने विषय सामान्य मानिँदैन,’ उनले भने, ‘केन्द्रीय कार्यालय सार्वजनिक सम्पत्ति हाे । हचुवाको भरमा बल प्रयोग गरे कानुनी उपचारमा जान्छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *