लालबहादुर विश्वकर्मालाई सफाइ दिने उच्च अदालत विराटनगरको फैसला

काठमाडौँ । इजाजत नलिई बैंक तथा वित्तीय कारोबार र ठगी गरेको आरोपमा जेल परेका लालबहादुर विश्वकर्माले सफाइ पाएका छन् । उच्च अदालत विराटनगरले लालबहादुर विश्वकर्मासहितका तीनजालाई सफाइ दिने फैसला गरेको हो ।

उच्च अदालतले जिल्ला अदालत सुनसरीको फैसला उल्ट्याउँदै यस्तो आदेश गरेको हो । यो आदेशपछि विगत ७ महिनादेखि हिरासतमा रहेका लालबहादुर बिक रिहा हुने भएका छन् ।

लालबहादुर २०७३ सालमा इटहरी उपमहानगरपालिका– २०, तरहराको सिंहदेवी ज्वेलर्समा काम गर्थे । त्यसबेला उनको तलब २१ हजार रुपैयाँ थियो । आफ्ना मालिकको आदेश मानेकै कारण लालबहादुर जेल परेका थिए ।

मालिकको आदेशको सोझो रुपमा पालना गर्दा ठगी अभियोगमा मुछिएका लालबहादुरलाई सुनसरी जिल्ला अदालतले दोषी ठहर्‍याउँदै जेल चलान गर्न आदेश दिएको थियो ।

जिल्लाको आदेशविरुद्ध म निर्दोष छु भन्ने याचना लिएर लालबहादुर उच्च अदालत विराटनगर पुगेका थिए ।

लालबहादुरका सुन सुन पसलका मालिक दीपक विश्वकर्मा सुनसँगै ‘मिनी बैंक’ सञ्चालन गर्थे । दीपकले बैंकले भन्दा धेरै ब्याज दिने भन्दै स्थानीयबाट पैसा सङ्कलन गर्थे । यसरी दीपकले सर्वसाधारणबाट १९ करोड रुपैयाँभन्दा धेरै सङ्कलन गरे । दीपक नभएको बेला उनका बुबा कृष्ण विश्वकर्मा पसलको काम हेर्थे । पसलसँगै छोराको अनुमतिमा रकम सङ्कलनलगायत कारोबारसमेत कृष्णले गर्थे । तर, लेखपढ भने कृष्णलाई आउँदैन थियो ।

पसलमा पैसा जम्मा गर्न ल्याउनेहरूबाट रकम लिएपछि पासबुकमा लालबहादुरलाई पैसा बुझिलिएको हस्ताक्षर गर्न लगाए । ‘मालिकले पैसा जम्मा गरेर सेफमा राखे । मलाई पासबुकमा साइन गर् भनेपछि गरेँ’, १९ मंसिरमा जेल जानुअगाडि लालबहादुरले रुँदै सुनाएका थिए ।

सर्वसाधारणले जम्मा गरेको सोही रकम फिर्ता गर्न नसकेपछि दीपक र उनका बुबा कृष्णसँगै लालबहादुरलाई समेत जिल्ला अदालतले दोषी करार गर्‍यो । १९ पुस २०७८ मा जिल्ला अदालत सुनसरीकी न्यायाधीश निर्मला योङ्वाको इजलासले दीपक, उनका बुबा कृष्ण, दिदी सीतासँगै लालबहादुरलाई पनि दोषी ठहर गरेको थियो ।

जिल्ला अदालतले १९ मंसिर २०७९ मा लालबहादुरलाई डेढ वर्ष कैद, ७० हजार जरिवाना तोक्यो । यसबाहेक ठगी भएको १८ करोड ८४ लाख ६६ हजार ८ सय ८९ रुपैयाँ लालबहादुरसहित चार जनाबाट दामासाहीले बिगो भराउने फैसला भएको थियो । जसअनुसार लालबहादुरले ४ करोड ७१ लाख १६ हजार ७ सय २२ रुपैयाँ २५ पैसा बिगो तिर्नुपर्ने फैसला सुनाएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *