कोशीका मुख्यमन्त्री थापा र ३ मन्त्रीले लिए शपथ
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख परशुराम खापुङले बुधबार अपरान्ह मुख्यमन्त्री थापालाई शपथ ग्रहण गराएका हुन् ।
यसअघि पनि २१ असारमा मुख्यमन्त्री नियुक्त भएका थापाले शपथ लिएका थिए । तर, उक्त नियुक्तलाई सर्वोच्चले अवैधानिक ठहर गरेपछि उनको नियुक्त खारेज भएको थियो । पछिल्लो समय भने सभामुख बाबुराम गौतमले राजीनामा नै दिएर थापालाई मुख्यमन्त्री बन्नका लागि बहुमत पुर्याइदिएका थिए । अघिल्लो पटक बहुमत पूरा गर्न सभामुखकै हैसियतमा गौतमले थापालाई मुख्यमन्त्रीमा समर्थन गरेका थिए । त्यसो हुँदा उक्त नियुक्ति सर्वोच्चले खारेज गरिदएको हो ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका ४७ सांसदको समर्थनमा थापा मंगलबार मात्रै मुख्मन्त्री नियुक्त भएका थिए ।
मुख्यमन्त्री थापाले बुधबार पहिलो चरणमा ३ जनालाई मन्त्री बनाएका छन् । सभामुखबाट मंगलबार मात्रै राजीनामा दिएका माओवादी केन्द्रका बाबुराम गौतम, नेकपा एकीकृत समाजवादीका कमल जबेगु र कांग्रेसका प्रदीपकुमार सुनुवारलाई उनले मन्त्री बनाएका छन् । गौतमले भने आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
३ जना मन्त्रीले पनि आजै प्रदेश प्रमुख रापुङबाट शपथ लिएका छन् ।