अन्ततः केन्द्रीय कार्यालय खाली गर्न राप्रपा सहमत
काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालय २१ दिनभित्र खाली गर्ने सहमति भएको छ । राप्रपा र काठमाडौँ महानगरपालिकाबीच २१ दिनभित्र धुम्बाराहीस्थित राप्रपा केन्द्रीय कार्यालय रहेको घर खाली गर्ने सहमति भएको हो ।
काठमाडौँ महानगरले गत शुक्रबार ३ दिनको समय दिएर राप्रपा कार्यालय खाली गर्न भनेको थियो । सोमबार उक्त भवनमा डोजर लगाउने महानगरको तयारी थियो । राप्रपाका नेता तथा कार्यकर्ताले कार्यालय भत्काउन नपाइने भन्दै सडकमा गाडी तेर्साएर विरोधसमेत गरेका थिए ।
त्यसपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले राप्रपा र महानगरसँग यस विषयमा छलफल गरेको थियो । छलफलका क्रममा २१ दिनभित्र उक्त भवन राप्रपाले खाली गर्ने सहमति जुटेको हो । काठमाडौँ महानगर र राप्रपाबीच २१ दिनभित्र घर खाली गर्ने सहमति भएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए ।
उनले जिल्ला प्रशासन कार्यालयको समन्वयमा महानगर र राप्रपाबीच सहमति भएको बताए । राप्रपा कार्यालय रहेको घरको नक्सापास छैन। बिजुलीको हाइटेन्सन लाइनमुनि उक्त घर बनेकोले जोखिम हुने भन्दै महानगरले हटाउन लागेको हो ।
राप्रपाले भने घर खाली गर्न ३५ दिन समय लाग्ने भन्दै सोमबार महानगरलाई लिखित पत्र नै बुझाएको थियो । २०६९ सालदेखि राप्रपाले धुम्बाराहीस्थित यो घरमा केन्द्रीय कार्यालय राखे पनि घर भने राप्रपाको नाममा छैन । दानमा पाएको जग्गामा राप्रपाले घर बनाएको थियो । महानगरले अनुमतिबिनै राप्रपा कार्यालय रहेको घर बनेको भन्दै भत्काउने तयारी गरेको थियो ।