किसानलाई समयमा मल चाहिन्छ, भाषणले हुँदैन : सांसद कार्की
काठमाडौँ । पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले रासायनिक मल किसानलाई समयमा दिने कुरा सरकारले भाषण र दस्तावेज लेखेर मात्रै नहुने बताएका छन् ।
सोमबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै पूर्वअर्थमन्त्री कार्कीले रासायनिक मल किसानलाई समयमा दिने कुरा सरकारले भाषण, दस्तावेज लेख्ने र निर्णय मात्रै गरेर नहुने बताएका हुन् । उनले सरकारले आवश्यक समयमा नै किसानहरुलाई मल पुर्याउन नसक्ने अनि भाषण र निर्णय पत्रपत्रिकाहरुलाई समाचारको लागि मात्रै हुने गरेको बताए ।
समाचारको लागि भन्दा पनि किसानको लागि उपयुक्त हुनेगरी मलको सहज रुपमा वितरण सरकारले गर्नुपर्ने बताए । उनले सधैँ यही समयमा मल अभावको विषय उठ्ने गरेको भन्दै मल वितरण प्रणालीलाई सरकारले व्यवस्थित गर्न आवश्यक रहेको बताए ।
मल गोदाममा सडेर जाने तर किसानहरुले मल नपाउने अवस्था रहेको भन्दै वितरण प्रणालीलाई कसरी प्रभावकारी बनाउन समितिले आजकै बैठकबाट निर्देशन दिनुपर्ने बताए । उनले रासायनिक मल कारखाना स्थापना गर्ने कुरा दीर्घकालिन योजना भएको बताए ।
उनले भने, ‘मल मौज्दात छ वा छैन मन्त्री र सचिवले जानकारी दिनुपर्छ । मल गुणस्तरिय छ वा छैन । मल मौज्दात छ भने अहिले किसानहरुले मल नपाए कहिले मल पाउँछन् । होइन भने हामी भाषण गर्छौं दस्तावेज लेख्छौं । निर्णय गर्छौं । तर त्यो निर्णय पत्रपत्रिकाका लागि मात्रै हुन्छ । किसानको लागि हुँदैन । मल किन समयमा आउँदैन । सधैँ यही समयमा मलको कुरा गछौं । मन्त्री र सचिव परिवर्तन भएपनि मन्त्रालय परिवर्तन हुँदैन । मल वितरण प्रणालीलाई सरकारले किन व्यवस्थित गर्न सकेका छैनौं । मल गोदाममा सडेर जाने भन्ने सुनिन्छ अर्कोतर्फ अहिले किसानहरुले मल पाइराखेको अवस्था छैन । वितरण प्रणालीलाई कसरी प्रभावकारी बनाउने विषयमा आजकै बैठकबाट निर्देशन दिनुपर्छ । मल कारखाना स्थापना गर्ने कुरा दीर्घकालिन कुरा हो । यसलाई कसरी युद्ध स्तरमा गएर कारखाना स्थापना गर्न सकिन्छ । भन्ने कुरामा सरकारको ध्यान जान जरुरी छ । अहिले हामीलाई मलको अल्पकालिन समस्या हो ।’
उनले रासायनिक मल कारखाना स्थापना गर्ने कुरालाई तिब्र स्तरमा गएर कारखाना स्थापना गर्न कुरामा सरकारको ध्यान जान जरुरी रहेको बताए ।